८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘ट्रम्प अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ मुलर प्रतिवेदनको निष्कर्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ), महान्यायाधिवक्ता विलियम बार (बीचमा) र विशेष अनुसन्धाकर्ता रोबर्ट मुलर। तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको भन्ने आरोप पुष्टि नभएको विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेको मुलर प्रतिवेदनको सारांशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको छ। २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले देशको संसद्मा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भन्ने निष्कर्ष भने निकालिएको छैन। अर्थात् सो आरोपमा ट्रम्पलाई सफाइ मिलेको छैन।

दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइएको थियो। केहीलाई जेल पनि पठाइएको थियो। यसैबीच प्रतिवेदनबारे प्रतिक्रिया दिँदै ट्रम्पले ट्विटरमा आफूले सफाइ पाएको दाबी गरेका छन्। यसै विषयमा उनले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो लाजको विषय हो कि देश यस्तो प्रक्रियामा जानुपर्‍यो।’ ‘कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको छ भने यसको अर्को पक्षलाई पनि खोज्नु जरूरी छ। यो मानमर्दनको गैरकानुनी प्रयास थियो, अन्ततः असफल सिद्ध भयो,’ ट्रम्पले बताएका छन्।

महान्यायाधिवक्ता बारले तयार पारेको सारांशपत्रमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी प्रभावबारे मुलरले गरेको अनुसन्धानबाट पत्ता लागेका तथ्यहरूको सारांश भएको बताइएको छ। बारले संसदलाई लेखेको पत्रमा भनेका छन्, ‘विशेष अनुसन्धानकर्ताले तयार पारेको प्रतिवेदनमा कुनै पनि अमेरिकी नागरिक वा ट्रम्प अभियानका अधिकारीले रुससँग मिलेर षड्यन्त्र गरेको वा नियतवश सहकार्य गरेको तथ्य भेटिएन।’

विशेष अनुसन्धानकर्ताको प्रतिवेदनमा ‘अन्ततः परम्परागत अभियोजनात्मक निर्णय’ भने नदिइएको बारले प्रेषित गरेको सारांशपत्र उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘तसर्थ विशेष अनुसन्धानकर्ताले छानबिन गरिएको विषय आचार अवरोध हो कि हैन भनेर कुनै निष्कर्ष निकालेका छैनन्,’ पत्रमा भनिएको छ। यसबाट ट्रम्पले न्यायमा अवरोध पुर्‍याउने अपराध गरेको भन्ने प्रमाणित हुन नसक्ने बारले दाबी गरेका छन्। देशको संसद्लाई पठाएको पत्रमा बारले प्रतिवेदनका अन्य कुरा पनि सार्वजनिक गर्ने तर केही सामग्री भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेका छन्।

डेमोक्रेटिक पार्टीका सांसद सदस्य जेरी न्याड्लरले महान्याधिवक्ताले ट्रम्पले न्यायमा अवरोध गरेको हुन सक्ने सम्भावनालाई खण्डन नगरेको टिप्पणी गरेका छन् भने सोही दलका सिनेटर रिचर्ड ब्लुमेन्थलका अनुसार मुद्दा चलाउनेगरी आपराधिक षड्यन्त्र गरेको प्रमाण नभए पनि ट्रम्पबारे प्रश्नहरू यथावत् रहेका छन्। सभामुख न्यान्सी पलोसी र सिनेटर चक सुमरले संयुक्त विज्ञप्तिमार्फत् ‘महान्यायाधिवक्ता बारले सारांशपत्र पठाएर जवाफ दिइरहँदा त्यसले थुप्रै प्रश्न उठाएको’ भन्दै पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले प्रतिवेदनले राष्ट्रपतिलाई पूर्णतः सफाइ दिएको दाबी गरेकी छन्। प्रतिवेदनबाट डेमोक्रेट्स निराश बनेका छन् भने राष्ट्रपतिसहित रिपब्लिकन नेता तथा उनका शुभेच्छुक उत्साहित देखिएका छन्। प्रतिवेदनको निष्कर्षले अमेरिकी निर्वाचनमा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको योजनामा काफी राहत हुने अनुमान गरिएको छ।

प्रकाशित: १२ चैत्र २०७५ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App