६ वैशाख २०८१ बिहीबार
अर्थ

ब्याज नघट्दा उकालो लागेन सेयर

काठमाडौं - लामो समयदेखि सेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण सेयर धितोमा राखेर दिने कर्जाको ब्याज चर्को हुनु रहेको सरोकारवालाले बताएका छन्। बैंक, वित्तीय संस्थाहरुले सेयर धितो राखेर १४–१५ प्रतिशत ब्याजमा ऋण दिँदै आएका छन्। यस्तो चर्को ब्याजमा लिएको ऋणले सेयर खरिद गर्दा आम्दानी नहुने देखेर लगानीकर्ताले सेयर किन्न नचाहेका हुन्।

बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै चर्को ब्याज लिएका कारण सेयर बजार उकालो लाग्न नसकेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए। ‘ब्याजदर नघटेका कारण सेयर बजार सप्रिन सकेको छैन,’ उनले नागरिकसँग भने, ‘१४–१५ प्रतिशत ब्याजमा ऋण लिएर लगानी गर्दा फाइदा हुँदैन, त्यसैले पनि सेयर बजार बढ्न नसकेको हो।’

सेयर बजारमा गिरावट आउनुमा ब्याजका अतिरिक्त अत्यधिक आपूर्ति पनि कारण भएको उनको भनाइ छ। ‘बिमा, जलविद्युत् कम्पनीको प्राथमिक सेयर बजारमा आएकाले पनि बजार उकालो लाग्न नसकेको हो,’ रौनियारले भने, ‘लगानी त्यतातिर केन्द्रित भएको छ।’ प्राथमिक सेयरले धेरै पैसा तान्ने काम गरेकोले त्यसको असर दोस्रो बजारमा परेको उनको भनाइ छ।

सेयर धितो राखेर बैंक, वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न लगानीकर्तामाथि दबाब पर्न थालेको छ। वित्तीय संस्थाले चैत मसान्तभित्र ब्याज तिर्न दबाब दिन थालेपछि लगानीकर्ताले सेयर बिक्री गर्न थालेका छन्। बैंक, वित्तीय संस्थाहरू चैतसम्मको वित्तीय विवरण प्रकाशित गर्ने तरखरमा छन्। त्यसअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता सेयर लगानीकर्तालाई छ।

खासगरी चैतको मध्यतिर सेयर बिक्रीको चाप बढ्ने र मूल्य पनि घट्न सक्ने भएकाले लगानीकर्ताहरू त्योभन्दा पहिले नै सेयर बिक्री गरेर ब्याज बुझाउने तयारीमा लागेका छन्। उनीहरू मानसिक रूपमा चैत मसान्तकोे प्रभाव पर्नुअघि नै सेयर बिक्रीको तयारीमा देखिएको एक ब्रोकर बताउँछन्। ‘बैंक, वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ताहरू सेयर खरिदभन्दा बिक्री गर्नेतिर लागेका छन्,’ उनले भने, ‘बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण पनि सेयर बजारमा गिरावट आएको छ।’

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा निश्चित समयावधिमा असुल नभए नोक्सानि व्यवस्था गर्नुपर्ने (प्रोभिजनिङ) नियम राष्ट्र बैंकले लगाएको छ। त्यसैले पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा तीव्रता दिएका छन्। लगानीकर्तालाई चैत मसान्तको प्रभाव आगामी साता अझै बढी पर्ने ब्रोकरहरुको तर्क छ। ‘लगानीकर्ताहरू चैत मसान्तको प्रभाव पर्नुअघि नै सजग भएको देखिन्छ,’ विश्लेषक भन्छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लाग्नुको एउटा कारणमा चैत मसान्तको प्रभावलाई पनि लिने गरिन्छ। नेप्से परिसूचक यो साता २०.८५ अंकले घटेका कारण पनि लगानीकर्ता ब्याजको दबाबमा परेको संकेत मिल्छ। यो साताको सुरु आइतबार ११६१.४५ बिन्दुमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ११४०.६० मा ओर्लिएको छ।

सरकारको ध्यान सेयर बजार सुधारतिर भन्दा अन्यत्रतिर केन्द्रित भएकाले पनि मनोवैज्ञानिक असर सेयर बजारमा देखिएको विज्ञहरुको भनाइ छ। तत्कालका लागि बजार घटे पनि यसको असर लामो समय नरहने ब्रोकरहरुको भनाइ छ। आर्थिक परिसूचकहरू सकारात्मक रहेकाले बजार घट्ने सम्भावना कम रहेको उनीहरुको भनाइ छ। ‘प्रतिफललगायत लगानीका लागि चाहिने सबै परिसूचक सकारात्मक भएकाले बजार घट्नुपर्ने कारण छैन,’ एक लगानीकर्ता भन्छन्, ‘अन्य देशका सेयर बजार उकालो लागिरहँदा नेपालको घट्नुपर्ने अवस्था छैन।’

नेप्से पनि परिसूचक घट्नुको कारण नभएको बताउँछ। सामान्यतया यो समयमा कम्पनीको कुनै प्रगति विवरण नआउने भएकाले बजारमा त्यसको असर देखिएको हो। अधिकांश कम्पनीले साधारणसभा सकेको र उनीहरूले उपलब्ध गराउने लाभांश पनि वितरण गरिसकेकाले थप प्रतिफल पाउन अझै ६ महिना पर्खनुपर्ने हुन्छ। यसले पनि सेयर बजारलाई केही हदसम्म प्रभाव पारेको ब्रोकर बताउँछन्। छोटो समयका लागि खरिद गर्ने लगानीकर्ताले सेयर बिक्री गरिरहेको र दीर्घकालीन लगानीकर्ताले बजार घट्नुलाई अवसरको रूपमा लिएर सेयर खरिद गरिरहेको ब्रोकरहरूको भनाइ छ।

बैंक, वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने धेरै भएकाले ब्याज तिर्नका लागि सेयर बिक्री गर्दा बजार घटेको विश्लेषक बताउँछन्। संस्थागत लगानीकर्ताको प्रभाव नभएसम्म यस्तो समस्या देखिइरहने उनीहरूको भनाइ छ। आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा अधिकांश कम्पनीको नाफा बढेको देखिएको र तेस्रो त्रैमासमा पनि कम्पनीहरूको वित्तीय विवरण राम्रो आउने सम्भावना भएकाले बजार धेरै नघट्ने विश्लेषको भनाइ छ।

प्रकाशित: १० चैत्र २०७५ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App