७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई तिहाई पाएकाे सरकारले केही गर्न सकेन : नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाई बहुमतप्राप्त केपी ओली नेतृत्वले जनताको चाहनाअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सरकारले जनतालाई झुक्याउनेबाहेक केही काम गर्न नसकेको आरोप लगाएका हुन्। ‘दुई तिहाई प्राप्त सरकारले के गरेको छ’, उनले भने, ‘निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ।’

उनले ओली नेतृत्वको सरकारका भ्रष्टाचारको पोल क्रमशः खुल्दै जाने दाबी गरे। ‘केपी ओलीजी म पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्नुहुन्छ। तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ’, उनले भने, ‘किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन्। त्यो विस्तारै खुल्दै जाँदैछ।’ 

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे। ‘काठमाडौंमा मास्कसास्क केही लगाउनुपर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो?’, काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले भने, ‘वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो।

हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन।’ उनले पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि पार्टीको सम्बन्धित पक्षलाई सचेत गराइसकेको बताए।

प्रकाशित: ८ चैत्र २०७५ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App