७ वैशाख २०८१ शुक्रबार
समाज

अस्पतालमै जोखिम !

सेती अञ्चल अस्पतालमा सुत्केरी रेखाको मृत्यु भएपछि ‘चिकित्सकको लापरबाही’ भन्दै आकस्मिक कक्षअघि जम्मा भएका आफन्त। तस्बिरः पुष्पराज/नागरिक

धनगढी -
घटना–१
गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो।

घटना–२
भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन्। छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा भर्ना गरे। छोरीको निजी अस्पतालमा र आमाको सेती अञ्चल अस्पतालमा उपचारक्रममा भदौ २० मा मृत्यु भयो।

घटना–३
वैशाख २९ गते पुनर्वास नगरपालिका–४, कञ्चनपुरकी ३० वर्षीया शान्ति कठायतको पनि सेती अञ्चल अस्पतालमा शिशु जन्माएपछि मृत्यु भयोे। चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै आफन्तले नाराजुलुस गरे।

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा भएका यी घटना प्रतिनिधिमूलक मात्रै हुन्। अस्पतालमा गत सोमबार धनगढी–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो। पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो। तर, त्यो खुसी धेरै दिन टिकेन। रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो। शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निएपछि डाक्टरलाई सोध्दा ‘ग्यास्ट्रिक भएको हुन सक्छ’ भन्दै वास्ता नगरेको मृतकका आफन्तले बताएका छन्।

रेखाका पति जयबहादुर थापाका अनुसार पेट सुन्निन नरोकिएपछि डाक्टरले जन्डिस भयो भन्दै उपचार सुरु गरेको तर बिहीबार बिहान उपचार सम्भव नभएको भन्दै अन्यत्र रेफर गरेका थिए। कोहलपुर लैजाने क्रममा पत्नी रेखाको बाटोमै मृत्यु भएको उनले बताए।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर खगेन्द्रराज भट्टले सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि रेखाको शल्यक्रिया गर्नुपरेको र स्वास्थ्यमा सुधार भइरहेका बेला एक्कासि बिहीबार समस्या आएपछि अन्यन्त्र रेफर गरेको बताए। ‘शल्यक्रिया गर्नेबेला पनि अरुको भन्दा धेरै बढी र फरक औषधि मगाएका थिए’, रेखाका पती थापाले भने, ‘अस्पतालको लापरबाहीले उनको ज्यान गयो।’ घटनाको छानबिन गर्न आफूले माग गरेको उनले बताए। बिरामी मर्नुमा अस्पताल र चिकित्सकको कुनै गल्ती नभएको बताउँदै सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘यस घटनामा अस्पतालको कुनै लापरबाही छैन।’

चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको गुनासो बारम्बार आइरहँदा पनि सेती अञ्चल अस्पताल प्रसाशनले बेवास्ता गर्दा घटना दोहोरिँदै गएको सर्वसाधारण बताउँछन्।

चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको गुनासो बारम्बार आइरहँदा पनि अस्पताल प्रसाशनले ध्यान नदिँदा घटना दोहोरिँदै गएको स्थानीय बताउँछन्। ‘पुनः गल्ती हुन नदिन कर्मचारी र चिकित्सकलाई सतर्क नगराउँदा घटना दोहोरिँदै गइरहेका छन्,’ स्थानीय गोविन्द जोशीले भने, ‘सेती अञ्चल अस्पतालमा सामान्य उपचारका लागि गएका बिरामी पनि त्यहाँको व्यवहारका कारण थला परेर फर्कन्छ। सिक्ने विद्यार्थीको जिम्मा लगाएर अनुभवनी चिकित्सक निजी क्लिनिकमा धाउँदा बेलाबेलामा बिरामीको ज्यान गएको समाचार आइरहेका छन्,’ उनले भने, ‘यो सबै भएको अस्पताल प्रशासनकै कमजोरीका कारण हो।’

प्रशासन फितलो बनेपछि सेती अञ्चल अस्पताल अस्तव्यस्त बन्दै गएको छ। अस्पतालका अधिकांश चिकित्सकले धेरै समय निजी क्लिनिकलाई दिन्छन्। अञ्चल अस्पतालका कार्यालय सहयोगीदेखि डाक्टरसम्मले मिलेर निजी अस्पताल तथा क्लिनिक सञ्चालन गरेका छन्। उनीहरु अस्पतालले तोकेको समयभित्र पनि निजी क्लिनिक तथा अस्पतालमा जान्छन्। अञ्चल अस्पताल पुगेका बिरामीलाई सास्ती दिएर निजी क्लिनिक र अस्पतालमा जान चिकित्सकले नै बाध्य पार्ने गुनासो स्थानीय गोपाल भट्टले बताए। ‘अञ्चल अस्पतालमा चिकित्सक र नर्सले वास्ता नगरेपछि त्यहाँ पुगेका बिरामी निजी क्लिनिकमा जान बाध्य हुन्छन्,’ उनले भने, ‘यसमा निगरानी गरिनुपर्छ।’

निर्वाचनका बेला स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा चुनाव लडेका सबैले सेती अञ्चल अस्पतालको अवस्था सुधार गर्ने मुख्य अजेन्डा बनाए पनि सुधार हुन नसकेको स्थानीयवासी बताउछन। सर्वसधारणका लागि सेती अञ्चल अस्पताल सहज हुनुपर्नेमा त्यस्तो नहुँदा अनपेक्षित घटना हुने गरेको स्थानीय नरबहादुर साउद बताउछन।

छानबिन समिति गठन
चिकित्सकको लापरबाहीले बिहीबार सुत्केरीको मृत्यु भएको भन्दै शुक्रबार बिहानैदेखि आफन्तले प्रदर्शन र घेराउ गरेपछि सेती अञ्चल अस्पताल तनावग्रस्त बन्यो। त्यसपछि बसेको सर्वपक्षीय बैठकले छानबिन समिति गठन गर्ने निर्णय ग¥यो। मृतक रेखाका परिवार र सरकारी पक्षबीच पाँचबुँदे सहमति भएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल अस्पतालका प्रतिनिधि, धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, पीडित पक्षबीच भएको छलफलपछि पाँचबुँदे सहमति भएको हो। मृतक रेखाका छोराको २४ वर्षसम्म निःशुल्क उपचार गर्ने र त्यसको जिम्मेवारी सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयले लिने सहमति भएको छ। यस्तै शिक्षादीक्षा पनि सामाजिक विकास मन्त्रालयमार्फत प्रदान गर्ने सहमति भएको छ। उनको उपचारका लागि विशेष परिचयपत्र बनाउने सहमति पनि भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाएकाले छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो।

प्रकाशित: १० चैत्र २०७५ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App