८ वैशाख २०८१ शनिबार
अर्थ

कोशी करिडोर, कतै खुसी, कतै पीडा

पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा जोड्ने कोशी करिडोरअन्तर्गत कुम्मायक गाउँपालिकाको रानीगाउँमा रहेको सडक । तस्बिर : गिरिराज/नागरिक

पाँचथर- कुम्मायक गाउँपालिकाको रानीगाउँका आनन्दसागर ढुंगाना यतिबेला गुनासाको पोको बोकेर हिँडिरहेका छन्। कोशी करिडोर सडक निर्माणका क्रममा आफ्नो खेतबारी पुरिएको उनको गुनासो छ। ‘सडक विस्तार भयो। खुसी नै छौं। केही नभए नि जग्गा दियौं। तर ठेकेदारले माटो, ढुंगा जथाभावी फालिदिए,’ उनले भने, ‘नियमत ठेकेदारले वेस्टेज मेटेरियल व्यवस्थित रुपमा थन्काउनु पर्छ। तर हामीलाई  पत्याएनन्।’

बाटोले छोएका विभिन्न ठाउँमा जथाभावी रुपमा माटो, ढुंगा फालिएको उनको भनाइ छ। गाउँलेहरु खेतबारी पुरिएर पीडित बनेको उनले गुनासो पोखे। ‘व्यवस्थित रुपमा माटो नफ्याकेर ड्याङडुङ काम भयो। ठेकेदारलाई भन्यौं, आयोजना प्रमुखलाई भन्यौं तर कतैबाट सुनवाइ भएन,’ उनले थपे, ‘स्थानीय जनतासँग समन्वय नगरी नै काम गरे।’

पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा जोड्ने एक सय ४५ किलोमीटर कोशी करिडोरको सडक निर्माणका क्रममा बाटोमुनिको जग्गा, पानीको मुहान, सिँचाइ कुलो पुरिएको भन्दै विभिन्न क्षेत्रका बासिन्दाले गुनासो पोखिरहेका छन्। निर्माण कम्पनीले वेस्टेज मेटेरियल अन्यत्र व्यवस्थापन गर्नुपर्ने भए पनि जथाभावी फाल्दा निर्माण क्षेत्रका बासिन्दा प्रभावित बनेका हुन्।

ट्र्याक निर्माण भइरहेका क्षेत्रका बासिन्दाले यस्तो गुनासो गरिरहेका छन्। यस्तै गुनासो माझीटारबासीको रहेको छ। हिलिहाङ गाउँपालिका–७ माझीटारका बासिन्दाले सडकको ट्र्याक खुल्न थालेपछि खेती लगाउन पाएका छैनन्। सडकले सिँचाइ कुलो पुरिएपछि २२ माझी परिवारले खेती लगाउन नपाएका हुन्। अरुको जग्गा अधियाँ, कुतियमा कमाएर बसिरहेका माझीले खेती लगाउने ठाउँ पुरिएको छ। नपुरिएको ठाउँमा पनि कुलो नहुँदा खेती गर्न सकिरहेका छैनन्। स्थानीय निर्मला माझीका अनुसार ठेकेदारले कुलो बनाइदिने भने पनि अझै बनाइदिएको छैन।

विभिन्न ठाउँका बासिन्दाको गुनासो आएपछि वेस्टेज मेटेरियल व्यवस्थित रुपमाा व्यवस्थापन गर्न अनुरोध गरेको आयोजना प्रमुख अभिमान मूल्मीले बताए। ‘निर्माणका क्रममा ख्याल गर्नुपर्छ। हामीले ठकेदारलाई सेचत गराएका छौं,’ उनले भने। 

वातावरण प्रभाव मूल्यांकन भएकै छैन
पाँचथरको माझीटार र रानीगाउँ खण्डमा वन डिभिजन कार्यालय पाँचथरले निर्माण रोक लगाएको छ। वातावरण प्रभाव मूल्यांकन नै नगरी निर्माण कार्य अघि बढाएको भन्दै सामुदायिक वन क्षेत्रमा निर्माणको काम हालका लागि रोक लगाइएको हो। वन क्षेत्रमा अरु प्रयोजनका लागि नेपाल सरकारको अनुमति लिनुपर्ने भए पनि नलिइएकाले रोक्नु परेको कार्यालयका प्रमुख मेघराज राईले बताए।

‘सडकको डिपिआर पनि छैन। वातवारण प्रभाव मूल्यांकन पनि भएको छैन। कसरी सरकारी तथा सामुदायिक वन क्षेत्रमा काम गर्न दिने?’ उनले भने, ‘विशेष प्राथमिकताको सडक भन्दैमा वन र वातवारणलाई ख्याल गर्नुका साथै कानुन पनि मान्न प-यो नि।’ वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाइएको आयोजना प्रमुख मूल्मीले बताए। 

काम धमाधम 
पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गका रुपमा लिइएको ‘कोशी करिडोर’को काम धमाधम अघि बढेको छ। पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म तमोर र कोशी नदीको तिरैतिर एक सय ४५ किलोमिटर डबल लेनको बाटो बनाउने कामले तीव्रता पाएको हो। सबै प्याकेजको काम तीव्रताका साथ अघि बढेको आयोजना प्रमुख मूल्मीले जानकारी दिए। सबै खण्डमा काम भइरहेको उनले बताए। चाँडै ट्र्याक बनाउने काम अन्तिम चरणमा पुग्ने छ।

६ अर्ब १५ करोड १४ लाख रुपैयाँमा सात प्योकजमा ठेक्का लागेको सडकको ट्र्याक निर्माणदेखि ग्राभेल स्तरसम्मको स्तरोन्नतिका लागि ठेक्का लागेको थियो। पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका बासिन्दालाई तराई निस्कन छोटो हुने सडकको रुपमा यसलाई लिइएको छ। ‘कोशी करिडोर सडक विस्तार योजना–२’ अन्तर्गत मध्यपहाडी लोकमार्ग आयोजनामार्फत यो सडकको काम अघि बढेको हो।
‘पूर्वी पहाडबाट तराई र काठमाडौं जोड्ने छिटो बाटोको रुपमा लिइएको छ। सबैतिरबाट काम भइरहेको छ । आशा छ चाँडै प्रगति हुने छ,’ मूल्मीले भने, ‘अहिलेसम्म ठेकेदारले राम्रै काम गरेका छन्। स्थानीय स्तरमा पनि उत्साह देखिन्छ। यो सडक बने पनि यातायातमा सहजतामात्र होइन व्यापार–व्यवसायमा पनि राहत मिल्नेछ।’

प्रदेशको अस्थायी राजधानी विराटनगरलगायत सहर पुग्न, ठूला अस्पताल तथा अन्य व्यापारिक केन्द्रसँग जोड्न यो सडकले महत्व राख्ने बताइन्छ। प्रस्तावित तमोर जलायशयुक्त आयोजनामा नडुब्ने गरी काम अघि बढाइएको छ। ३० महिनामा काम सक्ने गरी ठेक्का लागेको हो। पाँच प्याकेजको गत वर्ष फागुन र दुई प्याकेजको वैशाखमा ठेक्का सम्झौता भएको थियो। पहिलो प्याकेज रसुवा/टुडी जेी, दोस्रो   श्रेष्ठ/एफएक्स/थेगिम, तेश्रो लामा/पिएस/बिरुवा, चौथो रौताहा/सन्तोषी जेबीले ठेक्कामा लिई काम गरिरहेका छन्। पाचौं शर्मा एन्ड कम्पनी, छैटौं कालिका/थोदुङ/महलक्ष्मी जेभी र सतौं रौताहा/सन्तोषी जेभीको ठेक्का रहेको छ ।

पूर्वी पहाडलाई छोटो बाटोबाट तराई लगायत जिल्ला जोड्ने गरी कोशी करिडोरको परिकल्पना भएको थियो। मध्यपहाडी लोकमार्गलाई छोट्याउने सडकको रुपमा यसलाई विकास गरिएको छ। चीनसँगको सिमाना ताप्लेजुङको ओलाङ्चुङगोलाको तिप्तलादेखि मुलघाटसम्म जोड्ने उत्तर दक्षिण लोकमार्गअन्तर्गतको सडकलाई सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्मा मध्यपहाडी लोकमार्गसँग जोड्ने गरी कोशी करिडोर अघि बढाइएको हो।

छोटो सडक हुने भएकाले खुसी
यो सडक बनेपछि पूर्वी पहाडका बासिन्दाले ठूलो राहत पुग्ने बताइन्छ। ‘पहिला नुन बोक्न हिँड्दै धरान जाने बाटो यहि हो। अब सडक बन्ने भयो। यो क्षेत्रको विकासमा निकै महत्वकाे योजना हो,’ पूर्व सासद अइन्द्र सुन्दर नेम्बाङ भन्छन्, ‘उत्तरको चीन र दक्षिणको भारत जोड्न यस करिडोरले महत्वपूर्ण योगदान पु-याउँछ । सामरिक महत्वका हिसाबले पनि यो महत्वपूर्ण सडक हो। यसले एउटा मात्र देशको निर्भरताको अन्त्य गर्छ। विकास र पर्यटनमा यो सडकले ठूलो परिवर्तन ल्याउछ।’

यो सडक तराई जोड्ने छोटो मानिन्छ। फिदिमबाट एकैदिनमा विराटनगर, इटहरी पुगेर फर्किन मिल्छ। चीन–भारत जोड्ने छोटो सडकको रुपमा समेत लिइन्छ। चीनको तिम्पतलादेखि रानी भन्सारसम्म करिब दुई सय ८० किलोमिटरमा जोडिने यो सडकको सर्भे गर्नेमध्येका एक इन्जिनियर कुवेर नेपालीले जानकारी दिए। चार जिल्लाकै सदरमुकामदेखि यो सडक नजिक भएको उनको भनाइ छ।  गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाउँ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ। धनकुटाको चौविसे, साधुरे, मुलघाट, त्रिवेणी हुँदै चतरा पुग्छ।

यो सडकलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक राजमार्गको रुपमा विकास गर्न खोजिएको छ। यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छोटो बाटो रोजिएको छ। निकै ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा रहेको पाइन्छ। गणेश चोकमा मध्यपहाडी लोकमार्ग जोडिन्छ यो ठेक्का अुनसारको काम सकिदा सडक कालोपत्रे हुने चरणमा पुग्ने छ। चौडा विस्तार, घुम्ति, नालानिर्माण तथा ग्रावेलको काम हुने छ। 
‘यातायात सुविधाका साथै, उद्योग, व्यापारमा योगदान पुग्ने देखिन्छ’ पाँचथरको तुम्बेवा गाउँपालिकाका प्रमुख होमनाथ थाापले भने ‘यसबाट पर्यटन प्रवद्र्धनमा योगदान पु-याउने छ। हामीले यो सडकलाई मध्यनजर गर्दै एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन खोज्दै छौं।’

प्रकाशित: १२ चैत्र २०७५ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App