७ वैशाख २०८१ शुक्रबार
राजनीति

जिल्ला दौडिएका कांग्रेस नेताले बिर्से नेविसंघ

काठमाडौं– माउ पार्टीका नेताहरूको बेवास्ताका कारण कांग्रेसको भ्रातृ संगठन नेविसंघ अन्योलग्रस्त छ। अध्यक्ष नैनसिंह महरको राजीनामापछि करिब डेढ महिनायता नेविसंघ नेतृत्वविहीन छ। 

यसअघि नै नेविसंघको महाधिवेशनका लागि पार्टीले तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। तर सभापति शेरबहादुर देउवाले तदर्थ समिति गठनका लागि चासो नदेखाएका कारण नेविसंघ अन्योलमा परेको हो। गुटगत विवादमा फसेको कांग्रेसका नेताले नेविसंघलाई प्रतिष्ठाको लडाइँका रूपमा लिँदै आएका छन्। त्यसकारण पनि नेविसंघको तदर्थ समिति हालसम्म गठन हुन सकेको छैन।

यसअघि केन्द्रीय समिति बैठकले सभापति देउवालाई शीर्ष नेतासँग छलफल गरेर नेविसंघ गठनको जिम्मेवारी दिएको थियो। तर अहिलेसम्म सभापति देउवाले नेविसंघबारे शीर्ष नेताहरूसँग छलफल गरेका छैनन्। पार्टीको अनुशासन, निर्वाचन र नियमावली समिति गठनपछि स्थगित केन्द्रीय समिति बैठक बस्ने निश्चित छैन। पार्टीका शीर्ष नेताहरू नेविसंघलाई भुलेर महाधिवेशनकेन्द्रित जिल्ला भ्रमणमा छन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री डा.शशांक कोइरालालगायत नेता महाधिवेशनलाई केन्द्रमा राखेर जिल्ला भ्रमणमा निक्लँदा सभापतिले छलफल गर्न नपाएको संस्थापन समूहको नर्क छ। ‘शीर्ष नेताहरूसँग छलफल गरेर तदर्थ समिति गठन गर्ने भनिएको छ’, पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महत भन्छन्, ‘शीर्ष नेताहरू जिल्ला भ्रमणमा रहेकाले छलफल हुन सकेको छैन। उहाँहरू आएपछि चाँडै होला।’

नेविसंघ नहुँदा संगठन विस्तार र अन्य कार्यक्रम गर्न पार्टीलाई नै अप्ठ्यारो परेको नेताहरू बताउँछन्। स्ववियु निर्वाचन नजिकिँदै गर्दा पनि नेविसंघको संगठन निर्माणमा नेतृत्वले चासो नदिएको असन्तुष्ट समूहको आरोप छ। कांग्रेसले स्ववियु नचाएका कारण आफ्नो संगठन नभएको बहाना बनाउनलाई नेविसंघ नै विघटन गरेको सतारुढ दलको विद्यार्थी संगठनले समेत आरोप लगाउन थालिसकेको छ। 

‘सभापतिले नेविसंघको गम्भीरता नै बुझ्नुभएन। स्ववियु निर्वाचन आउन लाग्यो। तयारी केही छैन। यसले समग्र पार्टी संगठन नै कमजोर भइसक्यो’, नेता प्रदीप पौडेलले भने, ‘उहाँले नेविसंघको विषय आधिकारिक रूपमा छलफलमै ल्याउनुभएको छैना। त्यसकारण अहिले नै नेविसंघ गठन हुने सम्भावना निकै न्यून देख्छु।’

नेविसंघ नहुँदा संगठन विस्तार र अन्य कार्यक्रम गर्न पार्टीलाई नै अप्ठ्यारो परेको नेताहरू बताउँछन्। स्ववियु निर्वाचन नजिकिँदै गर्दा पनि नेविसंघको संगठन निर्माणमा नेतृत्वले चासो नदिएको असन्तुष्ट समूहको आरोप छ।

वरिष्ठ नेता पौडेल समूहले भने ११ औं महाधिवेशनमा पराजित मनोजमणि आचार्यलाई महाधिवेशन गर्ने जिम्मा दिन बैठकमै प्रस्ताव गरिसकेका छन्। तर सभापति देउवा आचार्यलाई कुनै हालतमा दिने पक्षमा छैनन्। देउवाले अन्य सदस्य पछि थप्ने गरी अध्यक्ष मात्रै टीका लगाएर ल्याउने तयारी गरिरहेको असन्तुष्ट पक्षले आरोप लगाएको छ। 

सभापति देउवाका कारण नेविसंघ अन्योलमा परेको संस्थापनइतर खेमाको आरोप छ। ‘सभापतिले नेविसंघ गठनमा किन ढिलाइ गर्नुभयो थाहा भएन। तत्काल नेविसंघ गठनमा आवश्यक छ’, नेता नवीन्द्रराज जोशीले भने, ‘वरिष्ठ नेताले त यसअघि नै अघिल्लो महाधिवेनमा दोस्रो मत पाएकालाई महाधिवेशन गर्ने जिम्मा दिऔं भन्नु भइसकेको छ।’ 

नेविसंघको तदर्थ समिति गठनको जिम्मा सभापतिले पाइसकेकाले सभापतिले ढिला गरेको भन्ने आरोपलाई संस्थापन समूहले भने स्वभाविक मानेको छ। यसअघि नै तदर्थ समिति गठन गर्नुपर्ने सहमहामन्त्री महत बताउँछन्। ‘सभापतिले ढिला गर्नुभयो भन्ने आरोप स्वभाविक पनि हो।

सभापतिले किन ढिला गर्नुभएको हो भन्ने मैले पनि बुझ्न पाएको छैन’, उनले भने, ‘तर अब चाँडै हुन्छ। यसका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाउनु पर्दैन। शीर्ष नेतासँग छलफल गरे पुग्छ।’ नेविसंघमा तदर्थ समिति ल्याउँदा ३२ वर्षे उमेर हद लगाउने/नलगाउने विवाद कायमै छ। 

पार्टीले भ्रातृ संगठन नेविसंघलाई मात्रै चासो नदिएको भने होइन। नेविसंघसँगै अरू भ्रातृ संगठनको अवस्था पनि उस्तै छ। तरुण दल चार दुई वर्षदेखि चार जनामै सीमित छ। किसान संघको महाधिवेशन १३ वर्षदेखि हुन सकेको छैन। नेपाल दलित संघको पनि अवस्था उस्तै छ। यसको ६ वर्षदेखि महाधिवेशन हुन सकेको छैन। 

करिब एक दशकअघि स्थापना भएको अपांग संघको महाधिवेशन हुन सकेको छैन। नेपाल ठाकुर समाजको पनि महाधिवेशन हुन नसकेको एक दशक हुनै लाग्यो। तर पार्टीले यी कुनै भ्रातृ संगठनतर्फ चासो देखाएको छैन। नेविसंघलाई भने पार्टी नेताहरूले निकै चासोका साथ हेर्ने गरेका छन्। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App