coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

इलाम– पाँचथर सिमानामा बहुसंस्कृति उत्सव

राँके (पाँचथर) - चैतको महिना भएपनि पाँचथर र इलामको सिमाना राँके बजारलाई चिसो र कुहिरोले पिरोल्छ। यस्तै मौसमको विशेषतालाई छिचोल्दै राँकेमा शनिवार दिउँसो बहु– सांस्कृतिक र्‍याली निस्कियो। त्यहाँ नारा थिएन। तर बहु–संस्कृतिको चेहरा झल्कियो।

र्‍यालीको अगाडि संगिनीको टोली थियो। सँगै थियो लिम्बु जातिमा प्रख्यात च्याब्रुङ नृत्यका लागि सजिसजाउ टोली। अनि राई, शेर्पा, सुनुवार सांस्कृतिक पोशाक, बाजागाजामा सजिएका संस्कृतिकर्मी। नेपाली तथा विभिन्न भाषा, साहित्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति पनि उल्लेख्य थियो। प्रदेश १ र भारतका विभिन्न ठाउँबाट सहभागी साहित्यकार, भाषासेवी र कलाकर्मीसम्मिलित र्‍यालीले राँकेबजार परिक्रमा गर्दा माहौलमा रौनकता थपिएको थियो। विभिन्न जातजातिमा आधारित संस्कृति एकैठाँउ प्रस्तुत हुँदा सांस्कृतिक रूपमा माहोल रौसिएको थियो।

संघीयतालाई राजनीतिक रूपमा मात्र हेरिएको छ। एकैठाँउमा बहुभाषा, बहुसाहित्य र संस्कृतिको गुञ्जनले ठूलो महत्व राख्छ।

याक्थुङ (लिम्बु) प्रज्ञा प्रतिष्ठानले राँकेमा आयोजना गरेको भाषा, साहित्य तथा सांस्कृतिक उत्सवको यो दृश्यले समाजको बहुजातीय बनोटलाईमात्र प्रस्तुत नगरी साहित्यमा विकेन्द्रीकरणको सवालसमेत जगायो। र्‍याली पश्चात आयोजना भएको भाषा, साहित्य संगोष्ठीमा साहित्य सम्मान, पुस्तक विमोचन, विभिन्न भाषामा साहित्यिक रचनावाचन, साहित्यिक बहस तथा विभिन्न जातजातिमा आधारित परम्परागत संस्कृतिको प्रर्दशन गरिएको थियो।

लिम्बु साहित्यको श्रीवृद्धिका लागि सक्रिय प्रतिष्ठान भएपनि बहुभाषिक साहित्यक समारोह सम्पन्न भएको हो। ‘संघियतालाई राजनीतिक रूपमा मात्र हेरिएको छ। यस्ता कार्यक्रमले भाषा, साहित्य, संस्कृतिको क्षेत्रमा पनि विकेन्द्रीकरणको सवाललाई उठाउछ। एकैठाँउमा बहुभाषा, बहुसाहित्य र संस्कृतिको गुञ्जनले ठूलो महत्व राख्छ’, १ नम्बर प्रदेशका साहित्य, संस्कृति तथा कला सुझाव आयोगका संयोजकसमेत रहेका प्राडा टंक न्यौपानेले भने ‘भाषा, साहित्यको संरक्षण र विकासका लागि राज्यले काम गर्नुपर्छ। यस्ता कार्यक्रमले आपसी सद्भावको उत्कृष्ट नमूनासमेत पेश गर्छ।’

कार्यक्रममा बाहुन–क्षेत्रीको संस्कृतिमा आधारित वालन, राई जातिमा आधारित साकेला, लिम्बु जातिमा आधारित केलाङ (च्याब्रुङ), शेर्पा जातिमा आधारित परम्परागत सांस्कृतिक नृत्य र सुनुवार जातिमा आधारित नृत्य प्रर्दशन गरिएको थियो। उल्लेख्य संख्यामा सहभागीले विभिन्न जातजातिमा आधारित संस्कृति एकैठाँउमा नियाल्न पाएका थिए।

कार्यक्रममा लिम्बु साहित्य क्षेत्रमा महत्पूर्ण योगदान गरेका तीन स्रष्टालाई पुरस्कृत गरिएको थियो। १० हजार रुपैंयाँ राशीको ‘श्रीहाङमा साहित्यिक पुरस्कार’बाट धनकुटाका साहित्यका धनाहाङ सुब्बा र भारत सिक्किमका सन्तोष तेरापे पुरस्कृत भए। यस्तै ‘नाल्बो पत्रकारिता पुरस्कार’बाट दिलेन्द्र कुरुम्बाङ पुरस्कृत भए। सोही अवसरमा दुई पुस्तक र एक पत्रिका विमोचन गरिएको थियो।  राजेन्द्र जबेगूको हिज्जा साप्पन (लिम्बु भाषामा), सन्तकुमार आङदेम्बेको अमुर्त आतङ विमोचन गरिएको थियो। साहित्यकार तथा पत्रकार भवानी तावाले सम्पादन गरेको लिम्बु बाल पत्रिका ओधिङ्गा पनि विमोचन भएको थियो।

कार्यक्रममा विभिन्न जिल्लाका सहभागी साहित्यकारहरूले नेपाली, लिम्बु, राईलगायतका भाषामा कविता, गजल, मुक्तक वाचन गरेका थिए। विभिन्न सन्दर्भका रचनाले दर्शकहरूको मन जितेको थियो। त्यस्तै बद्लिदो साहित्यिक अवस्थाबारे देवेन्द्र सक्तेन, सगुन सुसारा, समदर्शी काईला र  राज दिलाञ्जलीले बहस गरेका थिए।

भाषा, साहित्य, संस्कृतिको प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति राजेन्द्र जबेगूले बताए। अत्याधिक  चिसो भएपनि अबेरसम्म दर्शकहरूले साथ दिँदा साहित्यकार, भाषासेवी तथा संस्कृतिकर्मीहरू हौसिएका थिए।

प्रकाशित: १० चैत्र २०७५ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App