coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुष्प खेतीलाई प्रोत्साहित गर्छौं : कृषि राज्यमन्त्री

काठमाडौं – फूलको बजार प्रवर्द्धन गर्नका लागि शुक्रबारदेखि राजधानीमा तीनदिने २२ औं फ्लोरा एक्स्पो सुरु भएको छ। उक्त एक्स्पोको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमार चौधरी (रोजिना)ले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान  गरेकाले प्रोत्साहित गर्नुपर्ने बताइन्।

‘स्वदेशमा उत्पादन बढाएर विदेशबाट आयात हुने फूलको दर पूर्ण रुपमा विस्थापित गर्नुपर्छ,’ उनले भनिन्, ‘राज्यले सहयोग उपलब्ध गराउन तयार छ।’ फूलको औद्योगिकीकरण गरी वैकल्पिक उत्पादन प्राकृतिक इत्र, रंग, मेकअपका सामग्री  तथा आयुर्वेदमा आधारित औषधि पनि उत्पादन गर्नुपर्नेमा जोड दिइन्।

पुष्प क्षेत्रको विकास र विस्तार गर्न मन्त्रालय सहकार्य गरेर पुष्प खेतीलाई प्रोत्साहित गर्ने मन्त्री चौधरीले बताइन्। पुष्प क्षेत्रको विकास र विस्तार भए पनि अनुसन्धानतर्फ भने अपेक्षित रुपमा काम हुन नसकेको बताइन्।

कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले मेला आयोजना गरेको हो। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले पुष्प क्षेत्रलाई अहिले प्रादेशिक सरकारअन्तर्गत राखिएको जानकारी दिए। मुलुक संघीय प्रणालीमा गएपछि कृषिका विभिन्न क्षेत्रमा अहिले उत्पादन वृद्धिका लागि शुक्ष्म रुपमा काम गर्न लागिएको जानकारी दिए। ‘भारत वा अन्य मुलुकमा नेपालबाट निर्यात हुने पुष्पमा लाग्ने विभिन्न प्रकारका कर सूचीबाट हटाउन अर्थ मन्त्रालयलाई सिफारिश गरिएको छ,’ उनले भने, ‘मौलिक जातका नेपाली पुष्पको जगेर्ना गर्नुपर्ने आवश्यकता छ।’

जिसीले पुष्पमा मुलुकलाई आत्मनिर्भर बनाउन टिस्यु कल्चर र आधुनिक प्रविधिलाई परिचालन गर्नुपर्नेमा जोढ दिए। कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा वार्षिक दुई सय करोड रुपैयाँको पुष्प कारोबार हुने गरेको जानकारी गराए। भ्यालेन्टाइन डे, तिहार र जाडो याममा हुने पुष्पको आयात दरलाई विस्थापन गर्न जग्गा, प्रविधि, बीउ र भण्डारणको अभाव रहेको बताए। ‘खेर गइरहेको र बाँझो अवस्थामा रहेका २५ सयदेखि ३५ सय मिटर उचाइको जग्गा सहुलियत दरमा भाडामा राज्यले उपलब्ध गराउनु पर्छ,’ उनले भने, ‘यति गर्न सके यो क्षेत्रले वार्षिक १० अर्बभन्दा बढी  कारोबार गर्न सक्छ।’

प्रदेश ३ सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालले आफ्नो मन्त्रालयले पुष्प खेती र व्यवसायलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। पुष्प क्षेत्रलाई प्रवद्र्धन गर्न प्रादेशिक मन्त्रालयले पुष्प प्रवद्र्धन नीति तयार पार्नुका साथै चालु आर्थिक वर्षमा कार्यक्रम र बजेटसमेत विनियोजन गरिएको गदालले जानकारी दिए।

कार्यक्रममा फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठले कृषिजन्य वस्तुको प्रदर्शनी गर्न प्रदर्शनी गृहको अभाव रहेको औल्याए। मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच स्वच्छ प्रतिस्पर्धा गराई सम्मानित गरिएको थियो। महालक्ष्मी फ्लावर डेकोर, ओम नर्सरी, रेड रोज नर्सरी, अजिमा नर्सरी, फ्रेस फ्लावर हाउस, लालिगुरास पुष्प कृषक केन्द्र, इचंगुनारायण नर्सरीलगायतलाई सम्मान गरिएको थियो।

तीनदिने मेलामा करिब ५० हजारले अवलोकन गर्ने र ६० लाख रुपैयाँको व्यावसायिक कारोबार हुने आयोजनकको अपेक्षा छ। हाल मुलुकका ४३ जिल्लामा पुष्प व्यवसाय बिस्तार भएको छ। करिब एक सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ। पुष्प व्यवसयमा ४३ हजार पाँच सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्।

प्रकाशित: १० चैत्र २०७५ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App