१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कम हुँदै एसइई त्रास, पहिलो दिन शान्तिपूर्ण

काठमाडौं - आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा केही छिटपुट घटनाबाहेक सातै प्रदेशमा मर्यादित रुपमा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आइतबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भयो। बोर्डका अनुसार प्रदेश सरकार र राष्ट्रिय परीक्षा बोर्डले अब विद्यार्थीमा एसइई परीक्षा सहज बन्दै गएको बताएका छन्। यस वर्ष एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले गरेको छ।

ग्रेडिङ लागू भए पनि गत वर्षसम्म तराईमा परीक्षाको समय होहल्ला हुने गरेकोमा यस वर्ष मन्त्रालयले सचेतना कार्यक्रम सञ्चालन गरेर परीक्षा व्यवस्थित र मर्यादित गराएको प्रदेश २ मा समाजिक विकास मन्त्री नवलकिसोर साहले बताए। ‘हामी परीक्षा सुरु हुनु केही दिन अघिदेखि नै विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयसँग पटिकपटक छलफल गरी मर्यादित बनाउनेतर्फ संवेदनशील भयौं,’ मन्त्री साहले भने। उनले प्रदेश सरकारको मन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीहरुको सहकार्यमा परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सकिएको बताए।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसइई परीक्षामा ग्रेडिङ प्रणाली कार्यान्वयन भएसँगै विद्यार्थीहरुमा परीक्षाको त्रास कम भएको र अभिभावकमा समेत चोराएर पास हुँदा पछि अवसर गुम्ने चेतना जागेकाले यस वर्षको परीक्षा व्यवस्थित र मर्यादित बनेको दाबी गरे। ‘केही छुटपुट घटनाबाहेक सबैतिर शान्तिपुर्ण रह्यो,’ अध्यक्ष पौडेलले भने, ‘परीक्षामा कम नम्बर आए पनि गे्रड वृद्धि परीक्षा भइहाल्छ। नतिजा राम्रो हुने नै भयो। पासफेलको सिस्टम हटेपछि विद्यार्थीले आपूmलाई सुरक्षित महसुस गर्न थाले।’

कक्षा १० का परीक्षा नियन्त्रक विष्णुहरि अधिकारीले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष कुल ४ लाख ७५ हजार ३ विद्यार्थीले एसइईमा सहभागिता जनाउँदै छन्। जसमध्ये सरकारी स्कुलबाट ३ लाख ४० हजार १ सय ९६ छन्। कुल परीक्षार्थीमध्ये सरकारी स्कुलको ७१.६१ प्रतिशत सहभागिता रहेको छ। निजी विद्यालयबाट एक लाख ३४ हजार ८ सय ७ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन संख्या कुल विद्यार्थीको २८.५८ प्रतिशत मात्र हो।

अध्यक्ष पौडेलले यस वर्ष पहिलो पटक अनिवार्य विषयमा सातवटै प्रदेशमा छुट्टाछुट्टै प्रश्न तयार पारिएको बताए। चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा संस्कृत र प्राविधिक विषयको प्रश्न भने सबै प्रदेशमा एकै खालेको हुनेछ। ‘राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष प्रश्नपत्र तयारी, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन र प्रमाणपत्र दिने काम मात्र गर्छ,’ पौडेलले भने, ‘यसका अतिरिक्त परीक्षाका सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकोको हो।’

परीक्षा नियन्त्रणक विष्णुहरि अधिकारीका अनुसार यस वर्ष कुल ४ लाख ७५ हजार विद्यार्थीले एक हजार ९ सय ६९ परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्। उनले सबैभन्दा बढी विद्यार्थी प्रदेश नम्बर तीनबाट सहभागी छन्। यो प्रदेशमा एक लाख ६ हजार २ रहेका छन् भने सबै भन्दा कम ६ नम्बर प्रदेशबाट रहेका छन् यो प्रदेशबाट ३५ हजार ६ सय २४ सहभागी छन्।

सरकारीबाट सहभागिता जनाउने कुल परीक्षार्थीमध्ये छात्राहरु एक लाख ८१ हजार ८ सय ७ रहेका छन् भने छात्रहरु एक लाख ५८ हजार ३ सय ८९ सहभागी छन्। सरकारीबाट ५३.४४ प्रतिशत छात्राहरुको सहभागी छन् भने छात्रहरु ४६.५५ प्रतिशत रहेका छन्। निजी विद्यालयबाट सहभागी छात्रहरुको प्रतिशत ५७.९० छ भने छात्राहरु ४२ प्रतिशत मात्र छन्। जसमध्ये छात्रहरु ७८ हजार ५६ रहेका छन् भने छात्राहरु ५६ हजार ७ सय ५१ मात्र। प्रदेश २ मा ३७ हजार ४१ छात्रहरु परीक्षामा सहभागिता जनाउँदै छन् भने छात्राहरुको संख्या ३३ हजार ५ सय २७ मात्र छ। यसैगरी प्रदेश ५ मा ३९ हजार ८ सय ८९ छोराहरुको सहभागिता छ भने छोरीहरु ३७ हजार ९४ मात्र सहभागिता जनाउँदै छन्। प्रदेश एक, तीन, चार, छ र सातमा छात्राहरु बढी छन्।

प्रकाशित: ११ चैत्र २०७५ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App