६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

‘दक्षिण कोरियाको निर्यात दर घट्दो’

सोल – पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसिडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको आइतबार सार्वजनिक एक तथ्याङ्कले देखाएको छ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) द्वारा संकलन गरिएको तथ्याङ्कअनुसार दक्षिण कोरियाको निर्यात दरमा अघिल्लो वर्षको तुलनामा गत जनवरीमा ५.९ प्रतिशतले कमी आएको पाइएको छ। पछिल्लो मुल्याङ्कनअनुसार ओइसिडीका ३२ सदस्य राष्ट्रमध्ये निर्यातका वृद्धिदरका हिसाबले दक्षिण कोरिया २६ स्थानमा पुगेको छ। त्यस्तै ठूला तथा विकसित अर्थतन्त्र भएका १९ मुलुकसहित युरोपेली संघको समूह, जी–ट्वान्टीमध्येका १७ मुलुकमा दक्षिण कोरिया १५ स्थानमा पुगेको तथ्याङ्कमा उल्लेख छ। दक्षिण कोरियाको विदेश निर्यात हुने सामानमा ११.१ प्रतिशतले कमी आएपछि निर्यात दरमा फेब्रुअरीमा थप गिरावट आएको बताइएको छ।

दक्षिण कोरियाको निर्यातमा फेब्रुअरीमा समेत सुधार आउन नसकेको र लगातार तेस्रो महिनासम्म निर्यात दर कमजोर बनेको छ। गत बर्षको डिसेम्बरमा दक्षिण कोरियाको निर्यात दर १.७ प्रतिशतले कमी आएको थियो। निर्यात दरमा देखिएको गिरावटको कारण विश्व बजारको व्यापारमा देखिएको आधारभूत असर तथा दक्षिण कोरियाली सामानको मूल्य खासगरी मोबाइललगायतका विद्युतीय सामानमा आएको गिरावट जिम्मेवार देखिएको तथ्याङ्कबाट देखिएको छ। 

‘विश्व व्यापारमा देखिएको मन्दीका समय दक्षिण कोरियाको निर्यात अन्य विकसित मुलुकको तुलनामा निकै उच्च गिरावट देखिएको हो। दक्षिण कोरियाको विद्युतीय तथा अन्य प्रबिधिजन्य सामानको चिप्सका लागि अन्य मुलुकसँग निर्भरता रहने गर्छ, जसका कारण विदेशी भूमिमा पर्ने प्रभावको असर सोलले पनि सामना गर्ने गरेको छ,’ दक्षिण कोरियाको केन्द्रीय बैंकका एक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापले जनाएको छ। 

चीन–अमेरिका व्यापार विवादका कारण विश्वव्यापी प्रभावसहित पानीजहाज र रासायनिक सामानको निर्यातमा पनि अपेक्षाकृत परिणाम प्राप्त गर्न नसक्नु पनि निर्यात दरमा देखिएको कमजोर अवस्थाका कारक रहेका उनले बताए। जनवरीको परिणाम हेर्दा अघिल्लो बर्षको समग्र कारोबारभन्दा चिप्सको व्यापारमा २३.३ प्रतिशतको कमी देखिएको थियो भने पानीजहाजका सामान तथा पेट्रोकेमिकलजन्य सामनमा क्रमशः १७.८ र ४.८ प्रतिशतले गिरावट आएको थियो। उनले भने, ‘तर हामीले चिप्सको समुद्रपारको बजार र नयाँ पानीजहाजको मागलाई सतर्कतासाथ सम्बोधन गर्दै निर्यात बजारलाई सुधारतर्फ लाने प्रयास भइरहेको छ।’

 

प्रकाशित: ११ चैत्र २०७५ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App