coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरकारी बेचेर एचए र अनमी पढाई

व्यावसायिक तरकारी खेती गर्दै आएका बिरभान खड्का । तस्बिर: लोकेन्द्र/नागरिक

रुकुम-रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–९ का बिरभान खड्काको परिचय गाउँमा छुट्टै रहेको छ। उनलाई यहाँका स्थानीयले ‘तरकारी फलाउँने बिरभान’ भनेर चिन्ने गर्छन्। लामो समयदेखि बेमौसमी तरकारी तथा बीउ उत्पादन गर्दै आएका उनी अरुका लागि पनि प्रेरणाको स्रोत बनेका छन्। १६ वर्षदेखि तरकारी खेती गर्दै आएका बिरभानले गाउँका अन्य व्यक्तिलाई तरकारी उत्पादन गर्नका लागि आवश्यक शिक्षा दिँदै आएको उनले बताए।

तरकारी व्यावसायबाट थोरै लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि आफू यो पेसामा सक्रिय भएर लागेको उनको भनाइ छ। पहिले काउलीको बीउसमेत उत्पादन गर्ने गरेको भए पनि तीन वर्षदेखि भने बिरभानले ताजा तरकारी मात्र उत्पादन गर्ने गरेको बताए। अहिले उनको घर नजिकैको खेतबारीमा हरियो तरकारी प्रसस्त मात्रामा रहेको छ।

आफूले उत्पादन गरेको तरकारी अर्गानिक भएको उनको दाबी छ। कुनै पनि विषादीको प्रयोग नगर्ने भएकाले आफ्नो तरकारी सहज रुपमा बिक्री हुने गरेको बिरभानले बताए। ‘मैले १६ वर्षदेखि तरकारी उत्पादन गर्दै आएको छु,’ उनले भने, ‘मैले उत्पादन गर्ने सबै तरकारीमा कुनै पनि विषादी प्रयोग गर्दैन त्यसैले पनि सबैले मन पराउँछन्।’ तरकारीमा कुनै रोग लागेपछि रोकथाम गर्न स्थानीय स्तरमा पाइने जडीबुटीबाट औषधि बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ।

तरकारी उत्पादनबाट आएको रकमले दुई छोराछोरीलाई पढाउनदेखि सबै खर्च चलाउँदै आएको उनले बताए। ‘मेरा एक छोरी र एक छोरा छन्, छोरीले अनमी सकेर अहिले काम गर्न थालेकी छन्,’ बिरभानले भने, ‘छोरा पनि अहिले एचए पढ्दैछ। अब यो वर्ष उसले पनि सक्छ, यो सबै खर्च यहि तरकारी बिक्री गरेर धानेको छु।’ तरकारी बिक्री गरेर आफूले एक सिजनमा साढ एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले जनाए। बिरभानको बारीमा अहिले डेबी टु जातको काउली, आलु, प्याज, रायोको साग, हरियो खुर्सानीलगायत तरकारी रहेका छन्। आफूले उत्पादन गरेको तरकारी प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।

आफुले उत्पादन गरेको तरकारी पहिले पहिले डोकामा बोकेर गाउँ गाउँमा पुगेर बिक्री गर्ने गरेपनि अहिले भने सिम्ली बजारमा बिक्री गर्ने गरेको उनले बताए। आफुले उत्पादन गरेको तरकारी सहजै बिक्री गर्ने गरेको भएपनि गाउँका अन्य किसानलाई बजारको अभाव भएको बिरभानको भनाइ छ।

आफुहरुले गाउँमा अर्गानीक तरकारी उत्पादन गर्नको लागि कृषि समुह समेत गठन गरेको उनले बताए। उनले गाउँका अन्य किसानलाई अर्गानीक तरकारी खेती सम्बन्धि आवश्यक तालिम समेत दिने गरेका छन्। समुहका सबै सदस्यले तरकारी उत्पादन गर्ने लक्ष्य भएपनि संकलन केन्द्र र बजार अभावले सोचेजस्तो गरेर अझै पनि तरकारी उत्पादन गर्न नसकीएको यहाँका अर्का किसान धनी विष्टले बताइन्। आफुहरुले उत्पादन गरेको तरकारीलाई बजार व्यवस्था गरिदिन गाउँपालिका संग आग्रह गरेपनि कुनै सुनुवाई नभएको उनले गुनासो गरिन्। संकलन केन्द्र र बजार व्यवस्थापन भएमा आफुहरुले अर्गानीक तकारी उत्पादन गरेर जिल्लाका सबै ठाउँमा पु-याउन लक्ष्य रहेको विष्टले बताइन्।

गाउँपालिकाले भने यहाँका किसानले उत्पादन गरेको तरकारी तथा फलफुललाई बजारीकरण गर्नको लागि संकलन केन्द्र निर्माण गर्ने तयारी भएको जनाएको छ। चालु आर्थिक वर्षमा कर्णाली प्रदेश र गाउँपालिकाको आर्थिक सहयोगमा संकलन केन्द्र निर्माण गर्ने तयारी भएको कृषि शाखा प्रमुख लालबहादुर भण्डारीले बताए। यहाँका किसानले अर्गानीक तकारी उत्पादन गरेपनि बजार अभाव रहेको उनले स्वीकार गरे। उक्त समस्या अब छिट्टै अन्त्य हुने गाउँपालिकाको भनाइ छ।

प्रकाशित: १२ चैत्र २०७५ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App