७ वैशाख २०८१ शुक्रबार
समाज

निर्मला हत्या प्रकरण : सिआइबी डिएसपी जिसी हिरासतमा

कञ्चनपुर -निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी सोमबार स्वयं कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतमा उपस्थित जिसीलाई कञ्चनपुर प्रहरी कार्यालयले हिरासतमा राखेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन्। ‘अदालतले पठाएकाले जिसीलाई हिरासतमा राखेका छौं,’ उनले भने।

अदालतमा सोमबार उनको बयान लिन सुरु गरिए पनि नसकिएकाले मंगलबार पनि लिइने कञ्चनपुर अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। अदालतको न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासमा उनको बयान लिइएको हो। बयानपछि थुनछेक बहस हुनेछ। बहसपछि अदालतले सामान्य तारेखमा छाड्ने वा धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनेछ। यसअघि सम्पर्कविहीन भएका जिसी र तत्कालीन एसपी डिल्ली विष्टका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको ३५ दिने सूचना जारी गरेको थियो। विष्ट यसअघि चैत ५ गते अदालतमा उपस्थित भएका थिए। आइतबार मात्रै अदालतले उनलाई प्रमाण नष्ट गरेको साढे चार लाख र यातना दिएको ६ लाख गरी साढे १० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। जिसीविरुद्ध प्रमाण नष्ट गरेको र यातना दिएको भनेर मुद्दा दर्ता भएको छ।

निर्मला हत्या प्रकरणमा सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समिति र एआईजी धिरु बस्नेतको संयोजकत्वको छानबिन समितिको सिफारिसमा यसअघि प्रमाण नष्ट गरेको भन्दै एसपी विष्ट र इन्सपेक्टर खड्कालाई भविष्यमा अयोग्य नहुनेगरी जागिरबाट बर्खास्त गरिएको छ भने जिसीसहित ६ जना प्रहरी निलम्बनमा परेका छन्।

निर्मलाको बलात्कारपछि हत्या भएको प्रकरणमा साउन १३ गते डिएसपी जिसी अनुसन्धानका लागि कञ्चनपुर आएका थिए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका ४१ वर्षीय दिलीप विष्टलाई प्रहरीले दोषी घोषणा गरेर भदौ ४ गते सार्वजनिक गरेको थियो।

डिएनए रिपोर्ट मेल नखाएपछि दिलीप रिहा भएका हुन्। दिलीपलाई दोष सकार्न यातना दिएको भन्दै गत पुस पहिलो साता उनका दाजु खडक विष्टले उनीसहित चारजनाविरुद्ध उजुरी दिएका थिए भने निर्मलाकी आमा दुर्गा देवी पन्तले प्रमाण नष्ट गरेको भन्दै आठजनाविरुद्ध उजुरी दिएकी थिइन्। उनीहरूका उजुरीका आधारमा फागुन २२ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा फौजदारी अपराध संहिताअनुसार आठ प्रहरीविरुद्ध मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएकै दिन अदालतमा उपस्थित भएका ६ जना प्रहरी फागुन ३० गते अदालतमा धरौटी बुझाएर रिहा भएका छन्।

यो मुद्दा अनुसार पाँच वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ। निर्मला हत्या प्रकरणमा सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समिति र एआईजी धिरु बस्नेतको संयोजकत्वको छानबिन समितिको सिफारिसमा यसअघि प्रमाण नष्ट गरेको भन्दै एसपी विष्ट र इन्सपेक्टर खड्कालाई भविष्यमा अयोग्य नहुनेगरी जागिरबाट बर्खास्त गरिएको छ भने जिसीसहित ६ जना प्रहरी निलम्बनमा परेका छन्। साथी रोशनी बमको घरमा पढ्न गएका बेला साउन १० गते हराएकी निर्मलाको साउन ११ गते शव फेला परेको थियो। कञ्चनपुरका एसपी आचार्यले सबै कोणबाट अनुसन्धान भइरहेको र कुनै तथ्य फेला पर्न नसकेको बताएका छन्।

प्रकाशित: १२ चैत्र २०७५ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App