४ वैशाख २०८१ मंगलबार
राजनीति

आकस्मिक कोष तथा प्रदेश बीउबीजनसम्बन्धी विधेयक पारित

बुटवल - प्रदेश ५ मा प्रदेश आकस्मिक कोष र प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकले यी दुई वटा विधेयक पारित गरेको हो। 

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेस गरेको प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।

बैठकले सामाजिक विकास मन्त्री सुदर्शन बरालले पेस गरेको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभा सामाजिक विकास समितिमा पठाउने निर्णय पनि गरेको छ। 

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे। प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदन पनि बैठकमा पेस गरे।

प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहे पनि सो विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले सहभागिता जनाएनन्। प्रदेशसभाको अर्को बैठक चैत १८ गते दिउँसो १ बजे बस्ने छ।

सभामुखद्वारा रुलिङ

आइतबार  प्रदेशसभा बैठक सकिनुअघि सभामुख पूर्णबहादुर घर्तीले समितिमा रहेका विधेयकमाथि छलफल गरेर छिटो टुंग्याउन प्रदेशसभा सदस्यहरुलाई रुलिङ गरेका थिए।

सभामुख घर्तीले विषयगत समितिका बैठकहरुमा समितिका सदस्यहरुको उपस्थिति न्यून रहने गरेको भन्दै समितिका बैठकहरुमा नियमित उपस्थित हुनसमेत सांसदहरुलाई रुलिङ गरेका हुन्।

 

 

प्रकाशित: १० चैत्र २०७५ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App