coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला फुटबल खेलाडीलाई सम्मान

मोरङ – घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित  नेपाली टोलीका प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्। 

विराटनगरमा शनिबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) को १८औं साधारणसभाले जनही एक लाख प्रदान गर्ने निर्णय गरेसँगै प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका हुन्।  

प्रतियोगितामा उपविजेता टोलीका खेलाडीलाई जनही नगद एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको एन्फाका प्रवक्ता किरण राईले बताए। प्रवक्ता राईले प्रदेश–१ सरकारले जनही १ लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँसमेत पुरस्कार दिने घोषणा गरेको जानकारी दिए।  

एन्फासँगै प्रदेश–१ सरकार र विराटनगर महानगरपालिकाले सम्मानस्वरूप नगद दिने घोषणा गरेपछि शुक्रबार विराटनगरमा सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको पाँचौं संस्करणमा उपविजेता बनेको नेपाली महिला फुटबल खेलाडीले कुल साढे दुई लाख पाउने पक्का भएको हो। 

एन्फाको साधारणसभाले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा धन्यवाद दिँदै खेलाडी सम्मानको घोषणालाई स्वागत गरेको छ। 

साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अघिल्लो साधारणसभादेखि हालसम्म गरेका कार्य तथा नेपाली फुटबल खेलको विकासका लागि भएका कामका बारेमा विवरण प्रस्तुत गरेका थिए। एन्फा कोषाध्यक्ष रवीन्द्र जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४–०७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले अनुमोदन गरेको राईले बताए। 

साथै आगामी वर्ष २०७५–०७६ को वार्षिक कार्यक्रमअनुसार अनुमानित २३ करोड ७४ लाख ५० हजार रुपैयाँको प्रस्तावित बजेट परिमार्जनसहित साधारण सभाले स्वीकृत गरेको राईले जानकारी गराए। फुटबलको इतिहासमा मोफसलमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिप धेरै चुनौतीका बीचमा सफलतापूर्वक सम्पन्न भएको र त्यसमा सहयोग गर्ने सबैलाई  एन्फाले धन्यवाद दिएको राईले बताए। 

एन्फाले खोटाङ, नवलपुर र मनाङलाई एक वर्षका लागि पर्यवेक्षकका रूपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।  शनिबार प्रदेश–१ का प्रमुख प्राडा. गोविन्द तुम्बाहाङको निवासमा नेपाली महिला खेलाडी तथा अफिसियललाई सम्मान गरिएको हो। सो क्रममा प्रदेश प्रमुख तुम्बाहाङले प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु गौरवको विषय भएको बताए। 

प्रकाशित: १० चैत्र २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App