coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल

गोवा- प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटबार्ता भएको छ।

आइतबार बिहान गोवाको लिला होटलमा भएको भेट बार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको थियो।

भेटमा प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजभूत बनाउनुपर्ने विचार राखे।

भेटमा प्रधानमन्त्रीले सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता रहेको बताए।

भेटमा प्रधानमन्त्रीले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे  पूनर्विचार गर्न सिरसेनासँग अनुरोध गरेका थिए। प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गरे। भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलूकहरुमा नेपाली महिलाहरु लगिने गरिएकोमा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरे।

भेटमा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने धारणा राखे। उनले नेपालले राखेको चासोंप्रति श्रीलंका  सकारात्मक रहेको बताए।

प्रकाशित: ३० आश्विन २०७३ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App