coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घटीमा ठेक्का लिँदा निर्माण व्यवसाय बदनामित : अध्यक्ष सिंह

सिन्धुपाल्चोक– निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले अत्याधिक घटीमा काम गर्दा निर्माण व्यवसाय क्षेत्र बदनामित भएको बताएका छन्। घटीमा ठेक्का लिने ठेकेदारको संगतै नगर्न निर्माण व्यवसायीलाई उनले आग्रहसमेत गरे। 

‘घटीमा काम गर्दा गुणस्तरीय काम गर्न सकिँदैन। आयोजनाहरु समयमै सम्पन्न गर्न पनि सकिँदैन’, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको छैटौँ जिल्ला अधिवेशनको शुक्रबार चौतारामा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सिंहले भने, ‘यसै कारण निर्माण व्यवसायीप्रति नकरात्मक धारणा बनेको हो।’ निर्माण व्यवसाय क्षेत्रमा बिगतमा कमजोरी भएको स्वीकार्दै उनले घटीमा काम गर्ने ठेकेदारलाई खबरदारी गर्न आग्रह गरे। 

अत्याधिक घटीमा कुनै पनि आयोजनाको ठेक्का नलिन सुझाव दिँदै सिंहले थपे, ‘त्यस्ताको संगतै गर्नु हुँदैन।’ समयमै रकम निकासा नदिँदा अधिकांश आयोजनाहरुमा ढिलाई भइरहेको जनाउँदै उनले समय थप्ने प्रवृत्ति सरकारले नै भिœयाएको आरोप लगाए। ‘समयमा रकम नदिँदा बीचमै काम रोकिन्छ, समयमै सकिँदैन। अनि म्याद थप्न थाल्दा आयोजना सम्पन्न गर्न ढिलाई हुन्छ,’ निर्माण क्षेत्रमा सरकारको कमजारी औँल्याउँदै उनले भने। 

निर्माणमैत्री सार्वजनिक खरिद ऐन ल्याउनुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले उक्त ऐन परिमार्जन गुर्नपर्ने खाँचो दर्शाए। आफूअनुकल खरिद ऐन ल्याउन सबै निर्माण व्यवसायी एक हुनुपर्ने तर्क गर्दै उनले यसो नभए सरकारसामू सशक्त आवाज उठाउने चेतावनी पनि दिए। 

‘पाँच करोड रुपैयाँसम्मको ठेक्का स्थानीय निर्माण व्यवसायीले, १५ करोड रुपैयाँसम्मको प्रदेशस्तर र त्यसभन्दा माथिको ठेक्का योजनामा सबै ठेकेदारले भाग लिन पाउनु पर्छ,’ सरकारलाई दिएको सुझाव जानकारी गराउँदै उनले सुनाए, ‘एक अर्व रुपैयाँमाथिका ठेक्का विदेशीसहित नेपाली निर्माण व्यवसायीलाई संयूक्त रुपमा दिने व्यवस्था मिलाउन आग्रह गरिरहेका छौँ।’

शनिबार सम्पन्न हुने अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ। यस निम्ति ३ सय ९९ निर्माण व्यवसायी प्रतिनिधि सदरमुकाममा भेला भएका छन्। नेकपा, नेपाली कांग्रेस र राप्रपाले व्यवसायी छत्र तामाङको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति बनाउने सहमति जुटाएका छन् भने कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले व्यवसायी सगुन श्रेष्ठको नेतृत्वमा छुट्टै प्यानल खडा गरेका छन्। 

१५ जनप्रतिनिधि ठेकेदार पनि

सिन्धुपाल्चोकका १२ स्थानीय तहका १५ जनप्रतिनिधि ठेकेदारसमेत रहेको खुलेको छ। संघले उद्घाटन शत्रमा स्थानीय तहको निर्वाचनमा विजयी भएको भन्दै आफ्ना सदस्यलाई सम्मानित गरेपछि यो तथ्य खुलेको हो। सम्मानित हुने ठेकेदारमा एक गाउँपालिका अध्यक्ष, १२ वडाध्यक्ष र दुई नगरपालिका सदस्य छन्।

संघले प्रत्यक्ष निर्वाचित ठेकेदारलाई मात्र सम्मानित गरेकाले स्थानीय तहमा अझ धेरै जनप्रतिनिधि ठेकेदार रहेको अनुमान गरिएको छ। स्थानीय तहमा ठेकेदार जनप्रतिनिधि बनेको र जनप्रतिनिधि ठेकेदार जस्ता भएको गुनासो व्याप्त भइरहेका बेला संघले ठेकेदार जनप्रतिनिधिलाई सम्मानित गरेको हो। 

सम्मानित हुने ठेकेदारहरुमा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी (विनोद), उमा दुलाल, रामप्रसाद गौतम, दीपेन्द्र थापा, रामकुमार थापा, कृष्णबहादुर खड्का, सानुकान्छा तामाङ, इश्वर तिमिल्सिना, देवेन्द्र घोरासैनी, मधुकर थापा, बमबहादुर तामाङ, कैलाश थापा, कामी शेर्पा (वडाध्यक्ष) तथा प्रविण घले, कमलबहादुर श्रेष्ठ (नगरसभा सदस्य) छन्। निर्माण व्यवसायी प्रतिनिधिको बिल्ला भिरेर उनीहरु अधिवेशनमा भाग लिइरहेका छन्।

प्रकाशित: ८ चैत्र २०७५ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App