coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गम्भीर घाइते गर्भवतीको उपचारमा आर्थिक समस्या

खोटाङ – डाले घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डाले घाँस काट्ने क्रममा गायोको रुखबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीय कविता राईको उपचारमा आर्थिक समस्या भएको हो। 

फागुन ३० गते डाले घाँस काट्ने क्रममा लडेर गम्भीर भएकी राईको हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। रुखबाट लड्दा सात महिने गर्भवती कविताको दाहिने हात दुई ठाउँमा भाँचिएको छ। ढाडमा असर पुग्दा उठबस गर्नै नसक्ने अवस्थामा पुगे पनि उनले चैत ३ गते सात महिनाको बच्चालाई सकुसल जन्म दिएकी आफन्तले बताएका छन्। जन्मिएदेखि आइसियुमा राखिएका नवजात शिशु (छोरा) लाई आइतबार निकालिएको छ। 

उनको उपचारमा परिवारले अहिलेसम्म ऋण गरेर एक लाख ३० हजार खर्च गरेको छ। थप उपचारका लागि आर्थिक समस्या भएको श्रीमान शेषकुमार राईले बताए। शेषकुमार आफैं पनि शारीरिक रूपमा अपांग छन्। उनको बालक छँदै दाहिने हात भाँचिएर काटिएको छ।  बिरामीको उपचारमा सहयोग गर्नका लागि ९८६२५०३८४४ मा फोन सम्पर्क गर्न सकिनेछ। 

कवितालाई १३ हजार सहयोग 
उपचारका क्रममा आर्थिक अभवा झेलीरहेकी कवितालाई १३ हजार आर्थिक सहयोग प्राप्त भएको छ। प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पाँच हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिनादेवी राईले ३ हजार र समाजसेवी देवान राईले पाँच हजार आर्थिक सहयोग गरेका हुन्।

उनीहरूले अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। उनको नाजुक अवस्था देखेर शुभेच्छुकबाट सहयोग जुट्न थालेको छ। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App