coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका जंगलमा जताततै डढेलो, तीन दिनमा ६० सामुदायिक वन र चुरे जंगल नष्ट

त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगलमा लागेको डढेलो । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरका प्रायः सबैजसो जंगलमा ३ दिनयता फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ। सदरमुकामदेखि पूर्व, उत्तर, पश्चिम र दक्षिणीभेगका अधिकांश वनजंगलमा फैलिएको डढेलो साँझ परेसँगै गाईघाटदेखि प्रष्ट देखिने गरेको छ।

खासगरी साउने, खाँबु, चिलाउने, असारी, हडिया, जोगीदह, मोतिगडा, ठाडी र पश्चिमतर्फका राष्ट्रपति चुरे कार्यक्रम लागू भएको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायले प्रभावकारी काम गर्न नभएको स्थानीयको गुनासो छ। ३ दिनयता चारैतिर लागेको डढेलोले ६० भन्दा बढी सामुदायिक वन समिति र राष्ट्रिय वनक्षेत्रको सयौं हेक्टर वन नष्ट भएको स्थानीयको भनाई छ।

‘नियन्त्रणको प्रयास भएको भए हिजोभन्दा आज, आजभन्दा भोली डढेलो बढ्नुनपर्ने हो’ गाईघाटका सन्देश राईले भने, ‘बरु झन् झन् बढेको बढेकै देखिन्छ, प्रयासै नभएको पो हो कि ?’ सदरमुकाम आसपास सुरुमा आधादर्जन सामुदायिक वन र राष्ट्रिय वनक्षेत्रमा लागेको डढेलो अनियन्त्रित भएर निभाउँनै नसक्ने अवस्थामा पुगेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख (डिएफओ) विष्णुप्रसाद आचार्यले गाईघाट सव डिभिजन र देउरी सव डिभिजनभित्र पर्ने अधिकतर सामुदायिक वन र चुरेक्षेत्रको राष्ट्रिय वनमा केहीदिनयता डढेलो फैलिएको र नियन्त्रण गर्न मुस्किल परिरहेको पुष्टि गरे।

आचार्यले गाईघाट सव डिभिजनअन्तर्गतका ४२ र देउरी सव डिभिजनभित्र पर्ने ३७ मध्ये अधिकांश समितिका जंगलमा डढेलो लागेको जानकारी आएको बताए। उनका अनुसार दुई महिना अघिदेखि वर्षा नहुँदा सुख्खा बढ्दै जानुसँगै गर्मी चर्कदै गइरहेका बेला हावाहुरीकले डढेलो सहजै लाग्ने गरेको तर नियन्त्रण गर्न गाह्रो भइरहेको छ।

कार्यालयको काममा ३ दिनअघि विदा लिएर मन्त्रालय हिँडेकोमा डढेलो लागेको फोन २÷४ ठाउँबाट आएपछि हेटौंडा नपुग्दै जिल्ला फर्केर डढेलो नियन्त्रणको प्रयासमा लागेको आचार्यले बताए। उनले होलीकै दिनदेखि लागेको डढेलो नियन्त्रण गर्न अधिकांश कर्मचारी होली मनाउँन विदा लिएर घर गएको मौका परेकाले जनशक्ति परिचालन गर्न थप समस्या परेको कठिनाई देखाए।

आचार्यले उपलब्ध सबै कर्मचारीलाई डढेलो क्षेत्रमा पठाएर सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्ता परिचालन गर्दै डढेलो नियन्त्रणका सबै उपया अवलम्बन गर्न निर्देशन दिएको बताएका छन्। डिभिजन वनले डढेलो नियन्त्रण गर्न र आगामी दिनमा लाग्न नदिन सचेतना कार्यक्रम चलाउन थालेको र नलागेको ठाउँमा लाग्न नदिन उपभोक्ता र समिति पदाधिकारीलाई सचेत गराउँन विविध चेतनामूलक कार्यक्रम आयोजना गर्ने काम भइरहेको जनाएको छ।

खासगरी स्थानीय सामुदायिक वन समितिसँगको साझेदारीमा प्रभावकारी हुने भएकाले त्यसै अनुरुप कार्यक्रम गर्न थालेको र आगामी दिनमा डढेलोबाट बचाउन सामुहिक कार्ययोजना निर्माणमा लागेको डिभिजनले जनाएको छ।

उदयपुरमा गाईघाट र कटारी त्रिबेणी गरी २ वटा डिभिजन र १६ वटा सबडिभिजन कार्यालय क्रियासिल छन्। गाईघाट डिभिजनमातहत ८ वटा सबडिभिजन र त्यसभित्र १ सय ९९ वटा सामुदायिक वन समिति तथा राष्ट्रिय वनक्षेत्र छन्। त्यस्तै डिभिजन कार्यालय कटारी त्रिबेणीमातहत पनि ८ वटै सबडिभिजन, १ सय ४७ वन समिति र राष्ट्रिय वनक्षेत्र रहेका छन्। 

प्रकाशित: १० चैत्र २०७५ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App