८ वैशाख २०८१ शनिबार
समाज

पाँचतिरबाट सडक जोड्ने योजना

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी। तस्बिर:दमन राई/नागरिक

खोटाङ – सरकारद्वारा सूचीकृत सय गन्तव्यमध्ये एक खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीनतिरबाट सडकले छोएको छ। तराईबाट उदयपुरको गाईघाट हुँदै साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौर–सिन्ताङ सडक, गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेंसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक विस्तार गरिएसँगै बराहपोखरी तीनतिरबाट सडक सञ्जालसँग जोडिएको हो।

पर्यटन प्रवद्र्धनका लागि तीन वर्षको अवधिमा बराहपोखरीलाई पाँचतिरबाट सडकले छुनेगरी सडक विस्तारको क्रम अघि बढाइएको बराहपोखरी गाउँपालिका–१ का अध्यक्ष टंककुमार मगरले बताए। गन्तव्यस्थलका रूपमा विकास गर्न २०७२ सालमा गाईघाट–साउने–धाप्लाङ हुँदै साउनेचौर–सिन्ताङ सडक र २०७४ सालमा गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेंसी सडकमार्फत बराहपोखरीलाई जोडिएको थियो। पछिल्लो समय गत मंसिर २ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरी जोड्ने सडक निर्माण गरिएको हो। योसँगै दिक्तेलबजारबाट रसुवाघाट–खोटाङबजार तथा दिक्तेल–खोटाङबजार सडकमार्फत पनि बराहपोखरी पुग्न सकिने वातावरण बनेको छ।

प्रचार–प्रसारको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन विकासका लागि बराहपोखरीतर्फबाट गहते–सावाखोला–खोटाङबजार र रुम्दु–अजिंगरे–फोक्सिङटार सडक निर्माणको काम भइरहेको वडाध्यक्ष मगरले बताए। मगरका अनुसार गहते–सावाखोला–खोटाङबजार जोड्न करिब एक किलोमिटर र रुम्दु–अजिंगरे–फोक्सिङटार सडक पूरा हुन तीन किलो मिटरमात्र बाँकी रहेको छ।

बराहपोखरी–रुम्दु–अजिंगरे–फोक्सिङटार सडक पूरा भएपछि गाईघाटबाट फोक्सिङटार हुँदै बराहपोखरी पुग्ने अर्को छोटो मार्ग खुल्ने मगरले बताए। ‘अहिलेसम्म बराहपोखरी जोड्ने तीन वटा सडक बनिसकेको छ,’ वडाध्यक्ष मगरले भने, ‘थप दुई वटा बाटोले पनि चाँडै बराहपोखरीलाई जोड्ने लक्ष्यका साथ काम भइरहेको छ।

४.४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरी जोड्ने सडकको पहुँच विस्तारसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्न थालेको स्थानीय बताउँछन्। चारैतिर पहाडले घेरिएको बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा बाहिरबाट ठुलो संख्यामा पर्यटक एवं दर्शनार्थी आउने गरेका छन्। तीन सय ३० मिटर लम्बाई र दुई सय १० मिटर चौडाई भएको बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुनुका साथै मनोकांक्षा पूरा हुने मान्यता रहेको छ। मुहान र निकास नदेखिने पोखरीमा प्रशस्त मात्रामा रातो माछा पाइने गरेको छ।

पोखरीको सतह घट्न नदिन खोलाको पानी
धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको सतह घट्न नदिन राँकुली खोला, कोकाखुन्द्रे खोला र भिरखापा शिरको गरी तीनवटा स्रोतको पानी हालिएको छ। २०७२ सालको भूकम्पपछि बराहपोखरीको पानीको सतह घट्दै गएको थियो। बराहपोखरीमा पानीको सतह घट्न नदिन पाइपमार्फत पानी हालिएको वडाध्यक्ष मगरले बताए। बराहपोखरीको पानी भित्रभित्रै साबिकको बराहपोखरी–४ भुल्केमा निकास हुने गरेको स्थानीय बताउँछन्। बराहपोखरीमा हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिवरात्रि र रामनवमीमा मेला लाग्ने गर्छ।

प्रकाशित: ११ चैत्र २०७५ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App