१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दैछन् : नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिलाई गाह्रो भएको उनले गुनासो गरे।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ। तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ। किनभने मन्त्री र सचिवले कमिसन माग्दा रहेछन्।’ 

उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्याएको आरोप लगाए। सरकारको गलत रबैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ। 

‘दुई तिहाई प्राप्त सरकारले के गरेको छ? निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ’, नेता सिंहले भने, ‘आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ।’  

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे। ‘काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो?’ काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले भने, ‘वर्षा हुँदाखेरी हिलैहिलो, घाम लाग्दाखेरी धुलैधुलो। हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताको चित्त बुझाउन।’

उनले अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए। विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको जोड छ। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्यो त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सक्छौं।’

प्रकाशित: ८ चैत्र २०७५ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App