coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुल सक्ने प्रतिबद्धता कागजमै सीमित

तीन पल्ट म्याद गुज्रिएको साप्सु खोलाको पुल।    तस्बिरः दमन/नागरिक

खोटाङ – २०७४ साल फ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गरिएको प्रतिबद्धता अनुसार रेग्मीटारस्थित साप्सु खोलाको पुल गत असारमै तयार हुनुपर्ने हो। तर, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लमो साप्सु खोलाको पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन।

नगरपालिकाको क्षेत्रभित्र पर्ने तथा सरोकार राख्ने मध्यपहाडी लोकमार्ग, महुरे–फोक्सिङटार सडक तथा पुलजस्ता ठूला आयोजनामा चरम ढिलासुस्ती भएको जनगुनासो आएपछि नगरपालिकाकै पहलमा बोलाइएको बैठकमा निर्माण कम्पनी देवसायर एन्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले २०७५ साल असारसम्ममा पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।

वर्ष दिनअघि मेयर दीपनारायण रिजालको अध्यक्षतामा बसेको सो बैठकमा निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता जनाएअनुसार कार्यतालिका बनाइएको थियो। तर, न बैठकमा प्रतिबद्धता जनाइए अनुसार पुल निर्माणको काम भयो, न ढिलासुस्तीमाथि नियमन नै भयो। असार नाघेको आठ महिना बितिसक्दासमेत रेग्मीटार पुल निर्माणको काम पूरा भएको छैन।

सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सो पुलको तेस्रो पल्ट थप भएको म्यादसमेत गत मंसिरमै गुज्रिसकेको छ। सुरुमा भएको सम्झौताअनुसार साप्सु खोलाको पुल निर्माणको काम नभएपछि २०७३ कात्तिकमा दोस्रोपल्ट थप भएको म्याद २०७४ साल वैशाखमै सकिएको थियो। दोस्रो म्याद गुज्रिएपछि २०७५ साल मंसिरसम्मका लागि तेस्रो पल्ट थप म्याद पाएको निर्माण कम्पनीले हालसम्म पनि पुल निर्माणको कामलाई पूरा गर्न सकेको छैन। छ करोड लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको म्याद पटक–पटक गुज्रिँदा पनि निर्माणको काम पूरा नभएपछि जिल्लावासी आक्रोसित छन्।

ठेकेदारले सरासर काम गरे १५ दिनमा पुल तयार हुने प्राविधिकको भनाइ उद्धृत गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले भने, ‘तर, सरासर काम गर्नुको साटो पुलको काममा लगाइएको मेसिन अर्कोतिर लैजान्छन्, गुनासो गरेपछि ल्याएर यसो काम गरेजस्तो देखाउने प्रवृत्ति भएकाले सडक तथा पुल निर्माणमा ढिलाइ भइरहेको देखिन्छ।’

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक–खण्डमा पर्ने सो पुलको ढलान गत कात्तिकमै सकिएको भए पनि पुल र सडकलाई जोड्ने ग्याविन पर्खाल हालसम्म बनाइएको छैन। पुल लगभग तयार भए पनि पुलको वारि र पारि सडकसँग जोड्ने लिंक नहुँदा दिक्तेल–गाईघाट ओहोरदोहोर गर्ने सवारीसाधन जोखिमपूर्ण तरिकाले खोला तर्न बाध्य छन्।

पुल निर्माणको काम करिब दुई प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए। ‘पुल रंगरोगन र साइडमा क्लियरेन्सको काम मात्र बाँकी छ,’ खत्रीले भने, ‘पुल सञ्चालनमा आउन अब धेर समय लाग्दैन।’ निर्माण कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तभित्रमा पुल निर्माणको काम पूरा गर्ने बताउँदै आएको थियो।

बाढी पनि पुलको बाधक

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ र २०७५ वैशाख ४ गते आएको बाढीले बगाउँदा साप्सु खोला पुलको काम अनपेक्षित पछाडि धकेलिएको हो। साप्सु खोलाको पुल ढलानको तयारी भइरहेको बेला आएको बाढीले ढलानका लागि ठड्याइएका २४ मध्ये १२ वटा टसल बांगिएको थियो।

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गमा पर्ने सो पुल सम्झौता अवधिमा निर्माण नभएको विषयमा जिल्लामा हुने सार्वजनिक कार्यक्रममा विरोधको आवाज उठ्ने गरेको छ। पुल सञ्चालन नहुँदा दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ। ठेकेदारले नियतवश पुल निर्माणमा ढिलाइ गरिरहेको राजापानीका पुण्य रेग्मीले बताए।

प्रकाशित: १३ चैत्र २०७५ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App