८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय शिक्षकविहीन, परीक्षा प्रभावित

रसुवा - रसुवाका चार वटा सामुदायिक विद्यालय शिक्षकविहीन भएपछि वार्षिक परीक्षा प्रभावित भएको छ। वार्षिक परीक्षा सञ्चालन भइरहेको समयमा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेसँगै कार्यरत शिक्षकहरूले अवकास रोजेपछि ती विद्यालयहरू शिक्षकविहीन भएका हुन्। शिक्षक नभएपछि परीक्षा सञ्चालन गर्न समस्या उत्पन्न भएको हो।

शिक्षक अभावमा गोसाइँकुण्ड गाउँपालिका–१ थुमनमा रहेको नेरा प्राविले एकै दिन तीनवटा विषयको परीक्षा लिएको छ। विद्यालयमा सबै शिक्षक अस्थायी भएको र सबै जनाले अवकास रोजेका कारण आन्तरिक व्यवस्थापन गरी परीक्षा सञ्चालन गरिएको प्रधानाध्यापक दानसिंह राईले बताए। विद्यालयले बिहीबार नेपाली र गणित तथा शुक्रबार सामाजिक, विज्ञान र स्वास्थ्य विषयको परीक्षा सञ्चालन गरेको हो। यो विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ।

– एकै दिन तीन विषयको परीक्षा

आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेस्थित गोङगाङ प्राविले वार्षिक परीक्षा सञ्चालन गरेको भए पनि नतिजा प्रकाशन भने नयाँ शिक्षक आएपछि मात्रै गर्ने भएको छ। ‘हामीले वार्षिक परीक्षा सञ्चालन गरिसकेका छाधानाध्यापक रामेश्वर यादवले भने, ‘नतिजा प्रकाशन भने नयाँ शिक्षक आएर गर्नेछन्।’ विद्यालय छोडेर जान लागे पनि जान लागेका शिक्षकले साथ दिएकाले भीमली प्राविमा भने वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन समयमै हुने भएको छ। ‘हामै्रै कारण बालबालिकाको भविष्य अन्धकारमा पार्न हुन्न,’ प्रधानाध्यापक दावा ल्हामो तामाङले नागरिकसँग भनिन्, ‘केही समय हामी तलबबिनै भए पनि काम गर्छौं।’

अवकास रोजेका कारण शिक्षक सङ्ख्या शून्य हुने विद्यालयहरूमा भीमली प्रावि धुन्चे, नेरा प्रावि थुमन, गोङगाङ प्रावि चिलिमे र दोक्लाङ प्रावि रहेका छन्। यी विद्यालयका सबै अस्थायी शिक्षकले सुविधासहित अवकास रोजेका थिए। बिहीबार नतिजा प्रकाशन भएपछि शुक्रबारबाट विद्यालय व्यवस्थापन समिति एवं शिक्षा विकास तथा समन्वय इकाइ मार्फत अवकासको पत्र लिन थालेका छन्। चारवटै विद्यालयमा प्रधानाध्यापकसहित अन्य शिक्षक अस्थायी रूपमा कार्यरत थिए।

विद्यालयमा शिक्षक नभएपछि नजिकै रहेको विद्यालयमा रहेका स्थायी शिक्षकमार्फत परीक्षा सञ्चालनका लागि निर्देशन दिएको इकाइ प्रमुख बालकृष्ण सिम्खडाले बताए। ‘वार्षिक परीक्षा सञ्चालन भइरहेको बेलामा नतिजा आएपछि व्यवस्थापनका कठिनाइ भएको छ,’ उनले भने।

शिक्षकविहीन भएका तथा शिक्षक सङ्ख्या न्यून भएका विद्यालयमा समयमै शिक्षकको व्यवस्थापन गर्नुपर्ने रसुवा मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति धु्रवप्रसाद लामिछानेले बताए। ‘यसले तत्कालीन मात्र नभई दीर्घकालीन असर गर्छ,’ उनले भने, ‘यसले विद्यालयको योजना निर्माणमा कठिनाइ भइरहेको छ।’ शिक्षकको अभावले परीक्षा सञ्चालन, नतिजा प्रकाशन, भर्ना अभियान तथा विद्यालयको वार्षिक योजना निर्माणमा प्रत्यक्ष असर पुगेको छ।

प्रकाशित: ९ चैत्र २०७५ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App