१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

तस्बिर : धादिङ प्रहरीले बरामद गरेको एक सय ६४ किलो चरेससहित पक्राउ परेका भारतीय नागरिक।

धादिङ – धादिङ प्रहरीले पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन्। काठमाडौँमा सामान छाडेर भारतको मजहफपुर नगर सामली उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो। ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो।  

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ। खासगरी भारतीय कन्टेनरहरु र भारतीय नागरिकहरु बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।

पृथ्वी राजमार्गको नाका हुँदै भारतीय कन्टेनरको क्याबिनमा लुकाई लागुऔषध लैजाने गरेका छन’्, प्रहरी निरीक्षक ढुंगेलले भने, ‘सामान्य खालका लागुऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ, सामान लिएर नेपालमा आउने र फर्कदाँ लागुऔषध लैजाने गरेका छन्।’ 

भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध कारोबारको ‘हब’ बनाएका छन्। लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय कन्टेनर र भारतीय नागरिक हुने गरेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले पनि भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यकालाई मानेको छ। काठमाडौँमा सामान पु¥याउने र फर्कंदा लागुऔषध लिएर भारत जाने गरेका छन्। यसरी भारत लैजाँदै गरेको लागुऔषध प्रहरीको फन्दामा पर्ने गरेका छन् भने केही सीधै भारतमै पुग्ने गरेको छ।  

भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध कारोबारको ‘हब’ बनाएका छन्। लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय कन्टेनर र भारतीय नागरिक हुने गरेका छन्।

धादिङका डीएसपी प्रकाश विष्टका अनुसार लागुऔषध करोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले नेपाल उनीहरूका लागि लागुऔषध करोबार गर्ने उपयुक्त बजार रहेको पुष्टि हुने बताए। ‘पक्राउ पर्नेमध्ये अधिकांश भारतीय छन्’, डीएसपी विष्टले भने, ‘लागुऔषध बेच्ने उपयुक्त मार्केटका रूपमा नेपाललाई विकास गर्न लागेको यी घटनाले पुष्टि गर्छ, यसतर्फ प्रहरी सचेत छ।’ कुनै कुनै घटनामा भने लागुऔषध कारोबारी गर्ने तस्कर उम्कने र भरिया मात्र समातिने गरेको उनले बताए।   

पछिल्लो समयमा लागुऔषध तस्करीले भारतीय मालवाहक साधनमा चरेस तस्करी गर्ने गरेको खुलेको छ। चरेससहित प्रहरी नियन्त्रणमा रहेका भारतीय मालवाहक साधनलाई हेर्दा तस्करीले यस्तो उपाय लगाएको प्रहरीको निष्कर्ष छ। भारतीय साधनमा प्रहरीले खासै कडाइ नगर्ने र हेरिहाले पनि कागजपत्र मात्र हेर्ने भएका कारण तस्करले भारतीय कन्टेनर भारत तस्करी गर्ने गरेको प्रहरी बताउँछ। 

नेपाली ट्रकमार्फत लैजाँदा सीमाक्षेत्रमा नेपाली ट्रकबाट निकालेर फेरि भारतीय ट्रक तथा कन्टेनरमा लोड गर्न झन्झट हुने भएकाले तस्करले सीधै भारतीय कन्टेनरमार्फत भारततर्फ सप्लाई गर्ने धादिङका एसपी राजकुमार वैदवारले बताए। ‘अवैध लागुऔषध चरेसको मुख्यबजार भनेकै भारत हो’, एसपी बैदवारले भने, ‘खुला सीमा र खुकुलो नाकाका कारण भारतीय लागुऔषध कारोबारी नेपाली बजारमा सजिलै छिर्छन्। भारतीय सवारीसाधन बिनाजाँच सजिलै नेपाल प्रवेश गर्नुले पनि भारतीय लागुऔषध कारोबारीलाई सजिलो भएको छ।’

महिनैपिच्छे ठूलो परिमाणमा चरेस बरामद

प्रहरीले गत पुस १९ गते गजुरी बजारबाट दुई सय ३५ किलो चरेससहित दुई भारतीयलाई पक्राउ गरेको थियो। चरेससहित उत्तर प्रदेश निघौली सिहोदावाद रोड निवासी सत्येन्द्रसिंह वेघल र कन्टेनरमा सवार पर्सा सोनवर्षा ५ का लालमोहम्मद गद्दीलाई पक्राउ गरिएको हो। विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्युरोसहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको भारतीय कन्टेनरमा क्याबिनमाथिको भागमा फल्स बटन बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा चरेस बरामद गरिएको थियो।

त्यस्तै गत माघ २७ गते तीन सय ६० किलो चरेससहित तीन भारतीयलाई पक्राउ गरेको थियो। काठमाडौँबाट चितवन हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा जाँच गर्दा एचआर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरको क्याबिनको माथिल्लो भागमा प्लास्टिकको १५ वटा बोराभित्र ७०२ वटा प्लास्ष्टिकका पोका पारी लुकाइ राखेको अवस्थामा फेला पारेको थियो।

उक्त घटनामा कन्टेनरका चालक भारत मैनपुरी जिल्ला कुरावली थाना सरिफपुर उत्तरप्रदेश बस्ने ६४ वर्षीय ओम प्रकाश, मोतिहारी तुमरिया ५ रक्सौल बस्ने ३४ वर्षीय गुलाब खाँन र सहचालक फरुखावाद दिउरा महसौना सिलसंडा उत्तरप्रदेश बस्ने २९ वर्षीय मोरपाल बर्मा पक्राउ परेका थिए। 

त्यसैगरी फागुन २६ गते गजुरीबजारबाट नै एक सय ५ किलो चरेससहित तीन जनालाई पक्राउ गरिएको थियो। गजुरी हुँदै वीरगन्जतर्फ जाँदै गरेको चेन्नई एक्सप्रेसको ना५ख २८१२ नम्बरको बस जाँचका क्रममा प्रहरीले चरेस फेला पारेको हो। प्रहरीले चरेस ओसारपसारमा संलग्न रहेको आशंकामा बसका चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ८ का ४५ बर्से लालवहादुर शाह, सह चालक बारा करैयामाई गाउँपालिका ७ का ३५ बर्से अनिल चौधरी र विवाहका लागि भन्दै बस रिजर्भमा लिएर आएका पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका ३ का १९ बर्से श्रीराम साह कानूलाई पक्राउ गरेको थियो।

पृथ्वी राजमार्गमा लागुऔषध ओसारपसारको मुख्य नाका बनेको छ। प्रहरीले हरेक हप्ताजसो अवैध लागुऔषध बरामद गर्ने गर्छ। पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै अवैध लागुऔषध चरेस तथा गाँजाको ओसारपसार बढ्दै गएको छ। 

 

प्रकाशित: ८ चैत्र २०७५ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App