८ वैशाख २०८१ शनिबार
राजनीति

महिलामा किन बढ्यो इन्डोमेट्रियोसिस

महिलाको पाठेघरभित्र रहेको अन्डाशयमा कस्ता रोग लाग्छन् ? किन लाग्छन् ? ती रोगहरुबाट कसरी बच्ने ? प्रस्तुत छ नागरिक दैनिककी पवित्रा सुनारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा सर्जन प्राध्यापक डा. पदमराज पन्तसित गरेको कुराकानी।

चिकित्सा सेवामा लागेको कति वर्ष भयो ?
– २५ वर्ष भयो। सुरुदेखि नै त्रिवि शिक्षण अस्ताल महाराजगन्जमा सेवा गरिरहेको छु। एमबिबिएस रुसबाट, एमडी पाकिस्तानबाट र पिएचडी किर्गिस्तानबाट गरेको हुँ।

अन्डाशयको काम के हो ?
– डिम्बाशयको दुई काम हुन्छ। एउटा महिलालाई महिला बनाउने हर्मोन उत्पादन गर्ने काम। अन्डाशयले महिलालाई अनिवार्य रुपमा चाहिने स्ट्रोजन र प्रोजिस्ट्रेन नामक हर्मोन उत्पादन गर्छ। अर्को काम प्रजननका लागि अन्डा निकाल्ने काम गर्छ।

अन्डाशयमा कस्ता रोग लाग्छन् ?
– अन्डाशयमा थुपै किसिमका रोग लाग्छन्। मुख्य दुई किसिमका, बेलाइन ट्युमर (क्यान्सर नहुने खालको ट्युमर ) र अर्को मेलिनेन्सी ट्युमर (क्यान्सर हुने खालको ट्युमर) रोग लाग्छ।

अन्डाशयमा लाग्ने अन्य रोगहरु पनि छन् कि ?
– आजभोलि नेपाली महिलामा अन्डाशयमा हुने इन्डोमेट्रोसिस रोग (रगतको फोका बन्ने रोग) बढिरहेको छ। यो अविवाहित महिलालाई हुने रोग हो। तर अहिले विवाहितमा पनि बढी देखिएको छ। कारण पहिला सानै उमेरमा नियमित बच्चा जन्माउँथे। पहिलेका महिला आफ्नो जीवनभरमा १२÷१३ वटा बच्चा जन्माउँथे। धेरै बच्चा जन्माउँदा महिनाबारी कम हुन्थ्यो। अहिले विवाह र बच्चा जन्माउने चलन ढिला भइरहेको छ।

विवाह गरे पनि एकदुई वटा मात्र बच्चा जन्माउने गर्छन्। यो कारणले महिलामा महिनाबारी हुने अवधि धेरै हुन्छ। जति धेरै महिनाबारी भयो, त्यति नै इन्डोमेट्रियो सिस्ट (रगतको फोका) बन्छ। अन्डाशयमा हुने अको रोग भनेको फिजियोलोजिकल सिस्ट (अन्डाबाट बन्ने डल्लो) हुन्छ। महिलामा प्रत्येक महिनाबारीपछि अन्डाशयबाट अन्डा उत्पादन हुन्छ र बाहिर निस्कन्छ। त्यो अन्डा भ्रुणमा परिवर्तन भएन वा फुटेन भने त्यसमा पानी जम्मा हुँदै गएर सिस्ट बन्छ। यसैलाई फिजियोलोजिकल सिस्ट भनिन्छ। यसले क्यान्सर गराउँदैन।

आजभोलि नेपाली महिलामा अन्डाशयमा हुने इन्डोमेट्रोसिस रोग (रगतको फोका बन्ने रोग) बढिरहेको छ। यो अविवाहित महिलालाई राेग हो। तर प्रजनन प्रवृत्ति फेरिएकाले अहिले विवाहितमा पनि बढी देखिएको छ।

कसैकसैको अन्डा फुटेन भने त्यसमा पानी जम्मा हुँदैहुँदै गएर सिस्ट बन्छ। त्यसबाट हुन सक्ने भनेको संक्रमण भयो भने अन्डाशय र अन्डबाहिनी नली जकडिएर पिपै जम्मा हुने र एकै ठाउँमा डल्लो पर्दै जान्छ। यसलाई ट्युबोओभरियन मास (अन्डाशय र अन्डाबाहिनी नलीको ट्युमर) भनिन्छ।

त्यसो भए अहिले अन्डाशयमा इन्डोमेट्रोसिसको समस्या नै बढी छ ?
– बढी हुनुपर्ने फिजियोलोजिकल सिस्ट हो तर महिलाको प्रजनन जीवनशैलीमा आएको परिवर्तनको कारण इन्डोमेट्रोसिस रोगको समस्या बढिरहेको देखिन्छ।

इन्डोमेट्रोसिस लामो समय रहिरह्यो भने महिलाको स्वास्थ्यमा के समस्या हुन्छ ?
– महिलालाई महिनाबारीका बेला असाध्य दुख्छ। त्यसैगरी यौ सम्पर्कका समयमा दुख्छ। त्यो बढी नै ठूलो भएको अवस्था छ भने दिसा–पिसाब गर्दा समेत दुख्छ। भित्रपट्टि किन दुखाइ हुन्छ भने त्यही डल्लोमा आएर आन्द्रा, पिसाबको थैली जकडिन्छ। मिर्गौलाबाट पिसाब आउने नलीको माथि अन्डाशय हुने भएकोले पाइपसमेत बन्द भई मिर्गौलालाई समेत असर गर्छ। यसले महिलालाई एकदम धेरै दुखाइ हुन्छ। यसको नराम्रो पक्ष भनेको उपचार गरे पनि फेरि पलाएर आउँछ। तसर्थ यसको उचित उपचार भनेको पाठेघरको नियमित जाँच हो।

अन्डाशयमा हुने क्यान्सर कुनकुन हुन् ?
– मुख्यतया अन्डाशयको क्यान्सरलाई तीन भागमा बाँडिएको छ। एउटा महिनाबारी सुकेका महिलालाई हुने क्यान्सर हो जसलाई इपिथेलल ट्युमर भनिन्छ। अर्को युवा महिलालाई हुने ट्युमर हुन्छ, जसलाई जमसेल भनिन्छ। एपिथेलल ट्युमर (अन्डाशयको बाहिरी भागमा हुने क्यान्सर) खतरनाक हुन्छ। जमसेल ट्युमर अन्डाशयको भित्रको तन्तुबाट आउँछ। सेक्सकर्ड ट्युमर अन्डाशयको विशेष तन्तुबाट आउने ट्युमर हो। जमसेल क्यान्सर तीस वर्षभित्रका युवतीमा धेरै हुन्छ। सेक्सकर्ड र इपिथेलल दुवै क्यान्सर उमेर पुगेका महिलामा हुन्छ। युवा उमेरका महिालाको अन्डाशयमा सिस्ट छ भने हामी आत्तिइहाल्देनौं। तर उमेर पुगेका महिलामा सिस्ट देखियो भने खतरा हुन्छ।

अन्डाशय क्यान्सरका मुख्य लक्षण केके हुन् ?
– सुरुमा ग्यास्ट्रिक,अमलपित्तको जस्तो लक्षण देखिन्छ। बिस्तारै ट्युमर बढ्दै गएमा पेट सुन्निएर जाने, खान रुचि कम हुने, तौल बढ्दै जाने हुन्छ। अझ बढी फैलिएमा श्वास फेर्न अप्ठेरो हुने जस्ता समस्या बढ्दै जान्छन्।

अन्डाशय क्यान्सरको जोखिममा कुन उमेरका महिला बढी छन् ?
– यो बढी मात्रामा ५० वर्ष नाघिसकेका महिलामा देखियो भने हामीले गम्भीर समस्याका रुपमा लिन्छौं।

त्यसो भए पचास वर्ष पुगेका महिलाको सिधै पाठेघर निकालेमा समाधान हुन्छ त ?
– यो नै उचित समाधान होइन। अन्डाशयको क्यान्सरको नराम्रो पक्ष भनेको क्यान्सर हुनुभन्दा पहिल्यै नै थाहा पाउने तरिका छैन। जस्तो कि पाठेघरको मुखको क्यान्सरको सुरुमै पहिचान गर्न प्यापस्मेयर जाँच, ह्युमन पेपिलोमा भाइरसको परीक्षण गरिन्छ। तर अन्डाशय क्यान्सर पहिचान गर्ने उपाय छैन। तसर्थ अन्डाशयको क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ। धेरै जसो महिलाको अन्डाशयको क्यान्सर तेस्रो र चौथो अवस्थामा मात्र थाहा पाइन्छ। यो क्यान्सर लागेपछि ग्यास्टिकको लक्षण देखाउँछ।

त्यसो भए अन्डाशयको क्यान्सर समयमै कसरी पत्ता लगाउने त ?
– परिवारमा दिदीबहिनी वा आमामा अन्डाशयको क्यान्सर छ भने सतर्क हुनुप¥यो। नजिकको नातेदारमा यस्तो क्यान्सर धेरैमा छ भने अन्डाशय नै निकालेर फाल्ने उपाय पनि खोजिन्छ। तर अन्डाशय निकालेपछि महिलामा विभिन्न नयाँ समस्या उत्पन्न हुन्छन्। हर्मोनको कमी हुने बित्तिकै शरीर तात्तिने, योनी सुक्खा हुने, यौनसम्पर्कमा रुचि नहुने, डिपे्रसनमा जाने, हड्डी खिइने जस्ता अनेक समस्या आउँछन्। तर पाठेघरको अन्डाशय निकालेर फाल्नु पनि सजिलो कुरा छैन। उच्च जोखिममा रहेका र पचास वर्ष नाघिसकेका महिलाले नियमित पाठेघरको भिडियो एक्सरे गरेमा सुरुकै अवस्थामा पत्ता लगाउन सकिने सम्भावना रहन्छ।

कतिपय नियमित परीक्षण गर्नेहरुमा पनि क्यान्सर भएको देखिन्छ नि ?
– यस्तो पनि भेटिन्छ। नियमित परीक्षणमै आएकी एक महिलामा केही दिनअघि यस्तै घटना भेटियो। अन्डाशयको ट्युमरमा क्यान्सर भेटियो। तर ती बिरामी नियमित परीक्षणमा आएका कारण सुरुकै अवस्थामा क्यान्सर पहिचान भयो। अन्यत्र फैलिएको अवस्था भएन र उनलाई बचाउन सक्यौं।

नेपालमा अन्डाशय क्यान्सरका रोगीको संख्या कति छ ?
– पाठेघरको मुखको क्यान्सर धेरै छ। अन्डाशयको मुखको क्यान्सर र पाठघरको मुखको क्यान्सर फरक हुन्। जसको बच्चा थोरै हुन्छन््,ढिला विवाह गर्छन् या बच्चा बनाउनका लागि औषधि धेरै प्रयोग गरेका हुन्छन्, धेरैपटक महिनाबारी भएको हुन्छ, यस्ता महिलालाई अन्डाशयको क्यान्सर हुन्छ भने जो महिला छिटो विवाह गर्छन्, धेरैजनासँग यौन सम्बन्ध भएमा, पतिको पनि धेरैजनासित यौन सम्पर्क भएका महिलामा पाठेघरको मुखको क्यान्सर हुन्छ।

अहिले थोरै बच्चा जन्माउने चलन छ र ढिला विवाह गर्ने पनि। यस्तो अवस्थाका महिला अन्डाशयको क्यान्सरबाट कसरी बच्ने त ?
– यस्तो अवस्थामा अर्को उपाय छैन। मुख्य कुरा भनेको आफ्नो पाठेघर तथा अन्डाशयको नियमित जाँच गर्ने। गाउँघरतिर पाठेघरको मुखको क्यान्सर धेरै हुन्छ भने सहरमा अन्डाशय र पाठेघरको भित्री भागको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

प्रकाशित: ९ चैत्र २०७५ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App