coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ब्रुमरको रुट तयार

काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न ब्रुमर चलाउने रुट तयार पारेको छ ।  महानगरपालिकाले साताअघि इटाली कम्पनीबाट  पाँच ब्रुमर काठमाडौं ल्याएको थियो।  महानगरपालिकाका अनुसार पहिलो पटकमा दरवारमार्ग, जमल, कान्तिपथ, नयाँ बानेश्वर, लाजिम्पाट, नारायणहिटी, न्युरोड, कालीमाटी, ठमेललगायत क्षेत्रको सडकमा ब्रुमरबाट सडकको धुलो सफा गरिने छ।
ब्रुमर सञ्चालन गर्ने जिम्मा महानगरपालिकाको वातावरण विभागले पाएको छ। महानगरपालिकाले साढे १० करोड रूपैयाँको लागतमा पाँच बु्रमर खरिद गरेको हो। महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सडक विभाग, नेपाल टेलिकम लगायत निकायसँग छलफल गरिसकेकाले साताअघि नै ब्रुमर सञ्चालन गरी सडकको धुलो सफा गर्ने बताए। ‘हामीले ब्रुमर चलाउनेको सेड्युल तयार गरिसकेका छौँ,’ उनले भने, ‘यसका लागि महानगरका मेयर, सडक विभाग लगायतसँग छलफल गरिसकेका छौँ। उहाँहरूको समन्वयमा बु्रमर सञ्चालनको लागि सबै प्रक्रिया पूरा गरी छिटोमा सोमबार र ढिलोमा सातादिनसम्म ब्रुमरको उद्घाटन गर्नेछौँ।’

खाल्डाखुल्डी नभएको सडकमा ब्रुमर लगाएर सफा गरिने उनले बताए। उनका अनुसार काठमाडौं महानगरपालिकासँग अहिले पाँच बु्रमर छन्। गत मंगलबार एक बु्रमर ल्याइएको हो। बु्रमरको इन्सुरेन्स, रजिस्टे«सन नम्बर राख्ने लगायत प्रक्रिया पूरा गर्न अझै बाँकी रहेको उनले जानकारी दिए। ‘यो टेक्निकल कुरा हो। सिस्टमले सिक्नुपर्छ,’ उनले भने, ‘अहिले पाटपूर्जाको सामान हाल्ने तथा सिकाइ प्रक्रिया भइरहेको छ।’

उनका अनुसार राष्ट्रिय सभा गृहमा बु्रमर राखिएको छ। ब्रुमरको करिब पाँच घनमिटरको फोहोर उठाउने क्षमता छ। सडक खाल्डाखुल्डी भएकाले बु्रमर प्रभावकारी नहुने विज्ञहरूले औल्याएका छन्। त्यसकारण सडक पिच गरेर मात्रै बु्रमर चलाउनु उपयुक्त हुने उनीहरूको सुझाव छ।

पूर्वाधारविद् सूर्यराज आचार्य सडक पूर्ण रूपले मर्मत गरेरमात्रै ब्रुमर चलाउँदा उपयुक्त हुने बताउँछन्। ‘सडकमा ब्रुमर चलाउनु भनेको बसिलाले तास्नुपर्ने फर्निचरको काठमा खाक्सी लगाएजस्तो हो। काठलाई पहिला बसिलाले तासिन्छ। त्यसपछि रन्दा चलाइन्छ। त्यसपछि मात्र खाक्सी लगाइन्छ,’ उनले भने, ‘त्यसैले ब्रुमरले फोहोर उठाउनका लागि सडक चिल्लो चाहिन्छ। यहाँ खाल्डाखुल्डी नभएका कुनै सडक छैनन्। कतिपय सडकमा कालोपत्रे उप्केका छन्। त्यसैले सडक कालोपत्रे गरेर मात्र ब्रुमर चलाउनु  बुद्धिमानी हुन्छ।’ ढिलै भए पनि सडक पूर्ण रूपले मर्मत गरी ब्रुमर चलाउनुपर्ने उनको सुझाव छ।

‘महानगरपालिकाले ब्रुमर ल्याए पनि पहिलो सडक र पेटी बनाउनुपर्छ। एक महिना ढिला भए पनि खाल्डाखुल्डीमा पिच गरेपछि ब्रुमर चलाउँदा उपयुक्त हुन्छ,’ उनले थपे। उनका अनुसार जमल, पुतलीसडक, चावहिललगायत क्षेत्रका सडकमा मात्रै ब्रुमर चलाएर हुँदैन। हिलाम्मे भएका बौद्ध, जोरपाटी लगायत क्षेत्रका सडकको हिलो गाडीको चच्काले ल्याएर सफा भएको सडकमा पनि फोहोर र धुलो बनाउँछ। त्यसैले पहिला गोकर्ण, जोरपाटी क्षेत्रका सडक पिच हुनु पर्छ।

काठमाडौंको एयरपोर्ट, माइतीघर, महाराजगञ्ज, कोटेश्वर, थापाथली, त्रिपुरेश्वरबाहेक अरु सबै सडकमा खाल्डा छन्। यी बाहेक अरु ठाउँका सडकमा अहिले पनि मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको खानेपानीको पाइप हाल्न खाल्डो खनिरहेकाले सडकमा कालोपत्रे छैनन्। सडकमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा सहरवासी आक्रन्ता छन्। त्यसकारण ब्रुमर चलाउनुअघि सडक पिच हुनुपर्ने सहरवासीको माग छ। यसअघि भिभिआइपीको सवारी रहेका बेला महानगरपालिका र सडक विभागबीच आपसी समन्वय गर्दै विभागसँग रहेका दुई वटा ब्रुमरबाट सडकको धुलो सफा गरिन्थ्यो।

 

प्रकाशित: ८ चैत्र २०७५ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App