६ वैशाख २०८१ बिहीबार
राजनीति

चिठीबाटै राजपा–फोरम एकता प्रस्ताव

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालले एकअर्कोलाई चिठी पठाएर पार्टी एकीकरण वार्ता प्रक्रिया अघि बढाएका छन्। फोरम नेपालले बुधबार राजपालाई दोस्रो चिठी पठाएको छ। करिब एक महिनाअघि फोरमले राजपालाई एकता प्रस्तावसहितको पहिलो चिठी पठाएको थियो। फोरमको प्रस्तावलाई सकारात्मक मान्दै एक साताअघि राजपाले पनि चिठी पठाएको थियो।

फोरमका महासचिव रामसाह यादवले बुधबार राजपालाई पठाएको चिठीमा वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। वार्ताटोली गठन गरिएको जानकारी औपचारिक रूपमा दिन चिठीमा आग्रह गरिएको यादवले बताए। उनले भने, ‘हामीले औपचारिक रूपमा वार्ताटोली गठन गरेका छौं। राजपाले पनि वार्ताटोली गठन गरेको जानकारी आउनेबित्तिकै औपचारिक रूपमा वार्ता अघि बढ्छ।’ वार्ता प्रक्रियालाई जतिसक्दो चाँडो अघि बढाउन फोरम तयार रहेको उनले बताए। उनले एकताका लागि राजपाबाट एक साताअघि आफ्नो पार्टीलाई पत्र आएको स्वीकारे।

चिठीमा दुवै पार्टीले एकीकरणका लागि तयार भएको जनाएका छन्। दुवै पार्टीले केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई यथास्थितिवादी भन्दै वैकल्पिक राजनीतिक शक्ति निमार्ण अभियानलाई पूणर्ता दिन पार्टी एकीकरण आवश्यक भएको जनाएका छन्।

नेकपा यथास्थितिवादी पार्टी हो : फोरम, यथास्थितिवादी पार्टीलाई किन मलजल गरेको : राजपा

फोरम स्रोतका अनुसार उसले राजपालाई पठाएको चिठीमा केन्द्रमा सत्ताको नेतृत्व गरेको नेकपालाई यथास्थितिवादी भनिएको छ। सो पत्रमा राजपा र फोरम एकीकरणले देशको प्रतिकूल राजनीतिक सन्तुलनलाई अनकूल बनाउने उल्लेख छ। राजपाले पत्रमार्फत यथास्थितिवादी पार्टीसँग किन सत्ता सहकार्य गरको र उसलाई मलजल गरेको भनेर प्रश्न राखेको छ। राजपा स्रोतका अनुसार चिठीमा लेखिएको छ, ‘फोरमले यथास्थितिवादी पार्टीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्न, मनोमानी गर्न र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्क्याउन दुईतिहाइ पु-याइदिएको छ। जुन अत्यन्त दुभाग्र्यपूर्ण छ।’

साथै पत्रमा वर्तमान राजनीतिक स्थितिमा केन्द्रीय राजनीतिको दुई ध्रुव सत्तापक्ष र प्रतिपक्षमा रहेको दुई पार्टीबीच कसरी एकता हुन्छ भन्ने प्रश्न पनि गरिएको छ। पत्रमार्फत राजपाले पार्टी एकीकरणका लागि वार्ता अघि बढाउन पनि फोमलाई आग्रह गरेको छ। राजपाले फोरमलाई पठाएको चिठीको अन्तिम हरफमा पार्टी एकताका लागि विनम्रतापूर्वक आग्रह गरिएको छ। उसले पार्टी एकताका लागि फोरमले साहसिक निर्णय गर्ने अपेक्षा गरेको छ।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले एक साताअघि पार्टीले फोरमलाई चिठी पठाएको स्वीकार गर्दै वार्ताको वातावरण बन्दै गएको बताए। उनले भने, ‘चिठी आदानप्रदान भएको छ। विस्तारै वार्ताको वातावरण बन्दै गएको छ।’

पार्टी एकीकरणका लागि राजपासँग वार्ता गर्न फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको छ। राजपाले पनि राजेन्द्र महतोको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। फोरमको वार्ताटोलीमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसाह यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव इस्तियाक राई सदस्य छन्। यसैगरी राजपाको वार्ताटोलीमा वृषेसचन्द्र लाल, केशव झा, सुनिल रोहित र रमेश यादव सदस्य छन्।

राजपाका नेताहरूले यसअघि फोरमसँग पार्टी एकीकरण गर्न उसले केन्द्रमा सरकार छाड्नुपर्ने सर्त राख्दै आएका थिए। राजपाले फोरमलाई पठाएको चिठीमा पनि घुमाउरो किसिमबाट त्यही सर्त राखिएको छ। राजपा स्रोतले भन्यो, ‘वार्ताका लागि वातावरण बनाउन भनी फोरमलाई आग्रह गर्नुको आसय सरकार छाड्नु भनिएको हो।’ राजपा अध्यक्ष मण्डलका सदस्य यादवले भने पार्टी एकीकरणका लागि फोरमले सरकार छाड्नुपर्ने सर्त नराखिएको बताए।

प्रकाशित: ८ चैत्र २०७५ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App