८ वैशाख २०८१ शनिबार
कला

प्रकृति र मानिस जोड्दै सरिता

काठमाडौं – प्रकृति र मानिस परिपुरक हुन्। यी दुईबीचको प्रगाढ सम्बन्धलाई कलाकार सरिता डंगोलले आफ्ना चित्रमा प्रस्तुत गरेकी छन्। सन् १९९९ बाट चित्र कोर्न थालेकी डंगोलले त्यही समयदेखि नै आफ्ना चित्रमा प्रकृतिसँगको सम्बन्धलाई देखाउँदै आएकी छन्।

ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा चलिरहेको सरिताको ‘प्रकृतिका आवाजहरू’ कला प्रदर्शनीमा राखिएका चित्र नियाल्दा कलापारखीले हरियाली, पतझर र सुख्खा मौसममा आफ्नो अस्तित्वका लागि संघर्षरत प्रकृतिलाई पाउँछन्। उनका चित्रमा मानव जीवनको अस्तित्वका लागि गरिरहेको संघर्षलाई पनि उजागर गरिएको छ। ‘मलाई प्रकृतिका रङहरू जीवनका रङझैं सुनौला लाग्छन्’, ग्यालरीमा भेटिएकी सरिताले भनिन्, ‘मानवीयता सिकाउने प्रकृतिको व्यवहारले जोकोहीको पनि मन छुन्छ।’

सरिताका कलाकृतिमा प्रकृतिको भाषा, भेष र जाति नभएजस्तै मानवीयताको पनि सिमाना नहुने देखाएको छ। तर उनीहरूको यात्रा एउटै हो भन्ने सन्देश सरिताले आफ्ना कलामा दिएकी छन्। ‘कोपिलाजस्तै मानिसको जीवनको बाल्यकाल, ठडिएको विशाल वृक्षजस्तै जवानी मानिसको एउटा कालखण्डमा रहन्छ’, उनी भन्छिन्, ‘बुढेसकालमा कुप्रिँदै सहारा खोज्दै गएको मानवझैं रुख विरुवाले पनि त्यस्तै जीवन बाँच्छन्।’

कोपिलाजस्तै मानिसको जीवनको बाल्यकाल, ठडिएको विशाल वृक्षजस्तै जवानी मानिसको एउटा कालखण्डमा रहन्छ। बुढेसकालमा कुप्रिँदै सहारा खोज्दै गएको मानवझैं रुख विरुवाले पनि त्यस्तै जीवन बाँच्छन्।

प्रकृति र मानव सम्बन्धलाई केलाउने यी चित्र कोर्नुअघि सरिताले देशका विभिन्न स्थानको प्रकृति नियालेकी थिइन्। वर्तमान पुस्ता मोबाइलमा तस्बिर खिचेर त्यसैलाई चित्रमा उतारिरहँदा सरिताले भने आफू पुगेकै स्थानमा बसेर त्यहाँको सुन्दरतालाई चित्रमा कैद गरिन्। यसपटकको चित्रमा उनले सशस्त्र द्वन्द्व पनि सम्झिएकी छन्। ‘त्यो बेला मानव समाजमा एकप्रकारको चित्कार थियो। वनजंगलमा हुने युद्ध, बन्दुकको आवाज, बारुदको धुँवाले पक्कै रुख विरुवाको पनि चित्कार निस्क्यो होला। यस्तै विभत्स भावको प्रकृतिको सिर्जना मैले गरेकी छु’, सरिता खुलिन्।

हाल उनी खुर्सानीका सिरिजमा कला सिर्जना गरिरहेकी छिन्। त्यो रंगीन र सादा चित्रले पनि कला प्रदर्शनीमा स्थान पाएको छ। सरिताले स्वादका हिसाबले खुर्सानीले मानव जीवनको अन्धविश्वास तोड्न विभिन्न प्रथामा सामेल भएर सघाउने दाबी गरिन्। खुर्सानी ढोकामा झुण्ड्याउने, डढाएर धुपधुवाँर गर्नाले अराजक तत्व मानव समाजबाट भागेर जाने विश्वास अझै नेपाली समाजमा कायम छ। तैल विद्यामा कोरिएका उनका अधिकांश चित्रमा प्रकृतिकै रङले स्थान पाएका छन्। हरिया, नीला, राता, पहेंला रङमा उनी बढी खेलेकी छिन्। खुर्सानीका केही चित्र भने उनले कालो मसी र चारकोलको रङसँग साटेकी छिन्। ४५ सयदेखि ७० हजारसम्म मूल्य रहेका चित्रमध्ये आधा दर्जन चित्र पारखीले खरिद गरिसकेका छन्। महिला दिवसको अवसर पारेर सुरु भएको उनको चित्र प्रदर्शनी चैत महिनाभर चल्नेछ।

प्रकाशित: १२ चैत्र २०७५ ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App