८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थाइल्यान्डमा ‘कू’पछि पहिलो निर्वाचन

मतदानका लागि राजधानी बैंककस्थित एक मतदान केन्द्रमा लामबद्ध थाई नागरिक । तस्बिर : एजेन्सी

बैंकक – थाइल्यान्डमा सन् २०१४ मा भएको सैन्य ‘कू’पछि पहिलो पटक आम निर्वाचन सम्पन्न भएको छ। पटकपटक स्थगित भएको थाइल्यान्डको आम निर्वाचनका लागि आइतबार भएको मतदानमा उल्लेखनीय रूपमा थाई नागरिकले सहभागिता जनाएको बिबिसीले उल्लेख गरेको छ। 

थाइल्यान्डमा वर्षौदेखि राजनीतिक अस्थीरता कायम रहेको छ। विशेषगरी शक्तिशाली सेना पक्षधर र सत्ताच्युत गरिएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा समर्थकबीचको संघर्षका कारण थाइल्यान्डको राजनीति सधैं तनावग्रस्त रहँदै आएको छ। पछिल्लो पटक सन् २०१४ मा शक्ति हातमा लिएसँगै सेनाले देशको कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र प्रजातन्त्र बहाली गर्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि पटकपटक निर्वाचन स्थगन गर्दै आइरहेको थियो। 

यद्यपि आइतबार भने थाइल्यान्डमा निर्वाचन सम्पन्न भएको छ । तर सेनाले ल्याएको नयाँ संविधानअनुसार आइतबारको मतदानबाट जेजस्तो परिणाम आए पनि सेना नै शक्तिशाली भइरहने आलोचकहरुले आरोप लगाएका छन्। संविधानमै नयाँ संसद्मा सेनाका व्यक्तिको बाक्लो उपस्थितिलाई सुनिश्चित गरिएको छ। यस पटकको निर्वाचनमा पाँच करोडभन्दा बढी थाई नागरिक मतदानका लागि योग्य भएको भए पनि करिब ८० प्रतिशतले मतदान गरेको निर्वाचन अधिकारीहरुले बताएका छन्। 

१८ देखि २६ वर्षभित्रका ७० लाखभन्दा बढी मतदाताले पहिलो पटक मतदान गरेको बताइएको छ। यही उमेर समूह नै आइतबारको निर्वाचनको अन्तिम मत परिणामका लागि निर्णायक हुने अनुमान गरिएको बिबिसीले जनाएको छ। तसर्थ सबै पार्टीले यो उमेर समूहलाई आकर्षण गर्न प्रयास गरेको बताइएको छ। मतदानको अघिल्लो दिन शनिबार साँझ थाइल्यान्डका राजा महा वाजिरालङकर्नले एक विज्ञप्ति जारी गरेका थिए। राजा वाजिरालङकर्नको विज्ञप्तिमा मतदान प्रक्रियाका बेला ‘शान्ति र व्यवस्था’ कायम गर्न आग्रह गरिएको थियो। 

शनिबार साँझ राष्ट्रिय टेलिभिजनमार्फत् सार्वजनिक गरिएको राजा वाजिरालङकर्नको विज्ञप्तिमा राम्रा उम्मेद्वारलाई भोट गर्न आग्रहसमेत गरिएको थियो।  थाई राजाको आह्वानलाई स्थानीय सबैजसो टेलिभिजनले पटकपटक प्रसारण गरेका थिए। पटकपटक स्थगन भएको निर्वाचनका लागि आइतबार विद्यालय, मन्दिर, सरकारी कार्यालय लगायतका ठाउँमा बिहानैदेखि मतदान गर्नेको भीड लागेको थियो। 

आइतबारको निर्वाचनका लागि झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने व्यवस्था गरिएको थियो। निर्वाचन आयोगका अधिकारीका अनुसार ६७ देशमा रहेका ती मतदाताले आइतबारको निर्वाचनमा मतदान गरेका छन्। निर्वाचनमा झण्डै १० हजार उम्मेदवार चुनावी मैदानमा होमिएको बताइएको छ। थाइल्यान्डमा कूल ३५० निर्वाचन क्षेत्र रहेका छन्। हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ। 

थाइल्यान्डको तल्लो सदनमा कायम रहेको सात सय ५० सिटमध्ये आइतबारको निर्वाचनबाट जनताले पाँच सय जनालाई निर्वाचित गर्नेछ। तर थाइल्यान्डको नयाँ संविधानअनुसार बाँकी दुई सय ५० जना भने सेनाले नियुक्त गर्नेछ। आइतबारको निर्वाचनमा विशेषगरी सेना समर्थित दलहरु र थाक्सिन सिनावात्राको गठबन्धनमा रहेका दलहरुबीच प्रतिस्पर्धा हुने बताइएको छ। यद्यपि निर्वाचनमा झण्डै ४० राजनीतिक दलले भाग लिएका छन्। पूर्व प्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई भने अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ। 

थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैन्य कूमार्फत् पदबाट हटाइएको थियो। पदबाट हटाइएपछि उनी स्वघोषित रूपमा निर्वासनमा रहेका छन्। उनलाई पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लगाइएका कारण उनी निर्वासनमा बसेको बताइन्छ। निर्वासनमा रहे पनि उनी थाई राजनीतिको महत्वपूर्ण पात्र हुन्। विशेषगरी थाइल्यान्डको  ग्रामीण क्षेत्रमा उनको पकड बलियो रहेको छ। थाइल्यान्डमा सन् २००१ पछि भएको सम्पूर्ण निर्वाचनमा थाक्सिन समर्थित दलले नै जित हासिल गरेको छ। 

यो निर्वाचनमा भने सिनावात्राको परिवारलाई प्रतिस्पर्धा गर्न बञ्चित गरिएका कारण फ्यू थाई पार्टीले उनको विश्वासिलो पार्टीका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको छ। थाक्सिन सिनावात्राकी बहिनी यिङ्लक सिनावात्रालाई सन् २०१४ मा कूमार्फत् अपदस्थ गरेका सैनिक जनरल प्रयुथ चान–ओचाले सैन्य समर्थनमा भर्खरै खुलेको दल पालङ प्रचा रथ पार्टीको एक मात्र आधिकारिक प्रधानमन्त्रीको उम्मेदवारका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन्। निर्वाचनमा सहभागी अन्य महत्वपूर्ण पार्टीहरुमा पूर्वप्रधानमन्त्री अविसित भेज्जाजिभाले नेतृत्व गरेको डेमोक्र्याट्स र युवा दूरसञ्चार अर्बपति थानाटर्न जुआनग्रुनगु्रआङकिटले नेतृत्व गरेको न्यु फ्युचर फर्वाड पार्टी रहेका छन्। 

 

प्रकाशित: ११ चैत्र २०७५ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App