coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘पलेँटी’मा आभास गुञ्जन

काठमाडौं – तेह्र वर्षदेखि सांगीतिक श्रृंखला ‘पलेँटी’ को संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास यसपटकको ‘पलेँटी’मा आफैं प्रस्तुत हुने भएका छन्। नेपालयले सञ्चालन गर्दै आएको यो श्रृंखलाको पहिलो संस्करणको सुरुवात पनि आभासकै गीतबाट गरिएको थियो।

केही समयको विश्रामपछि गत फ्रेब्रुअरीबाट ‘पलेँटी’लाई विषयवस्तु अर्थात् ‘थीम’मा आधारित हुनेगरि पुनः शुरु गरिएको थियो। जस अनुसार गत महिनाको ‘पलेँटी’मा नेपाली संगीतमा महिला गायनको चर्चा भएको थियो। यसपटकको विषय आभासमा केन्द्रीत हुनेछ। आभासले यो महिनाको आफ्नो ‘पलेँटी’लाई ‘मैले हिँडेको सांगीतिक गोरेटो’ नाम दिएका छन्। सानै उमेरदेखि संगीतमा झुकाव राख्ने आभाससँग नेपाली संगीतका विविध धारसँगै किशोर उमेरमा नेपालको वैकल्पिक धारसँग सम्बन्धित काम गरेको अनुभव पनि छ। नेपालको वामपन्थीधारको निकट रहेका मञ्जुल र रामेशबाट गीतियात्रा शुभारम्भ गरेका आभास पछिल्लो कालखण्डमा संगीतज्ञ अम्बर गुरुङको गुरुकूलका विद्यार्थी बने।

आभासले गीतसँगै वि।सं। २०३६ साल र त्यसयताको उनको सांगीतिक यात्रा, राजनैतिक तथा सामाजिक परिवर्तनलगायतका संस्मरण पनि सुनाउनेछन्।

कविका रूपमा समेत परिचय बनाएका आभास संगीतका लेखन, गायन र संगीतमा क्रियाशील कलाकार हुन्। उनका सांगीतिक रचनाहरूमा सामाजिक, राजनैतिक र मानवमनको भावलाई समेटिएका छन्। उनका संगीतमा मञ्जुल, विक्रम सुब्बा, बानिरा गिरी, तीर्थ श्रेष्ठ, विप्लव प्रतीक, श्रवण मुकारुङ, भीष्म उप्रेतीजस्ता स्रष्टाका गीत समेटिएका छन्।

‘मैले नेपाली सांगीतिक क्षेत्रमा कलालाई धेरै महत्व दिने र विचारलाई धेरै महत्व दिने दुबै सोचका अगुवा र दौतरीहरूसँग संगत गर्न पाएँ। त्यसकारण मेरो सांगीतिक यात्रा रोमाञ्चक रह्यो। पछिल्लो समयमा दुबै धारका कलाकारमा ‘कला जीवनकै निम्ति हो’ भन्ने कुरामा समानता भेटेपछि अझ रमाइलो हुन थालेको छ’, उनले भने।

‘पलेँटी’ सन् २००५ बाट प्रारम्भ भएको हो। यस महिनाको ‘पलेँटी’मा आभासले विगतका आफ्ना अनुभवका साथ डेढ दर्जन जति सांगीतिक रचना सुनाउने छन्। कार्यक्रमकै लागि आभासले विगतका सांगीतिक अभियान ‘संकल्प’ र ‘आस्था’कालदेखि अहिलेसम्मका गीतलाई छनोटमा राखेका छन्। आभासले गीतसँगै वि।सं। २०३६ साल र त्यसयताको उनको सांगीतिक यात्रा, राजनैतिक तथा सामाजिक परिवर्तनलगायतका संस्मरण पनि सुनाउनेछन्।

अंग्रेजी महिनाको अन्तिम शुक्रबारमात्र हुँदै आएको ‘पलेँटी’ गएको महिनादेखि अन्तिम सप्तान्त अथवा महिनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन आयोजना हुन थालेको छ।

 

प्रकाशित: १२ चैत्र २०७५ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App