coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धुलो र सवारी जामले सास्ती

निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक–खण्डअन्तर्गत पर्ने नुवाकोटको केउरेनी क्षेत्रमा उडेको धुलोे। तस्बिर : सरिता/नागरिक

धादिङ - राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–रसुवागढी सडकमा धुलो व्यवस्थापन नहुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। निर्माण हुँदै गरेको सडकमा अत्यधिक धुलोे उड्ने गरेका कारण सडक प्रयोगकर्ता यात्रुसहित छेउछाउका स्थानीय आजित बनेका छन्। धुलोेले त्यस क्षेत्रमा चल्ने सवारीसाधनका चालक, यात्रु तथा सडक वरपरका स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ।

धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाइको यो सडक प्रयोग गरी नुवाकोटको विदुरसम्म पुग्दा सवारीसाधन र यात्रुहरू धुलाम्मे हुने गरेका छन् भने जामका कारण बेहोर्नुपर्ने हैरानी त छुट्टै छ। काम विशेषले मोटरसाइकलमा नुवाकोट पुगेका धादिङका अनिल सापकोटा धुलोेले चिन्न नसकिने बनेका थिए। ‘यो बाटो नहिँडी पनि हुन्न, हिँड्यो धुलोेले चिन्न नसक्ने भइन्छ,’ उनले भने, ‘सडक निर्माण गर्दा बस्तीवरिपरि समय–समयमा पानी हालेर काम गरे धुलोे कम हुने थियो, यसरी सास्ती बेहोर्नुपर्ने थिएन।’

सो क्षेत्रमा यातायातका साधन गुड्दा र हावा चल्दा धुलोेले आकाश नै छोपिएजस्तो हुन्छ भने त्यही धुलोेले वरपरको बस्ती तथा रुख–बिरुवा ढपक्क ढाक्ने गर्छ। धुलोेले शरीर छोप्छ अनि मान्छे नै चिन्न गाह्रो पर्छ। हिँड्दा खुट्टा धुलोेमा भासिन्छन् भने कतिपय सवारीसाधन समेत फस्ने गर्छन्। घरैछेउमा भएको सडकमा सवारीसाधन आवतजावत गर्दा धुलोेले घरै छोप्ने गरेकाले सडक किनारमा व्यवसाय गर्नेहरू मास्क लगाएर मात्रै बस्ने गरेका छन्। सडकको धुलोेले आजित बनेका स्थानीयले सडकमा पानी हालिदिनका आग्रह गरे पनि ठेकेदार पक्षले सुनुवाइ गरेको छैन। ‘धुलोेले खपिसक्नु छैन, सडकको धुलोेजति सबै घरभित्र पस्छ, पकाएको खाना एकछिनमै धुलाम्मे हुन्छ,’ केउरेनीमा पसल चलाउँदै आएका केदार रिजालले भने, ‘कहिले त मुखमा धुलोे पसेर सास फेर्नै गाह्रो हुन्छ, माक्सको भरमा बाँचेका छौं।’

निर्माणलाई तीव्रता दिन आयोजनाले केही समय सडक बन्द गरेर स्तरोन्नतिको काम अघि बढाएको थियो। तर अचेल सडक निर्मा काम र सवारीसाधनको आवागमन सँगसँगै चलिरहेको छ। धादिङको गल्छी हुँदै नुवाकोट, रसुवा जाने सवारीसाधनको चाप बढी भएका कारण पनि धुलोे धेरै उड्ने र जताततै सवारी जाम हुने गरेको छ।

सडकको धुलोे कम गर्न आयोजनाले जनस्वास्थ्यलाई ध्यानमा राख्दै ट्यांकरमा पानी ओसारेर सडकमा हाल्ने गरे पनि धुलोे नियन्त्रण गर्न नसकिएको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए। ‘धुलोे जहाँ पनि उड्ने गर्छ, निर्माण भइरहेको सडकमा धुलोे कम गर्न सकिँदैन’, देवकोटाले भने, ‘बस्तीछेउको सडकमा पानी खन्याएर काम गर्दै आएका छौं।’

२१ महिनामा काम सम्पन्न गर्नेगरी २०७३ कात्तिक २२ गते सम्झौता भएर पुस १ गतेदेखि सडकको स्तरोन्नति तथा विस्तारको काम सुरु गरिएको थियो। छ महिना समय थपी २०७५ फागुन ५ भित्र काम सम्पन्न गरिसक्ने लक्ष्य लिइएको थियो। तर निर्माण सुस्त भएको र सोचेजस्तो उपलब्धि हुन नसकेपछि २०७६ असार मसान्तसम्म सडक सक्ने लक्ष्य राखिएको छ। असारमा पनि सडक निर्माण सम्पन्न हुनेमा आशंका छ।

उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रूपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रूपमा अघि बढाउन जोड दिइएको प्रमुख देवकोटाले बताए। ‘असार मसान्तसम्म सम्पन्न गर्नेगरी धमाधम सडक निर्माण भइरहेको छ’, देवकोटाले भने। अहिले ४६ किलोमिटर दूरीसम्मको काम भइरहेको छ। सडकलाई तीन खण्डमा विभाजन गरी रसुवाको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १८ किलोमिटरमा नेपाली सेनाले ट्रयाक खोलेको छ भने बाँकी खण्ड टेन्डरको प्रक्रियामा छ। स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारले बनाउने योजना छ।

निर्माणाधीन सडक गल्छी–देवीघाट–पिपलटार–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशमार्ग मितेरी पुल रेसुओपोर्टमा जोडिनेछ। सडकको दायाँ–बायाँ पर्खाल लगाउने र विस्तार गर्ने काम भइरहेको छ भने केही ठाउँमा ग्राभेल हाल्ने काम पनि भइरहेको छ। सडक विस्तारका लागि धादिङ र नुवाकोटको सिमानामा पर्ने कोल्पुखोला पुल वरपर कटिङ गर्ने काम पनि भइरहेको छ। यो सडक निर्माण तीन देश जोड्ने सामरिक महत्व बोकेको योजना हो। यो सडकले चीनसँगको व्यापारिक नाका केरुङ जोड्ने छ। पछि भारतसँग सीमा जोडिएको ठोरी नाकासम्म जोड्ने सरकारी योजनाछ। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७५ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App