१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

बागलुङ– बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। पाँच सय ६७ मिटर लामो उक्त पुल निर्माणका लागि शनिबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन्। करिब डेढ दशक अघिदेखि निर्माणका लागि चर्चामा रहँदै आएको पुलले अबको दुई वर्षमा मूर्त रुप पाउनेछ। बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरि निर्माण थालिएको झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ। पुल करिब साढे २५ मिटर झोलुङ्गो हुने स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए। 

तीन सय ६५ मिटर भन्दा लामो पुलको लठा तान्ने मेसिन नेपालमा नभएका कारण पुलको काम पहिले नै सुरु हुन नसकेको श्रेष्ठको भनाई छ। ‘यो पुल हामीसंग भएको प्रविधि भन्दा लामो भएका कारण बन्न सकेको थिएन, अहिले चीनबाट लामो लठा तान्न सक्ने मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ,’ उनले भने। यो पुलको लाइफलाइन ५० वर्षको हुने छ। पुल निर्माणका लागि आवश्यक लठा र बुलडोजर विभागले उपलब्ध गराउने छ। लठा बाहेक १० करोड ५६ लाख स्टीमेट भएकोमा निर्माण कम्पनी थानी/विएलटि/हिमशिखर जेभीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

निर्माणका क्रममा बीचमा कतै अवरोध नभएमा २०७७ असार मसान्तसम्म सम्पन्न गरिने निर्माण कम्पनी हिमशिखर कन्ट्रक्सनका नरहरि खड्काले जानकारी दिए। ‘हामीले दुई वर्षमा पूरा गर्ने ठेक्का सम्झौता गरेका छौं,’ उनले भने, ‘बिना अवरोध सरासर काम गर्न पायौं भने ७७ को असार मसान्त भित्र सकिन्छ।’ बागलुङ बजारबाट पाङ पुग्न पैदल मार्ग मार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिनेछ। कालीगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोर माथि पुल बन्ने भएकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। 

दक्षिण एसियाकै लामो भनेर दाबी गरिएको उक्त पुलको शिलान्यास गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भौतिक पूर्वाधारको निर्माणलाई आर्थिक समृद्धिसंग जोड्न आग्रह गरे। ‘हामीले आज करौडौं खर्च गरेर आज नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्ने क्रममा अगाडी बढेका छौं,’ उनले भने, ‘हामीले निर्माण गरेको भौतिक संरचनाले हामीलाई आफ्नो आर्थिक विकासका लागि सघाउनुपर्छ। हामीले त्यो अनुसार यो संरचनालाई प्रयोग गर्न सकेनौं भने ठूलो भौतिक पूर्वाधारले मात्र हामीलाई केही दिँदैन।’

उनले पुललाई बागलुङ पर्वत वारपारका लागि मात्रै नभई आफ्नो जीवन स्तर सधार्न उपयोग गर्न आग्रह गरे। ‘पाङबाट बागलुङ आउनेले समान लैजाने मात्रै होईन, त्यहाँबाट यहाँ ल्याएर व्यापार गर्ने बारेमा सोचेनौं भने हामी अगाडी जान सक्दैनौं,’ उनले भने, ‘हामीले यहाँ पुल बनाएपछि हेर्न आउने विभीन्न ठाउँका पर्यटकलाई यहाँ भुलाउने वाताबरणको सिर्जना हामीले गर्नुपर्छ। हेर्न आउनेलाई खाजा खानका लागि काँडेतिरै जाउ भन्न्ने अवस्था रहिरह्यो भने यहाँको विकास सम्भव छैन। हामीले यहाँ आएकाले फालेको रित्ता बोतल र प्लाष्टिक टिप्नका लागि पुल बनाउन लागेका होइनौं।’ आफूलाई सम्पन्न बनाउनका लागि आफैले मेहनत गर्नुपर्ने बताए। 

‘बाटो चिल्लो मात्रै बनेर हुँदैन, अर्कैको गाडीले धुलो उडाएर जान्छ, पुल बनाए पनि फोहोर मात्रै टिप्नुपर्छ। हामीले हाम्रो सम्भावनाको उजागर गरेर त्यसलाई बाहिर लगेर विक्री गर्न सक्यौं भने मात्रै हाम्रो विकास सम्भव छ,’ उनले भने। भौतिक संरचनाहरु शोखका लागि होइन समृद्धिका लागि हुनुपर्ने उनको भनाई छ। ‘हामी हिँड्नका लागि सजिलो हुन्छ भनेर मात्रै पुल निर्माण गर्ने होइन,’ उनी भन्छन्, ‘यो पुल बन्दा यो बाटो बन्द यति जनालाई रोजगारी सिर्जना गर्छौं भन्ने तरिकाले अब प्रस्तावहरु आउनुपर्छ।’ बहुदल आएपछि राजनीतिक रुपमा निकै पछि परेका कारण धौलागिरिको विकासले तिब्रता नपाएको उनले बताए। सबैको साझा प्रयासबाट देशको ध्यान खिच्नेगरी पुल निर्माण सुरु भएको उनको भनाई छ।

अहिलेको सरकारले पाँच वर्षमा जनताले अनुभूति गर्नेगरी विकास गर्ने उल्लेख गरे। ‘विगतका सरकारहरु सय मिटरको दौडमा थिए, अहिलेको सरकार म्याराथन दौडमा छ,’ उनले भने, ‘अहिलेको सरकारले पाँच वर्षमा परिणाम दिने हो। अहिले नै आत्तिहाल्ने अवस्था छैन।’ उनले सबैलाई उद्यमी बन्न प्रेरित गर्न सके मात्र देशको समृद्धि हुने बताए। ‘नेपालमा पानीका लागि युरोपबाट बोतल आउँछ भन्ने कुरा निकै चिन्ता जनक छ,’ उनले भने, ‘अब नागरिकहरु उद्यमशीलतामा जानुपर्छ। सरकारले सहयोग गर्ने हो, आफ्नो आर्थिक विकासका लागि जनताले आफ्नो क्षेत्रबाट उद्यमी बन्ने माध्यम अपनाउनुपर्छ।’ 

कालिगण्डकी बहुउद्देश्यीय परियोजनाको अध्ययन सुरु भएकाले त्यसको निर्माणसंगै धौलागिरिको कायाकल्प हुने उनको तर्क छ। कार्यक्रममा गण्डकी प्रदेश संसदका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री विकास लम्सालले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए। कार्यक्रममा संघीय सांसदहरु देबेन्द्र पौडेल, डा. सूर्य पाठक, पदम गिरी, प्रदेश सांसद ईन्द्रलाल सापकोटा, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले यहाँको विकासका लागि बजेट विनियोजनका पहल गर्ने प्रतिवद्धता जनाए। संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले अबको दुई वर्षभित्र झोलुङ्गे पुल निर्माणका लागि बजेटको कुनै कमि हुन नदिने बताए। पुलको निर्माण भएपछि बागलुङको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाको विश्वास छ।

प्रकाशित: ९ चैत्र २०७५ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App