१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?

काठमाडौं– पछिल्लो समय नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहस तात्दै गएको छ। गत मंसिरमा भएको महासमिति बैठकपछि कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दामा औपचारिक रूपमा बहस सुरु भएको छ। 

महासमिति बैठकमा एक समूहले हिन्दू राष्ट्रका लागि भन्दै हस्ताक्षर संकलन अभियान नै चलाएको थियो। जसमा १८ सय बढी महासमिति सदस्यमध्ये सात सय बढीले हिन्दू धर्मका पक्षमा हस्ताक्षर गरेका थिए। 

पार्टीभित्र महामन्त्री डा.शशांक कोइराला नै हिन्दू राष्ट्रको पक्षमा देखिन्छन्।  धर्मका सन्दर्भमा जनमतसंग्रह गरेर जानुपर्ने तर्क राख्दै आएका छन्। पछिल्लो समय महामन्त्री कोइरालाले धर्मको विषयमा जनमतसंग्रहको प्रसंग उठाउन थालेपछि उनको आलोचना हुन थालेको छ। 

हुन त कांग्रेसले धर्म निरपेक्षताको मुद्दा लिएर अघि बढ्ने कुनै अपौचारिक निर्णय गरेको छैन। तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीलाई धर्म निरपेक्षताको बाटोमा अघि सार्दै अन्तरिम संविधान २०६३ मा धर्म निरपेक्षता राष्ट्र उल्लेख गरेका थिए।

त्यसबेला अन्तरिम संविधान मस्यौदा समितिको सभापति कृष्णप्रसाद सिटौला थिए। पछि २०७२ सालमा संविधान जारी हुँदा पनि देशमा कांग्रेस कै नेतृत्व थियो। तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेको थियो। त्यसताका पनि संविधान मस्यौदा समितिको सभापति सिटौला नै थिए। पार्टीले औपचारिक निर्णय नगरे पनि आफ्नै नेतृत्वमा आएको संविधानको रक्षा गर्नु र त्यसलाई मान्नु पार्टीको जिम्मेवारीमा रहेको नेताको जिम्मेवारी रहेको कांग्रेसका शीर्ष नेताहरू बताउँछन्। 

आफ्नै नेतृत्वमा आएको संविधानका मुलभूत विषयमा पार्टी नेतृत्व तहका नेताले नै जनमतसंग्रहको विषय पटकपटक उठाएपछि पार्टीभित्र अहिले हलचल मच्चिएको छ। पार्टीका केही नेताहरूले महामन्त्री कोइरालालाई कारवाही गर्नुपर्ने विषय उठाउन थालेका छन्। 

संविधान मस्यौदा समितिको संयोजकका रूपमा काम गरेका पार्टी पूर्वमहामन्त्री सिटौला संविधानविपरीत उठ्ने यस्ता धारणालाई निस्तेज पार्नुपर्ने बताउँछन्। ‘हाम्रै पार्टीभित्र पनि संविधानविपरीतको धार आएको देखिन्छ। यसलाई निस्तेज गर्नुपर्छ’, उनले भने।  

महामन्त्री कोइरालाको अभिव्यक्ति पार्टीको नीति र संविधानविपरीत भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। यसले सिंगो कांग्रेस र महामन्त्री कोइरालालाई नै फाइदा नगर्ने विश्लेषक गेजा शर्मा वाग्लेको धारणा छ।

‘उहाँले दिएको अभिव्यक्ति कांग्रेसको नीति मात्र हैन संविधानविपरीत नै छ। उहाँको माग देशको हितमा हुँदैन। यसले द्वन्द्व निम्त्याउँछ’, उनले भने, ‘उहाँ पार्टीभित्र कन्जरभेटिभ धारको नेतृत्व गर्न खोज्दै हुनुहुन्छ। यसले पार्टी र उहाँलाई फाइदा गर्दैन।’

महामन्त्री कोइराला हिन्दू धर्मको विषयलाई उठाएर पार्टीको आउँदो महाधिवेशनमा फाइदा लिने दाउमा रहेको उनी बताउँछन्। ‘उहाँले हिन्दू राष्ट्रमा जनमतसंग्रहको विषय उठाएर महाधिवेशनमा गणितीय जोडघटाउ गरिरहेको देखिन्छ। उहाँ यो मुद्दालाई निर्णायार्थ ठाउँमा पु-याउन चाहनुहुन्न’, वाग्लेले नागरिकसँग भने, ‘कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू धर्मको विषयलाई लिएर राजनीति गर्छन् जस्तो मलाई लाग्दैन।’

महामन्त्री कोइराला यो विषयलाई पार्टीको बैठक र आधिकारिक फोरममा उठाउँदैनन्। उनले अहिलेसम्म धर्मको विषयलाई पार्टीका कुनै निकायको बैठक तथा महाधिवेशनमा एजेण्डाको रूपमा प्रस्तुत गरेका छैनन्। तर उनी सार्वजनिक कार्यक्रममा भने धर्मबारे जनमतंग्रहमा जानुपर्ने धारणा राख्दै आएका छन्। 

यसले पार्टीलाई भड्खालोमा पु-याउने कांग्रेस नेता गगन थापा बताउँछन्। ‘पार्टीको अधिकारिक फोरम र बन्द कोठामा चुइक्क नबोल्ने तर सार्वजनिक कार्यक्रममा संविधानको विपरीत जनमतसंग्रह गर्नुपर्छ भन्ने?’, उनले भने, ‘यसले पार्टीलाई भड्खालोमा पु-याउँछ।’

तर सभापति निकटका नेता मीन विश्वकर्मा भने महामन्त्रीले उठाएको विषयको सन्दर्भ अहिले नमिले पनि मुद्दा भए सही भएको बताउँछन्। महामन्त्री कोइरालाले हिन्दू राष्ट्रको कुरा गरेको नभई धार्मिक स्वतन्त्रताको कुरा गरेको भन्दै विश्वकर्माले बचाउ गरे।
‘महामन्त्रीले उठाएको विषय धार्मिक स्वतन्त्रताको हो, उहाँले देश धर्ममा निरपेक्ष र सापेक्ष दुवै हुँदैन भन्न खोज्नु भएको हो’, विश्वकर्माले भने, ‘तर उठाएको सन्दर्भ मिलेन। न हाम्रै नेतृत्वमा संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षतासहितको संविधान आएको हो। न अहिले जनमतसंग्रहको कुरा आएको छ न अर्को संविधान लेख्ने समय आएको छ।’

प्रकाशित: ८ चैत्र २०७५ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App