८ वैशाख २०८१ शनिबार
समाज

जथाभावी नदी उत्खननले बीपी राजमार्ग जोखिममा

सिन्धुली - सुनकोसी नदीमा सञ्चालित मापदण्डविपरीतका क्रसर उद्योगले जथाभावी नदी उत्खनन गर्दा बीपी राजमार्ग जोखिममा देखिएको छ। राजमार्गकै छेउमा बालुवा प्रशोधन उद्योगको नाममा राजमार्ग आसपास अधिकांश क्रसर उद्योग सञ्चालित छन्। सञ्चालनमा आएका प्रायः उद्योग मापदण्डअनुसार छैनन्। 

व्यवसायीले जथाभावी उत्खनन गर्दा राजमार्ग नै धसिने अवस्थामा पुगेको हो। केही दिनअघि क्रसरको अनुगमन गर्न पुगेको जिल्ला अनुगमन समितिले आफूहरुले अनुगमन गरेको जति सबै उद्योग मापदण्डविपरीत रहेको जनाएको छ। सुनकोसीमा सञ्चालित दर्जनौं क्रसर तथा बालुवा उद्योगमध्ये पाँच ओटा उद्योगमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो।

पारम्भिक रुपमा भएको अनुगमनमा नियमविपरीत सञ्चालन भएको पाइएको जिल्ला अनुगमन समितिले जनाएको छ। नियमअनुसार राजमार्गबाट पाँच सय मिटरको दूरीमा मात्रै क्रसर उद्योग सञ्चालन गर्न अनुमति पाइने भए पनि जनप्रतिनिधि र राजनीतिक दलकै आडमा व्यवसायीले जथाभावी क्रसर बालुवा उद्योग दर्ता गरी नियमविपरीत सञ्चालन गर्दा राजमार्ग धरापमा परेको हो। कागजात र अनुमतिपत्रमा बालुवा धुने भनी उल्लेख भए पनि व्यवसायीले जथाभावी गिट्टी उत्पादन गरी बेचिरहेका छन्। 

व्यवसायीहरुले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन गरी दोहन गरेको गुनासो बढेपछि सुनकोसी गाउँपालिकास्थित सुनकोसी नदीमा सञ्चालित केही बालुवा उद्योगमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो।

अनुगमन गर्दा धेरै मापदण्ड विपरीत पाइयो, जिल्ला अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख शंकराज बर्मा तिवारीले भने, ‘बालुवा प्रशोधन उद्योगका नाममा क्रसर चलेको देखियो।’ बाँकी उद्योगमा पनि समय मिलाएर अनुगमन गरिने उनले जनाए।

स्थानीय तहले बालुवा प्रशोधन उद्योगका नाममा धमाधम लाइसेन्स दिएपछि व्यवसायीहरुले सुनकोसी दोहन भएको गुनासो गर्न थालेका छन्। बालुवा तथा गिट्टी बोकेका टिपर चल्दा राजमार्ग खाल्डा बढ्दै गएका छन्। त्यस्तै  राजमार्ग र पुलकै नजिक क्रसर राखिँदा राजमार्गनै धसिने सम्भावना छ। 

एसियाकै पर्यटकीय मानिने बीपी मार्ग जोखिममा पारी जथाभावी दोहन हुन थालेको स्थानीय बताउँछन्। अनुगमनमै सामेल भएका एक अधिकारीले राजमार्ग र बस्ती नजिक क्रसर उद्योग सञ्चालन गर्न नपाइने भए पनि पहुँचका आडमा जथाभावी उत्खनन् र सञ्चालन भएको बताए। 

नियमाअनुसार बालुवा प्रशोधन उद्योगले ठूला उपकरण चलाउन नपाउने भए पनि नदीमा व्यवसायीहरुले जथाभावी ठूला उपकरण चलाई दोहन गर्दै आएका छन्। स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएको दुई बर्ष नबित्दै सुनकोसी तहसनहस भएको स्थानीय स्वयं बताउँछन्।

व्यवसायीहरुको दादागिरीका कारण स्थानियले विरोधमा बोल्न सक्ने अवस्थासमेत नरहेको स्थानीयको गुनासो छ। एक स्थानियले नाम उल्लेख नगर्न भन्दै जनप्रतिनिधिकै संरक्षणमा सुनकोसी दोहन भएको बताए। ‘वडाध्यक्षका घरपरिवारकै सदस्यको नाममा क्रसर खोलिएको छ’, उनले भने, ‘तिनीहरुलाई न स्थानीय सरकारले कारवाही गर्न सक्छ न कारवाही गर्ने चासो नै देखाउँछ।’

सुनकोसीबाट ढुंगा,गिट्टी बालुवा निकाल्ने बाहनामा चरम दोहन हुँदा समेत स्थानिय सरकार र जिल्ला अनुगमन समितिले समेत खासै वास्ता नगर्दा सुनकोसी उत्खनन् गर्न होडबाजीनै चल्न थालेको छ। 

प्रकाशित: १० चैत्र २०७५ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App