coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

सर्लाही - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

मधेसको उर्वर भूमिका लागि सिँचाइको व्यवस्था गर्न सुनकोसी डाइभर्सनलगायत काम तीव्र गतिमा अगाडि बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानीजहाजमै रुमलिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताए। ‘मुलुकको समृद्धिका लागि तराईको उर्वर भूमिमा सिँचाइको व्यापकता हुनुपर्छ, कृषिमा यान्त्रीकरण गर्नुपर्छ,’ पौडेलले सरकारप्रति प्रश्न तेस्र्याए, ‘तर समृद्धिको एकोहोरो नारा रट्ने वर्तमान सरकारले तराई मधेसलाई आवश्यकता पर्ने यस्ता कुरामा पटक्कै ध्यान दिएको छैन, खाली पानीजहाज मात्र भन्छ, के पानीजहाजले समृद्धि सम्भव छ ?’

‘मुलुकको समृद्धिका लागि तराईको उर्वर भूमिमा सिँचाइको व्यापकता हुनुपर्छ, कृषिमा यान्त्रीकरण गर्नुपर्छ। तर समृद्धिको एकोहोरो नारा रट्ने वर्तमान सरकारले तराई मधेसलाई आवश्यकता पर्ने यस्ता कुरामा पटक्कै ध्यान दिएको छैन, खाली पानीजहाज मात्र भन्छ, के पानीजहाजले समृद्धि सम्भव छ ?’

समृद्धिको नारा दिँदै वर्तमान सरकार चुर्लुम्म भ्रष्टाचारमा डुबेको पौडेलले आरोप लगाए। ‘एक वर्षको कार्यशैलीले विकास, सुशासन र समृद्धिको सवालमा वर्तमान सरकार पूर्णरूपले असफल भइसकेको छ,’ पौडेलले दाबी गरे, ‘संघीयताको मर्मविपरीत वर्तमान सरकारले अधिकारलाई केन्द्रीकरण गर्दै सर्वसत्तावाद र अधिनायकवादको बाटोबाट जताततै भ्रष्टाचार गरिरहेको छ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुखिया र खरिदार तहका कर्मचारीलाई मात्र पक्राउ गर्ने र अर्बौ रुपैयाँको भ्रष्टाचारमा हातै नहालेको पौडेलको गुनासो थियो।

मधेसका नेताहरू उपेन्द्र यादव र राजेन्द्र महतोहरु मन्त्री पदका लागि हिजो मधेस र मधेसी जनतालाई निषेध गर्ने केपी ओलीसँगै घाँटी जोडेर चाकडी गरिरहेको समेत पौडेलले आरोप लगाए। ‘उपेन्द्र यादव र राजेन्द्र महतोलगायत मधेसी दलका नेता मधेसको हितभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त भएका छन्,’ उनले भने, ‘केपी ओलीसँग गला मिलाउनु यसको ज्वलन्त उदाहरण हो, जुन कुरा मधेसी जनताले बुभ्mनु जरुरी छ।’

लोकतन्त्र, कांग्रेस र मधेश एक अर्काका परिपूरक भएको उल्लेख गर्दै नेता पौडेलले मधेसलाई माया गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस नै भएको दाबी गरे। ‘तराई मधेसमा बाढी जाँदा होस् वा खडेरी पर्दा होस्,’ उनले थपे, ‘कांग्रेसले नै मलमपट्टी लगाउँदै आएको छ र भविष्यमा पनि मधस हितका लागि कांग्रेसको विकल्प छैन।’ सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले यति धेरै भ्रष्टाचार इतिहासमै नभएको उल्लेख गर्दै समृद्धिको नारा दिएर कम्युनिस्टले मुलुकलाई नांगो बनाउदै लगेको आरोप लगाए। सभामा कांग्रेस नेताहरू मो. आफताव आलम, मिना पाण्डे, सरोज यादव, कृष्णदेव यादव, डा. अमरेशकुमार सिंहलगायतले सम्बोधन गरेका थिए।

लामो समयपछि नेताहरू एउटै मञ्चमा
लामो समयपछि सर्लाही स्थित फरक–फरक गुटका कांग्रेसी नेताहरू एउटै मञ्चमा देखिएका छन्। आइतबार सदरमुकाम मलंगवामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित आमसभामा फरक फरक गुटका जिल्ला स्तरीय नेताहरु एकै ठाउँ देखिएका हुन्। सभामा मन्तव्य राख्ने क्रममै नेता पौडेलले पार्टी नेताहरूबीच वैमनस्यता रहेको र एक ठाउँमा बस्ने वातावण तयार हुँदै गएको संकेत गरे। ‘म आजको मञ्चमा पूर्वजिल्ला सभापति र वर्तमान सभापतिलाई सँगै राखेर तपाईंहरूसमक्ष मन्तव्य राख्न उपस्थित भएको छु’, मन्तव्यको सूरुवातमै उनले भने, ‘कांग्रेस–कांग्रेसबीचकै मनमुटाव र गुटउपगुट अन्त्य गर्न म तराई मधेश दौडाहाका क्रममा सर्लाही आएको हुँ।’

सर्लाहीमा संस्थापन पक्षको नेतृत्व जिल्ला सभापति नागेन्द्र कुमार राय र पौडेल पक्षको नेतृत्व लक्ष्मण रायले गर्दै आएका छन्। झण्डै तीनवर्ष यता जिल्लामा हुने ठूला–ठूला कार्यक्रममा यी दुवै नेताको एउटै मञ्चमा उपस्थिति हुने गरेको थिएन। तर वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता रहेको आइतबारको आमसभाको अध्यक्षता वर्तमान सभापति नागेन्द्रले गरेका थिए भने उनी निकट उपसभापति सुरेन्द्रकुमार सिंह, पूर्व सांसद् हरेश महतो, प्रदेश सांसद उपेन्द्र कुशवाहा लगायत नेताको मञ्चमा बाक्लै उपस्थिति रहेको थियो।

यसअघि पौडेलकै प्रमुख आतिथ्यतामा सदरमुकाम नजिक गम्हरियामा आयोजित आमसभामा जिल्ला सभापति नागेन्द्र राय सहित उनी निकट नेता कार्यकर्ताको उपस्थिती नै थिएन। त्यस्तै यसअघि जिल्लाकै दक्षिणी क्षेत्रस्थित पश्चिम धनकौलमा महामन्त्री शशांक कोइराला र प्रभावशाली केन्द्रीय सदस्य शेखर कोइरालाको प्रमुख आतिथ्यता रहेको छुट्टाछुट्टै आमसभामा पनि एकअर्का गुटका जिल्ला स्तरीय नेताहरुको उपस्थित थिएन।

केन्द्रीय नेता जिल्ला आउँदा स्थानीय नेतृत्वलाई भन्दा पनि आफू निकट कार्यकतालाई समात्ने प्रवृत्तिले सर्लाहीमा गुटउपगुट छताछुल्ल भएको एक कार्यकर्ताले बताए। यसअघिका कार्यक्रममा आउने नेताले आफूलाई कुनै खबर नगर्ने गरेकाले उपस्थित नभएको जिल्ला सभापति नागेन्द्र रायले जानकारी दिए। ‘यसपटक रामचन्द्र दाईले पहिला नै मलाई जिल्ला आउँदैछु, कार्यक्रम तय गर भन्नुभयो, त्यसैले उखुको सिजन भए पनि कार्यक्रम सफल पार्न भिडेर तयारी गरेँ,’ उनले भने, ‘एउटै मञ्चमा देखिनु सतहमा एकताको सन्देश आए पनि भित्रभित्र अझै समस्या छ।’

प्रकाशित: ११ चैत्र २०७५ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App