१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन सडकले जोडिए बराहपोखरी

खोटाङ– सरकारले सय वटा गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीन तिरबाट सडकले छोएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी आवत–जावतका लागि तराईबाट उदयपुरको गाईघाट–साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौंर–सिन्ताङ सडक, गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेँसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक विस्तार गरिएको हो। बराहपोखरीको पर्यटन प्रवद्र्धनको प्रयासमा तीन वर्षको अवधिमा बराहपोखरीलाई चारैतिरबाट सडकले छुनेगरी सडक बिस्तारको क्रम बढेको बराहपोखरीका वडाध्यक्ष टंककुमार मगरले बताए।

गन्तव्य स्थलकारुपमा विकासका लागि २०७२ सालमा गाईघाट–साउने–धाप्लाङ हुँदै साउनेचौंर–सिन्ताङ सडक र २०७४ सालमा गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेँसी सडकमार्फत बराहपोखरीलाई जोडिएको हो। बराहपोखरीमा आउ–जाउनका लागि पछिल्लो समय गत मंसिर २ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरी जोड्ने सडक निर्माण गरिएको हो। दिक्तेलबजारबाट रसुवाघाट–खोटाङबजार तथा दिक्तेल–खोटाङबजार सडकमार्फत पनि बराहपोखरी पुग्न सकिने वातावरण बनेको छ।

प्रचार–प्रसारको अभावमा हालसम्म ओझेलमा रहेको बरापोखरीको पर्यटन विकासका लागि बरापोखरीतर्फबाट गहते–सावाखोला–खोटाङबजार र रुम्दु–अजिंगरे–फोक्सिङटार सडक निर्माणको काम भइरहेको वडाध्यक्षम मगरले बताए। मगरका अनुसार गहते–सावाखोला–खोटाङबजार जोड्न करिब १ किलोमिटर र रुम्दु–अजिंगरे–फोक्सिङटार सडक पूरा गर्न करिब ३२ सय मिटर मात्र बाँकी रहेको छ। बराहपोखरी–रुम्दु–अजिंगरे–फोक्सिङटार सडक पूरा भएपछि गाईघाटबाट फोक्सिङटार हुँदै बराहपोखरी पुग्ने अर्को छोटो मार्ग खुल्ने मगरले बताए। ‘अहिलेसम्म बराहपोखरी जोड्ने तीन वटा सडक बनिसकेको छ,’ वडाध्यक्षम मगरले भने, ‘थप दुई वटा बाटोले पनि चाँडै बराहपोखरीलाई जोड्नेगरी काम भइरहेको छ।

४.४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरी जोड्ने सडकको पहुँच बिस्तारसँगै आन्तरिक पर्यटक आउनेक्रम बढ्दो रहेको स्थानीयको भनाई छ। चारैतिर पहाडले घेरिएको बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट पर्यटक एबं दर्शनार्थी आउने गरेका छन्। ३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको पोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ। मुहान र निकास नदेखिने पोखरीमा प्रशस्त मात्रामा रातो माछा पाइने गरेको छ।

पोखरीको सतह घट्न नदिन खोलाको पानी

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको सतह घट्न नदिन तीन श्रोतको पानी हालिएको छ। २०७२ सालको भूकम्पपछि पानीको सतह घट्दैगए पछि स्थानीय राँकुली खोला र कोकाखुन्द्रे खोलाको पानी पाईपमार्फत बराहपोखरीमा हालिएको छ। यस्तै, भिरखापा शिरको पानी पनि पोखरीमा हालिएको वडाध्यक्ष मगरले बताए। गाउँपालिकाकै प्रमुख पर्यटकीयस्थलको रुपमा विकास गर्ने सम्भावना रहेको बराहपोखरीको पानी भित्रभित्रै साविकको बराहपोखरी–४ भुल्केमा निकास हुने गरेको स्थानीयको दाबी छ।

बराहपोखरीमा हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीमा मेला लाग्ने गरेको छ।

प्रकाशित: ९ चैत्र २०७५ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App