७ वैशाख २०८१ शुक्रबार
खेल

आश्विनको विवादास्पद बलिङ

जयपुर –  रविचन्द्रन आश्विनले जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट गर्दै विवादास्पद रूपमा पवेलियनका बाटो देखाएको खेलमा सोमबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा  राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई १४ रनको नतिजा सुम्पिएको छ।

यस सँगसँगै राजस्थान रोयल्सका अस्ट्रेलियाली पूर्वकप्तान स्टिभ स्मिथको आइपिएल पुनरागमन सुखद बन्न सकेन।पन्जाबले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन मात्र जोड्न सक्यो।

तर आश्विनले राजस्थानका बट्लरलाई पवेलियनको बाटो देखाएको घटनाले खेलको नतिजा छायामा परेको थियो। यस्तो प्रकारको आउटलाई क्रिकेट जगतमा ‘म्यानकडिङ’ भनिन्छ  र यसलाई खेलभावनाविपरीत कार्यको रूपमा लिइन्छ। जहाँ बलरले बलिङ गर्नुभन्दा अघि नन स्ट्राइकिङ इन्डमा रहेका ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाउँछन्। विश्व क्रिकेटमा भारतका विनो मान्कडले १९४७ मा पहिलो पटक अस्ट्रेलियाका बिल बाउनलाई यस्तै प्रकारले पवेलियनको बाटो देखाएका थिए।

‘म यस विषयमा कुनै बहस गर्न चाहन्नँ। मैले बल फ्याँकेको थिइनँ र बट्लरले क्रिज छोडिसकेका थिए,’ पन्जाबका कप्तन आशिवनले भने।

आश्विनको बलमा रनआउट हुनुअघि बट्लरले ४३ बलमा १० चौका र २ छक्काको मद्दतमा ६९ रनको योगदान गरेका थिए। बट्लर र कप्तान अजिङ्क्या रहानेले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै  राजस्थानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। रहानेले २० बलमा ४ चौका प्रहार गर्दै २७ रन जोडेका थिए। बट्लर रनआउट हुनअघि राजस्थान १०८–१ मा खेलिरहेको थियो र टोलीलाई जितका लागि ४३ बलमा ७७ रनको आवश्यक थियो। बट्लर विवादास्पद रूपमा पवेलियन फर्किएपछि राजस्थानमाथि पन्जाब पूर्ण रूपमा हाबी बनेको थियो।

सन्जु स्यामसनले ३० र स्मिथले २० रन जोड्दै राजस्थानको इनिङ उकास्ने प्रयास गरे पनि त्यो पर्याप्त भने भएन। २५ बलमा सन्जुले १ छक्का प्रहार गर्दा स्मिथले १६ बलमा समान १ चौका र १ छक्का प्रहार गरे। उपकप्तान डेभिड वार्नरसगै बल टेम्परिङको घटनामा परेपछि स्मिथले प्रतिबन्धमा परेसँगै गत सिजनको आइपिएल गुमाएका थिए। 

यसअघि टस हारेर ब्याटिङ  रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल खडा गरेको थियो। पन्जाबलाई सम्मानजनक योगफलतर्फ डोर्याउने क्रममा क्रिस गेलले सर्वाधिक ७९ रनको योगदान गरेका थिए। ४७ बलमा गेलले ८ चौका र ४ छक्का प्रहार गरे।

गेलले ४ रन जोड्दा ओपनर लोकेश राहुललाई गुमाएको पन्जाबको इनिङ गेलले दोस्रो विकेटका लागि मायांक अग्रवालसँग ५६ र तेस्रो विकेटका लागि सर्फराज खानसँग ८४ रनको साझेदारी गर्दै उकासेका थिए। खानले १६ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ४६ रनको योगदान गरेका थिए।

प्रकाशित: १३ चैत्र २०७५ ००:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App