coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आधिकारिक निर्णय भएको छैन : मन्त्री विश्वकर्मा

खेल मैदान निरीक्षणका क्रममा सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, राखेप सदस्यसचिव केशवकुमार विष्टलगायत । तस्बिरः नागरिक

बाँके – सदस्यसचिवले आठाैं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेको एक दिन बित्न नपाउँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले फरक धारणा राखेका छन्।

नेपालगन्ज आइपुगेका मन्त्री विश्वकर्माले शुक्रबार बस्ने बोर्ड बैठकले नयाँ मिति तय गर्ने बताए। तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव केशवकुमार विष्टले चैत २७ देखि वैशाख ३ गतेसम्म आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने तयारी भएको बताएका थिए। 

मन्त्री र सदस्यसचिवले फरक धारणा राखेपछि आठाैं राष्ट्रिय खेलकुद आयोजना मिति भने अन्योलमा परेको छ। मिति घोषणा गर्ने विषयलाई लिएर मन्त्री र सदस्यसचिवबीच आन्तरिक मतभेद देखिएको छ। आठौं खेलकुदको आयोजना गर्ने विषयलाई लिएर मन्त्री र सदस्यसचिवले फरक धारणा राख्दै आएका छन्। 

सदस्यसचिव विष्टले पूर्वाधार निर्माण कार्य चलिरहँदाको अवस्था पनि आठाैं राष्ट्रिय खेलकुद गर्न सकिने पक्षमा छन्। मन्त्री विश्वकर्मा भौतिक पूर्वाधार निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नहुँदासम्म राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नहुने बताउँदै आएका छन्। जसका कारण मन्त्री र सदस्यसचिवबीच आन्तरिक द्वन्द्व बढ्दै गएको छ। 

सदस्यसचिवले आइतबार नेपालगन्जका स्थानीय जनप्रतिनिधिसँग आठौं राष्ट्रिय खेलकुद आयोजनाबारे छलफल गरेका थिए। जसमा विष्टले प्रतियोगिताको उद्घाटन चैत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट गर्ने तय भैसकेको बताएका थिए। तर विष्टको भनाइप्रति मन्त्रीले बोल्न चाहेनन्। 

मन्त्री विश्वकर्माले भने,‘सरकारले भौतिक पूर्वाधार र प्रतियोगिताको तयारीलाई प्राथमिकता दिएर अगाडि बढेको छ। छिटोभन्दा छिटो आठाैं खेलकुद भव्यताका साथ सम्पन्न गर्न चाहन्छौं। त्यसका लागि शुक्रबार बस्ने बोर्ड बैठकले निर्णय गर्नेछ।’ राखेपको १ सय ११औं बोर्ड बैठक शुक्रबार बस्दै छ। आठौं खेलकुदको आयोजना मिति पटकपटक किन सारिन्छ भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले भने, ‘पटकपटक आठाैं खेलकुद आयोजना मिति सरेको अवस्था होइन। बोर्डले एक वर्षअघि मंसिर २१ देखि गर्ने निर्णय गरेको हो। त्यो आधिकारिक निर्णय हो। त्यसपछि बोर्डले आयोजना मितिबारे केही निर्णय गरेको छैन।’ राखेप स्रोतका अनुसार आयोजना मिति घोषणा गर्ने विषयलाई लिएर मन्त्री र सदस्यसचिवबीच मनमुटाव सुरु भएको छ। 

पछिल्लो समय आठाैं आयोजना मिति हचुवाको भरमा घोषणा गर्ने गरेको आरोप राखेपलाई लाग्दै आएको छ। दुई वर्षअघि तत्कालीन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले २०७५ को मंसिर २१ देखि २९ सम्म गर्ने मिति तय गरेको थियो। तर पूर्वाधार निर्माण र बजेटका कारण तयारी सन्तोषजनक नभएको भन्दै राखेपले माघ २५ देखि फागुन ३ सम्म गर्ने निर्णय गरेको थियो। फागुनमा पनि प्रतियोगिता हुन सकेन। 

प्रकाशित: १२ चैत्र २०७५ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App