८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीलाई कांग्रेसको चेतावनी : सेनालाई कमजोर पार्न खोजिए सदन र सडक तताउँछौं

बुटवल– नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन्। संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ।

कांग्रेस तिलोत्तमा ८ ले रुपन्देहीको सूर्यपुरामा आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै पूर्वरक्षा मन्त्री समेत रहेका खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपूर्ण योगदान गरेको नेपाली सेनालाई कमजोर पार्न खोजिए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने बताए। प्रधानमन्त्रीले भएभरको शक्ति आफूसँग राखेर राष्ट्रियतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै उनले भने, ‘सबैलाई कमजोर पारेर जे मन लाग्यो त्यही गर्न पाइँदैन र त्यसो गर्न दिँदैनौ।’

प्रधानमन्त्री ओलीलाई एउटा भुगोलमा बसेर अर्को भुगोलका जनतामाथि लाल्छना लगाउने व्यक्तिका रुपमा चित्रण गर्दै नेता खाँणले सीके राउतसँग पनि अत्यन्तै गैरजिम्मेबार ढगंबाट सम्झौता गरिएको उल्लेख गरे। सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर देशमा द्वन्द्व र मुठभेट निम्त्याएको टिप्पणी गरे। एउटा शक्तिलाई उत्तेजित बनाएर बमबारी गराउन, काटमार र हिंसा मच्चाउनका लागि प्रतिबन्धको नीति लिइएको आरोप नेता खाँणले लगाए। ‘देशमा विध्वंश र हिंसा हुन नदिने हो भने वार्ता र संवाद गर्नुपर्छ निषेध होइन’, उनले भने।

कम्युनिस्ट पार्टी जनताको सेवक पार्टी हुनै नसक्ने दावी गर्दै उनले काँग्रेस सबै नेपालीको साथी पार्टी भएको बताए। शक्ति र सत्तामा नरहँदा पनि देशभर काँग्रेसप्रति जनताको आकर्षण बढिरहेको दावी  गर्दै उनले काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको बताए। ‘दुई तिहाइको सरकारले जनताको जिउधनको सुरक्षा गर्न सकेन। कर, महङ्गी, भ्रष्टाचार बढ्यो। आर्थिक गतिविधि ओरालो लाग्यो। त्यसैले जनताले कांग्रेसको साथ खोजिरहेका छन्’, नेता खाँणले भने।

बुटवल–नारायणगढ सडक स्तरोन्नती गर्ने योजना कांग्रेस सरकारकै पालामा बनेको बताउँदै उनले पुरानै योजनामा काम सुरु हुन नपाउँदै प्रम ओली गानाबजाना र उटपट्याङका लागि रुपन्देही दौडाहामा निस्किएको बताए। ‘हामीले महेन्द्र राजमाार्ग ४ लेन बनाउने योजना बनायौं। सिमावर्ती सहरहरुमा ६ लेन बाटो बनाउन सुरु गर्यौं तर गानाबजाना गरेनौं। तर प्रम ओली काम गर्नुहुन्न उटपट्याङ्ग गर्दै हिड्नु हुन्छ’, नेता खाँणले भने।

कार्यक्रममा वडा ८ का ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। 

प्रकाशित: ९ चैत्र २०७५ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App