६ वैशाख २०८१ बिहीबार
समाज

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका सबै निकायलाई नियन्त्रणको रणनीतिमा रहेको ठहर गरेको हो।

सेना परिचालनदेखिका सबै अधिकार प्रधानमन्त्रीले आपूm मातहतमा ल्याउन सक्रिय रहेको निष्कर्षसहित कांग्रेसले सरकारका गलत क्रियाकलापविरुद्ध जनमत निर्माणमा जुट्न सांसदहरूलाई निर्देशन दिएको छ। ‘सरकार एकपछि अर्को गर्दै असंवैधानिक कदम उठाइरहेको छ,’ सांसद् प्रकाश रसाइलीले भने, ‘सरकारका गलत क्रियाकलाप जनतामाझ लैजाने र त्यसकाविरुद्ध जनमत निर्माणमा लाग्छौं।’

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषद्को बैठक राखेर संवैधानिक आयोगका अध्यक्षहरूको नियुक्ति गरेर संवैधानिक व्यवस्थालाई नै सरकारले चुनौती दिएको ठहर पनि कांग्रेसले गरेको छ। ‘सरकार स्वेच्छाचारी बाटोमा हिँडेको छ,’ रसाइलीले भने, ‘सरकारका गलत निर्णयलाई रोक्न आगामी दिनमा संसद् र सडकमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने छौं।’

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले संसद्मा पेस भएका विधेयक हेर्दा सरकारले तत्कालीन राजा ज्ञानेन्द्रको शैलीमा शासन चलाउन खोजेको आरोप लगाएका छन्। ‘सरकारले संसद्मा ल्याएको सुरक्षा परिषद, प्रेस र कर सम्बन्धी विधेयकहरू हेर्दा सरकार तत्कालीन राजा ज्ञानेन्द्र शैलीमा अघि बढ्न खोजेको देखिन्छ,’ खाँणले भने, ‘सरकारले राज्यका अरू अंगलाई छायाँ बनाउन खोजेको छ।’ संसद्प्रति सरकार जवाफदेही नभएको आरोप लगाउँदै कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर उत्तेजित बनाउने काम गरेको आरोप लगाएको छ। वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न पनि कांग्रेसले आग्रह गरेको छ।

प्रकाशित: १२ चैत्र २०७५ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App