७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुस्साहसी र सक्रिय : जो विरासतले नेता भए

- दुर्गा सुवेदी 

बीपीको राजनीतिक उत्तराधिकारीका रुपमा गिरिजा नेपाली राजनीतिमा उदय भएका हुन्। पञ्चायतकालमा बीपी जेलमै हुँदा गिरिजा जेलमुक्त भएर बाहिर सक्रिय हुन थालेपछि उनको राजनीतिक उदय भयो। तर, उनको पूर्ण उदय भने बीपी भारत निर्वासनबाट स्वदेश फर्किएपछि भएको हो। कांग्रेसभित्र धेरै सम्भावना भएका मानिस हुँदा हुँदै पनि बीपीले गिरिजालाई पार्टीको महामन्त्री नियुक्त गरे। त्यसपछि नेपाली राजनीतिमा अविच्छिन्न उनको उदय भएको मान्न सकिन्छ।

युवासँग राम्रो सम्बन्ध त उनको थियो नै। त्यसमाथि महामन्त्री भएपछि विभिन्न स्वार्थ समूहले उनलाई घेर्न थाल्यो। राजनीतिमा उनको क्रियाशीलता त थियो नै। साथै महामन्त्री पदले उनलाई पार्टी सञ्चालन र निर्णय प्रक्रियामा पनि हावी हुने अवसर दियो। यसले उनलाई कांग्रेस र समग्र राजनीतिमा पूर्ण रुपमा उदय हुने बाटो प्रशस्त गरिदियो भन्न सकिन्छ।

गिरिजा जोखिम मोल्थे। आखिर राजनीति भनेको जोखिमको खेल नै त रैछ। जसले महत्वपूर्ण घडीमा जोखिम मोल्न सफल भयो त्यो नै राजनीतिमा अघि बढ्ने रैछ।

बीपीपछि कांग्रेसको नेतृत्व तीन नेताले गरेका थिए। कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजा। गिरिजा एक्सन ओरियन्टेड मान्छे थिए। उनलाई यो काम गर्नुपर्छ भन्ने लाग्यो भने त्यो गरि हाल्थे। कृष्णप्रसाद र गणेशमानमा त्यो खालको चरित्र थिएन। उनीहरु आफ्नो कदमले पार्टीलाई कस्तो फाइदा र घाटा पुर्याउँछ भन्ने लेखाजोखा बढी गर्थे। 

गिरिजा जोखिम मोल्थे। आखिर राजनीति भनेको जोखिमको खेल नै त रैछ। जसले महत्वपूर्ण घडीमा जोखिम मोल्न सफल भयो त्यो नै राजनीतिमा अघि बढ्ने रैछ। गिरिजा पनि यसरी नै अघि बढे।

अध्ययन प्रेमी बीपी, क्रियाशील गिरिजा

बीपी कोइराला पनि हामी जस्तै मानिस थिए। तर, उनलाई नभेट्दासम्म हामीलाई उनी अलौकिक मानिस हुन् भन्ने विश्वास दिलाइएको थियो। उनी अलौकिक मानिस नभए पनि सामान्य मानिसमाभन्दा उनको ज्ञानको भण्डार अधिक रहेको भने मानुपर्छ। बीपी कै संगतमा लागेर हामी पनि पढ्ने भएका थियौँ। जेल मुक्तभएपछि बीपीले हामीलाई पढ्ने मात्रै होइन समाज बुझ्न पनि सक्नुपर्छ भन्ने ज्ञान दिए। लेखपढ त सबैले गर्छन् त्यसको अलावा किताबमा रहेको ज्ञानसँगै समाजलाई पनि बुझ्नुपर्छ भन्ने उनको धारणा थियो। 

गिरिजामा लेखपढ गर्ने बानी नै थिएन। उनले आफ्नो जीवनकालभरि एक हरफ पनि सायदै केही लेखे। बोल्ने मामलामा पनि उनी कमजोर नै थिए। कहीँ कतै बोल्दा कसैले उनको भाषण लेखिदियो भने त्यसमा गहनता देखिए पनि अन्य भाषणमा गहनताको शून्यता नै बढी देखिन्छ।

पार्टीको क्रियाशीलताका मामिला र पार्टीको जनशक्ति निर्माणमा नेपाली कांग्रेसले गिरिजाजत्तिको मानिस अब सायदै पाउला। साइकल चढेर गाँउगाउँसम्म पुग्दै पार्टीलाई गतिशील बनाउने मामिलामा उनको मुकाबिला कसैसँग हुन सक्दैन। ती दिनमा उनलाई साथ दिने मान्छेमध्ये म पनि एक हुँ। पार्टीका क्रियाकलापलाई गतिशील बनाइराख्न सक्रिय उनी बोल्ने मामिलामा भने मलाई अघि सार्थे। त्यो बेला नेविसंघको जिल्लास्तरीय नेता रहेको म विशेषगरी सुनसरी, मोरङ क्षेत्रको पार्टी गतिविधिमा उनको तर्फबाट बोल्ने गर्थे। भोलि त्यहाँ जाम, पर्सि त्यहाँ जाम, म यहाँ आउँछु यतिबाहेक उनी खासै बोल्दैनथे। पार्टीलाई प्रतिबन्ध लगाएका कारण देश दौडाहा गर्न सक्ने स्थिति थिएन।

गिरिजाप्रसाद एकदमै क्रियाशील मानिस हुन्। मान्छे भेट्नुलाई नै संगठन निर्माण हो भन्ने उनको बुझाइ थियो। विराटनगरमा हुँदा कि आफैं एउटा सानो गाडी थियो जुन आफै चलाउँथे। कोही मान्छे आएनन् भने गाडीमै गाउँमा जान्थे र कोही मान्छेलाई गाडीमा राखेर गाउँ घुमाउँथे। गर्ने केही होइन बस घुमिरहने। आफू बसेको ठाउँमा पनि मान्छे बोलाउँथे। तर, निस्किृय कहिल्यै बसेनन्।

भारत निर्वासनमा बस्दा पनि उनी त्यस्तै थिए। कहिले दिल्ली, कलकत्ता, बनारस, फारबिसगञ्ज, पटना सीमा क्षेत्रमा घुमिरहने उनको बानी थियो।

कम्युनिस्टविरोधी गिरिजा 

हामीले विद्यार्थी राजनीति गर्दा भएका अधिकांश विद्याथीसंंघबीचको लडाइँ उनकै कारण भएको हो। कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएकाले कम्युनिस्टलाई सिध्याउनुपर्छ भन्ने उनको सधैंको एउटै बोली हुन्थ्यो। एक त देशमा भएका कांग्रेस र कम्युनिस्टलाई लडाउन पञ्चायती सरकार लागिपरेको थियो, अर्कोतर्फ यो प्रवृत्तिलाई प्रश्रय दिने काम गर्थे गिरिजा। तत्कालीन समयमा युवाहरुलाई आफूप्रति आकर्षित गर्न जिम क्लब खोल्ने, पुस्तकालय बनाउने काममा पनि उनी सक्रिय रहे।

आफू जेल जानुअघि देशमा कांग्रेसको एकछत्र राज देखेका उनले जेलमुक्त भएपछि देशमा कम्युनिस्ट पनि बढ्दै गएको देखेर हुनुपर्छ उनी कम्युनिष्टलाई सिध्याउनुपर्छ भन्ने विचारमा अडिग थिए। कम्युनिस्टहरु चिनियाँ साहित्य पढ्थे, माओको ब्याच लगाउँथे र हरेक क्षेत्रमा सबल हुँदै गएका थिए। 

शान्ति वार्ताको प्रयास हुँदै गर्दा किशुन जीबाट एउटा गल्ती भयो । उहाँले हामीले गरेको प्रयास राजा वीरेन्द्रलाई भन्नुभयो ।

कांग्रेसले कम्युनिस्टलाई चिनियाँ दलाल भन्ने गर्थे भने कम्युनिस्टहरु कांग्रेसलाई भारतीय दलाल। सैद्धान्तिक हिसाबमा कम्युनिस्टलाई पराजित गर्न नसक्ने भएरै हुनुपर्छ गिरिजाबाबु उनीहरुलाई शक्ति प्रयोग गरेर सक्नुपर्छ भन्ने सोचाइमा थिए।
कम्युनिस्ट साहित्यसम्बन्धी किताब भएका पुस्तक पसलमा जलाउन उनले दिएको निर्देशन पनि हामीले पालना ग-यौँ। एउटा वैद्य थर भएका मानिसको पसल थियो पूर्वमा उनको पसलमा पनि आगो लगाइयो। त्यो बेला लडाइँबिना कुनै चुनाव नै भएन। विद्यार्थी निर्वाचनमा हुने लडाइँ मोरङबाट फैलिएरपछि त्रिभुवन विश्वविद्यालयसम्म आइपुग्यो। गिरिजा जेलमुक्त भएपछि विद्यार्थीहरुबीचको मारपिटको शृंखला सुरु भएको हो, जुन आजपर्यन्त छ।

सैद्धान्तिक र वैचारिक रुपमा बलियो नभए पनि गिरिजा नेपाली राजनीतिमा स्थापित हुनुको कारण उनको खटिन सक्ने क्षमता नै हो। परशुुनारायण चौधरी, तुलसी गिरी जस्ता नेता पञ्चायतको सुख सुविधातिर लागेपछि कांग्रेसलाई जनतामाझ पु-याउने काम उनकै पहलमा भएको हो।

२०१५ सालको पहिलो संसदीय निर्वाचनमा कांग्रेसका उमेदवार प्रायः जमिनदार थिए। उनीहरुले निर्वाचन पनि जिते। कम्युनिस्टले यो विषयलाई मुद्दा पनि बनायो र भन्यो–कांग्रेस सामनतको पार्टी हो। आखिर हो पनि। मोरङमा कांग्रेसले जिम्दारलाई निर्वाचनमा उठाएको थियो। बीपीले एक ठाउँबाट र अरु दुई ठाउँबाट अन्य एउटा चौधरी र अर्को राजवंशी थर भएकाले निर्वाचनमा जितेका थिए।

नेपालमा सैद्धान्तिक राजनीतिको सुरुवात बीपी भारत निर्वासनबाट नेपाल फर्किएपछि मात्रै भएको हो। त्योभन्दा अघि नेपालमा हिंसाको राजनीतिले ठाउँ लिएको थियो। बीपी फर्किएपछि नेपालमा स्वतन्त्र ढंगले उनको पक्षमा अखबार निस्किन थाल्यो, प्रजातन्त्रका पक्षमा जनमत बनाउने थालनी भयो। होमनाथ दाहालले ‘राष्टपुकार’ भन्ने पत्रिका प्रकाशन गर्थे, बीपीको समर्थनमा। साप्ताहिक अखबारले वैचारिक कुरालाई प्राथमिकता दिन थालेपछि मात्रै नेपालमा वैचारिक हिसाबमा बहस गर्ने थालनी भएको हो।

बीपी शालिन व्यक्तित्व थिए। उनी आफ्नो आलोचना पनि सुन्न सक्थे, तर गिरिजामा यस्तो सहनशीलताको कमी थियो। बीपी आफैं भन्थे, ‘गिरिजाको विरोध नगर्नू ऊ विरोध सहनै सक्दैन भनेर।

संस्कारी परिवार

ओखलढुंगा काण्डमा रामलक्ष्मणसहित दुई सय युवा मरेपछि मैले गिरिजाप्रसादलाई भने तपाईंहरुका सन्तात विदेशमा पढ्ने र हामी जस्ताको सन्तान आन्दोलनका नाममा मर्ने, के यही हो प्रजातन्त्रको लागि लडाइँ भनेर मैलै गिरिजा बाबुलाई हाँसी हाँसी भनें, उनले अँध्यारो मुख लाए।

यो विषयमा मैले आन्तरिक रुपमा चिठी लेख्ने काम पनि गरें। मेरो चिठी समातियो, र, ममाथि हमला गर्ने योजना बन्यो। त्यसअछि मेरो र गिरिजाको सम्बन्ध अत्यन्त राम्रो थियो। उनले आफ्नो नजिकको पात्रका रुपमा मलाई राखेका थिए। तर चिठी काण्डपछि हाम्रो सम्बन्ध बिग्रियो।

तर परिवारले सिकाएको संस्कारले गिरिजालाई मप्रति द्वेष राखिरहन दिएन।

कोइराला परिवारमा एक खालको संस्कार थियो। जस्तोसुकै ठाउँ भए पनि निमन्त्रणा आएको छ भने जाने। बोलाएको ठाउँमा नजाँदा कोइरालाहरु ठूलो पल्टिए भन्छन् कि भनेर पनि उनीहरु बोलाएको ठाउँमा जाने गरेको जस्तो लाग्छ। सम्बन्ध जस्तै भए पनि मनमा तुष राखेको उनीहरु देखाउँदैन थिए। जहाँ भेटे पनि बोल्ने गर्थे। पारिवारिक संस्कारकै उपज हुनुपर्छ, यो स्वभाव गिरिजामा पनि थियो। त्यसैले भारत निर्वासन हुँदा मलाई मार्न तम्सिएका गिरिजाप्रसाद मेरो विवाहको निमन्त्रणा मान्न आएका थिए।

गल्ती स्वीकार्ने क्षमता 

पञ्चायतकालमा उनको नेतृत्वमा विमान अपहरण गर्ने योजना सफल भयो। दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री हुँदा त्यो विमान अपहरणका योजनामा भारतीय गुप्तचर संस्था ‘रअ’को हात थियो भन्ने। हामीलाई ‘रअ’को संलग्नताका विषयमा केही थाहा थिएन। सुनको तस्करीदेखि लिएर अरु पनि तस्करी गर्ने प्रयास गरेको उल्लेख गरेका छन्। यो नेताले त्यसमाथि क्रान्तिबाट स्थापित भएका नेताले गर्ने काम होइन।

यसले के देखाउँछ भने नेपालको क्रान्ति नेपालकै स्रोत साधनले गर्न सम्भव थिएन। र, नेताहरु आफ्नो अभिष्ट पूरा गर्न विदेशीसँग साठगाँठ गर्न पनि पछि पर्दैनन्। यतिभन्दै गर्दा हामीले के कुरा पनि बिर्सिनु हुँदैन भने नेपालमा राजनीतिक क्रान्ति गर्ने कांग्रेस मात्रै पहिलो र अन्तिम पार्टी होइन। कांग्रेसपछि स्थापित भएका अन्य ठूला पार्टी पनि राजनीतिक क्रान्तिबाटै राजनीतिमा स्थापित भएका हुन्। उनीहरु कसैले आफ्नो क्रान्तिको स्रोत के थियो नभन्दै गर्दा क्रान्तिका बेला आफूले गरेको गल्तीलाई स्वीकारोक्ति गर्नु गिरिजाको महानता हो। क्रान्तिलाई उजागर गर्ने व्यक्तिका रुपमा हामी उनलाई चिन्न सक्छौँ।

संसदीय राजनीतिमा 

संसदीय राजनीति भनेको सिद्धान्तको राजनीति हो। तर, उनले यसमा प्रधानमन्त्रीलाई सर्वेसर्वा बनाइदिए। उनले कतिसम्म गरे भने संसदीय राजनीतिलाई ‘मनी र मसल्स’का रुपमा परिणत गराए। र संसदलाई किन्नेसम्म काम गरे।

बहुमत रहेको पार्टीका प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा देशलाई लगेर संसदीय प्रक्रियालाई नै नराम्रोसँग असफल बनाए। संसदीय राजनीति गर्ने कांग्रेसले संसदीय निर्वाचनका विषयमा अरु दललाई पनि बुझाउनुपर्नेमा आफैं व्यवस्थालाई नै असफल पार्ने काम गिरिजाकै पालमा भयो। नेपालका कम्युनिस्टहरु एकदलीय राजनीतिका लागि ४० वर्ष लडे। यो अवधिमा उनीहरु राजासँग मिलेर लडे, एक्लै लडे, झापामा त्यत्रो विद्रोह भयो, करिब १७ हजार मानिस मारिए। आखिरमा तिनै कम्युनिस्टले आज नेपालको संसदीय राजनीतिलाई नेतृत्व गरेका छन्। यो संसदीय राजनीतिको पद्धतिका विषयमा कांग्रेसले बुझाउन नसक्नुको परिणति नभए के हो?

प्रजातान्त्रिक पार्टीले सामाजिक विकास, सुरक्षालगायत विषयमा राम्रो काम गर्न नसक्दा कम्युनिस्टहरुको बोलबाला भएको होइन त? नेपालमा फेरि प्रजातान्त्रिक पार्टीको अर्को विकल्प पनि छैन। भारतमा कांग्रेस आई र भारतीय जनता पार्टी दुवै प्रजातान्त्रिक पार्टी हुन्। नेपालमा कि कांगे्रस छ कि कम्युनिस्ट, प्रजातान्त्रिक प्रक्रियामै रमाउने मान्छेलाई विकल्प नै छैन।

फोहोर भित्र्याए

नेपाली राजनीतिमा फोहोर जम्मा गर्ने श्रेय गिरिजालाई जान्छ। ठेक्कापट्टादेखि सबै काममा कमिसन उठाउन उहाँ प्रधानमन्त्री भएपछि सुरु भएको हो। विजय गच्छदार, स्वर्गीय खुमबहादर खड्कालगायतलाई चुनावमा पैसा चाहिन्छ भन्ने पैसा उठाउन लगाउने उनै गिरिजा हुन्। 

फेरि अर्को के कुरा पनि हो भने, त्यसरी उठाएको पैसा उनले आफ्नो व्यक्तिगत खर्चका रुपमा प्रयोग गरेनन्। त्यसबाट व्यक्तिगत सम्पत्ति जोडेनन्। होला उनका आसेपासेले केही लाभ लिए। तर गिरिजाले त्यो पैसा आफ्ना लागि खर्च भने गरेनन्। उनी प्रधानमन्त्री हुँदा होस् अथवमा नहुँदा उनको दैलोमा पुग्ने जरुरतमन्द मान्छे कहिल्यै खाली हात फिर्ता आउनुपरेन भन्ने मैले सुनेको हो। म आफैं त गइनँ, तर उनीसँग आर्थिक सहयोग माग्न पुग्ने मानिसलाई उनले सकेको सहयोग गर्थे। उनीसँग पैसा त्यसै त आउथेन। भ्रष्टाचार गर्ने अनि जनतालाई बाँड्ने।

नेपालको चुनावी सस्कार बिगारेको पनि गिरिजाबाबुले नै हो। प्रदीप गिरी अहिले भन्छन्, केही नदिई चुनाव लड्ने वातावरण नै बन्दैन, त्यसैले म पनि दिन बाध्य भएँ। त्यसरी सामान बाँडेर निर्वाचन लड्ने संस्कार नेपालमा विकास गर्न हुँदैन थियो।

सैद्धान्तिक हिसाबमा निर्वाचन हुनुपर्नेमा मटरसाइकल बाँडेर, साइकल बाँडेर निर्वाचन लड्ने सस्कार गलत हो। यो संस्कारका कारण अहिले पनि मानिस सामानको आस राख्छन्, जसले गर्दा केही नदिई निर्वाचन लड्न मुस्किल बनेको छ।

शान्ति प्रक्रियामा गिरिजा 

शान्ति प्रक्रिया पश्चिम नेपालको कुनै ठाउँमा गर्ने भन्ने भएको थियो। तर, भारतको चहानामा नै त्यो दिल्लीमा भएको हो। भारतको सदासयता विना शान्ति प्रक्रिया सफल हुन सक्ने थिएन।

देशमा लामो समय हिंसा भएर मान्छे मारिने क्रम जारी रहेपछि कृष्णप्रसादले मलाई बोलाएर वार्ताको पहल थाल्न भन्नुभयो। मलाई पनि लाग्यो बीपीजस्तो उच्च व्यक्तित्व भएको मान्छेले नेतृत्व गरेको क्रान्ति त सफल हुन सकेन भने यो के सफल होला। 
क्रान्ति भने पनि मारिने र आम जनता त्यसमा पनि युवाहरु नै हुन्। नेताहरु मारिनेबाला त थिएन। त्यसैले मैले यो जिम्मा लिने निधो गरें।  दिल्ली निर्वासनमा बस्दै मेरो परिचय तत्कालीन विद्रोही माओवादीका नेता बाबुराम भट्टराईसँग भएको थियो, तर प्रचण्डलाई म चिन्दिनँ थिए। उनीहरुलाई पनि शान्ति प्रक्रियामा आउन हतार भएको मैले महसुस गरें।

बाबुरामले नै मलाई प्रचण्डसँग चिनापरिचय गराएका हुन्। परिचयपछि हामीले पत्रको आदनप्रदानसम्म गरेका थियौँ। सम्झौताको पत्र मैले बाहिर ल्याएको पनि छु। हिंसा स्थगित गर्ने, बन्दी आदानप्रदान गर्ने सम्झौतामा लेखिएको छ, त्यो कार्यान्वयन पनि भयो। 

शान्ति वार्ताको प्रयास हुँदै गर्दा किशुनजीबाट एउटा गल्ती भयो। उहाँले हामीले गरेको प्रयास राजा वीरेन्द्रलाई सुनाइदिनुभयो। राजाले सेनाको नेतृत्व गर्ने भएकाले वार्ताका कुरा राजालाई पनि भन्नुपर्छ भन्ने किशुनजीको विचार थियो। किशुनजीसँग भएको कुरा राजाले गिरिजासँग गरेपछि गिरिजाले शान्ति वार्तालाई तीन दिन पनि टिक्न दिएनन्। खासमा उनी आफ्नै पहलमा शान्ति वार्ता सफल होओस् भन्ने चहान्थे। किशुनजीको पहलमा त्यो सफल भए त्यसको सम्पूर्ण श्रेय उनलाई जाने हुँदा आफू किशुनजीभन्दा तल देखिने सोच गिरिजामा आएको हुनुपर्छ। 

शान्ति प्रक्रिया

शान्ति प्रक्रिया पश्चिम नेपालको कुनै ठाउँमा गर्ने भन्ने भएको थियो। तर, भारतको चाहानामा नै त्यो दिल्लीमा भएको हो। भारतको सदाशयताबिना शान्ति प्रक्रिया सफल हुन सक्ने थिएन। शान्ति प्रक्रियामा भारतको भूमिकाको विषय त कतै लुकेकै छैन। गिरिजा आफैले पञ्चालयकालमा ‘रअ’को निर्देशनअनुरुप चलेको स्वीकार गरिसकेका छन्। यसमा पनि त्यो दोहोरिएन भन्न सकिँदैन।

शान्ति प्रक्रियामा माओवादीले आफ्ना गुरु भारतलाई नदेखाउन अनमिन ल्याउन चाहन्थ्यो। गिरिजाबाबुले त्यो कुरा स्वीकार गरे। पछि भारतले यसमा असन्तुष्टि जाहेर गरेपछि अनमिनलाई फिर्ता पठाइएको हो।

नेपालमा कुनै राष्ट्रसंघीय नियोगले शान्ति प्रक्रियामा भूमिका खेलेको अवस्थामा काश्मिरको समस्यामा पनि राष्टसंघलाई भूमिका दिनुपर्छ भन्ने डरले भारत अनमिनलाई नेपाल ल्याउन चाहँदैन थियो। नेपालको शान्ति प्रक्रियाको प्राविधिक पक्षमा अनमिनको सहयोग भए पनि सैद्धान्तिक विषयमा त भारतकै सहयोगमा पूरा भएको हो। 

गिरिजा र छिमेक सम्बन्ध 

छिमेक सम्बन्धको कुरा गर्दा गिरिजा भारतपरस्त नेता थिए। उनी भारतले भनेको धेरै कुरामा विश्वास पनि गर्थे। यता चीनसँगको उनको सम्बन्ध मेरो बुझाइमा खासै राम्रो थिएन। चिनियाँ सहयोगमा नेपालमा निर्माण भएका अधिकांश कम्पनी, संस्थानहरु उनकै पालमा बिक्री भयो। त्यो सबै भारतको इसारामा भएको हो। नेपालमा सञ्चालनमा रहेको टलीबस, बासबारी जुत्ता कम्पनी सबै बिक्रि भए। अहिले बासबारी जुत्ता भारतको लखनऊमा बन्छ र नेपाली सेनाले त्यही जुत्ता लगाउँछ। नेपालमा भएको त्यो कम्पनीलाई बेचेर त्यही जुत्ता सेनाका लागि भारतबाट खरिद गर्नुपर्ने आवश्यकता किन प-यो?

(लक्ष्मण श्रेष्ठ र पुरषोत्तम पौडेलसँगको कुराकानीमा आधारित)

प्रकाशित: ७ चैत्र २०७५ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App