coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध हतियार बुझाउन उर्दी

ओखलढुंगा – अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लावासीमा उर्दी जारी गरेको छ। गृह मन्त्रालयले प्रकाशन गरेको सूचनाअनुसार २०७५ चैत १ गतेदेखि लागू हुनेगरी ३५ दिनभित्र हातहतियार तथा खरखजना बुझाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन्।

कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपछि हकवालाको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भए तोकिएको समयभित्र जिल्ला प्रशासनमा कार्यालयमा बुझाउन आग्रह गरिएको प्रजिअ न्यौपानेको भनाइ छ। ‘अवैध रूपमा राखिएका हतियार बुझाउन आग्रह गरेका छौं, नबुझाए कानुनबमोजिम कारबाही हुनेछ,’ उनले भनिन्।

अवैध रूपमा राखिएका हतियार नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने जनाइएको छ। तोकिएको समयमा हतिहार बुझाउनेहरूमाथि कुनै कारबाही नहुने तर अटेर गरी नबुझाए अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा चलाइने जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए। पछिल्लो केही दिन यता जिल्लामा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७५ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App