४ वैशाख २०८१ मंगलबार
खेल

प्रिन्स तीनै विधातर्फ क्वार्टरफाइनलमा

काठमाडौं – सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृित राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा क्वार्टरफाइनल प्रवेश गरेका छन्। 

हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयस्थित कभर्डहलमा भएको प्रतियोगितामा मंगलबार दाहालले पुरुष एकल, पुरुष युगल र ब्वाइज यु–१७ मा जित निकाल्दै तीनै विधामा क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिजका स्वर्णधारी प्रिन्सले पुरुष एकलको अन्तिम आठमा स्थान बनाउन त्रिभुवन आर्मीका दिवस शंकरलाई २१–११, २१–७ ले पराजित गरे। 

पुरुष एकलमा एपिएफका खेलाडीको वर्चस्व रहँदा दीपेश धामी, गौतमसिंह कठायत, सुदीप सेढाईं, सुनील जोशी र साजनकृष्ण ताम्राकारले अन्तिम आठमा स्थान बनाएका छन्। धामीले एपिएफकै पेम्बा शेर्पामाथि २२–२०, २१–११ को कठिन जित निकाल्दा गौतमले पुलिसका दीपक बोहरासँग १९–२१, २१–१३, २२–२० र सुदीपले एपिएफकै निरञ्जन देवकाटासँग २१–१७, १२–२१, २१–१९ को कठिन जित निकाले।

त्यस्तै सुनीलले पुलिसका विष्णु कटुवाललाई २१–१६, १८–२१, २१–१४ ले, साजनले एपिएफकै नीराजन देवकोटालाई २३–२१, २१–१५ ले, आर्मीका प्रफुल महर्जनले एपिएफका विजित थापामगरलाई २७–२५, २१–१४ ले तथा पुलिसका जीवन आचार्यले आर्मीका रुकेश महर्जनलाई २४–२२, २१–८, २१–१३ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरे। 

यु–१७ तर्फको शीर्ष वरीयताका प्रिन्सले अन्तिम आठमा स्थान बनाउँदा धन्यन्तरीका सुदन तामाङलाई २१–६, २१–५ ले स्तब्ध बनाए। सोही विधामा महेन्द्रनगरका प्रकाश चन्दले कपिलवस्तुका रोहित बराललाई २१–१०, २१–११ ले, एपिएफका प्रियान्सुसिंह क्षेत्रीले इटहरीका भोजबहादुर गुरुङलाई २१–१६, २१–८ ले, एपिएफका पेम्बा शेर्पाले महेन्द्रनगरका सौरभ बम ठकुरीलाई २१–११, २१–११ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन्।

गल्र्स यु–१७ मा मोरङकी निता लम्साल, झापाकी अन्जना राई र वीरगन्जकी स्मृति राई पनि अन्तिम आठमा स्थान बनाउन सफल भए। लम्सालले धन्यन्तरीकी साम्भवी पाल्क सिंहलाई २१–११, २१–१३ ले, अञ्जनाले जेष्टकी विद्या खड्कालाई २१–६, २१–१० र स्मृतिले धन्यन्तरीकी प्रेक्षा राईलाई २१–१३, २१–१८ ले पराजित गरेका थिए।

मिक्स डबल्समा  एपिएफ र भोजपुरका निरविक्रम देवकोटा र सीता राईको जोडीले इटहरी र झापाका भोजबहादुर गुरुङ र अञ्जना राईको जोडीलाई २१–७, २१–४ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्याे। महिला युगलमा एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले वीरगन्ज र झापाका स्मृति राई र अञ्जना राईको जोडीलाई २१–११, २१–७ ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्याे। 

पुरुष युगलतर्फ दीपेश धामी र विजित थापामगरको जोडीले एपिएफका मनोज डगौरा र म्याग्दीका विजय बानियाँको जोडीलाई २१–१२, २१–१६ ले पाखा लगाउँदै क्वार्टरफाइनल प्रवेश गरेको छ। आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले पुलिसका हीरा राई र सोनाम खपांगीको जोडीलाई २१–१६, २१–१८ ले र प्रिन्स दाहाल र एपिएफका नीरविक्रम देवकोटाको जोडीले एपिएफका निरञ्जन देवकोटा र पुलिसका पूर्णबहादुर थापाको जोडीलाई २१–१४, १७–२१,२१–१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। महिला एकलमा मोरङकी सीमा राजवंशी, एपिएफकी शोभा गौचन र जेशिका गुरुङले पनि अन्तिम आठमा स्थान बनाएका छन्। 

सीमाले भोजपुरकी सीता राईलाई २१–९, १७–२१, २१–१८ ले, शोभाले बाँकेकी सम्झना शर्मालाई २१–१८, २१–२३, २१–१३ ले, जेशिकाले जेष्टकी मनीषा खड्कालाई २१–११, २१–७ ले हराउँदा आर्मीकी अमिता गिरी बाई पाउँदै सीधै क्वार्टरफाइनलमा पुगिन्। बुधबार क्वाटरफाईनलका खेल सञ्चालन हुने रेफ्री किरणगोपाल कारञ्जितले बताएका छन्।

 

प्रकाशित: १३ चैत्र २०७५ ००:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App