७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

काठमाडौं– अठार वर्षदेखि नेपाली जीवन बिमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी सर्वसाधारणमाझ लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लोपटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमबीच ५० लाखसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो।

विभिन्न समयमा समयसापेक्ष उत्कृष्ट योजनाहरू ल्याइरहेको यस कम्पनीले समयको माग र सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरी यो योजना सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्, ‘हामीले आम सर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं।’

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ। साथै, साबिकको योजना भने बिमा अवधिसम्म चालु रहनेछ। यस पूरक करारले थप जोखिम बहन गर्ने कम्पनीले जनाएको छ। ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बिमा गरेका बिमित वा नयाँ बिमितले तोकिएका सर्त पूरा गरी यो थप सुविधा लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यस योजनामा क्यान्सर, अन्तिम चरणको मिर्गौला फेलियर, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेस्ट सिएबिजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको बिफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स, पार्किन्सन्स, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ।

यस योजनामा सहभागी हुन नियमित बिमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ। जीवन बिमा बजारमा झण्डै एक तिहाइ भाग ओगटेको दाबी गर्ने यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको जनाएको छ।

कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चारपटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ। साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रस्ट एन्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेस्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्स्टिच्युसन अफ द इयर–इन्स्योरेन्स कम्पनी’ अवार्डबाट सम्मानित भएको थियो। यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिने गरिन्छ।

कम्पनीले आफ्ना बिमितलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनस दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनस दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको जनाएको छ। यस कम्पनीको चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँ छ। यसको जीवन बिमा कोष ५९।४९ अर्ब र लगानी ६५।९८ अर्ब छ। एक लाख १६ हजारभन्दा बढी सर्वाधिक प्रशिक्षित अभिकर्ता तथा एक सय ७० शाखाबाट हालसम्म स्वदेश र विदेश गरी २५ लाखभन्दा बढी व्यक्ति यस कम्पनीमा बिमित भइसकेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०७५ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App