८ वैशाख २०८१ शनिबार
भिडियो

‘विदेशी लगानी भित्र्याउन सुशासनमा सुधार र भ्रष्टाचार समाप्त पार्नुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको बताएका छन्। मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक भए पनि सरकारले प्रशस्त तयारी र छलफल नगरेको उनको गुनासो छ।

बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए। उनले भने, ‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो। बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ।’

उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे। विदेशी लगानी नबढाई मुलुक विकास हुन नसक्ने उनको बुझाई छ।

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकताहरु पुरा गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाइएको भनिएको छ।’

महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए। उनले भने, ‘उद्योगधन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ।’ लगानीको लागि ऐन, कानुनहरु बनाएरमात्रै नहुने उनको धारणा छ। महतले थपे, ‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ।’

महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए। 

लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा उनको जोड छ। एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे पनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए। 

महतले पाइला–पाइलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए। उनले भने, ‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिले पनि सरकारले दिने सुविधा लिनै मुश्किल छ। कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ।’

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे। 

उनले प्रतिबद्धता गरिएको लगानी किन आएन भन्ने विषयमा छलफल तथा छानबिन हुनुपर्नेमा पनि जोड दिए। 

उनले विदेशी लगानी नेपालको लागि धेरै हिसावले आवश्यक रहेको टिप्पणी गरे। उनले भने,‘भारत र चीन ठूलो बजार छन्, साफ्टाअन्तर्गत फ्रि–ट्रेड एग्रिमेन्ट गरिएको छ, त्यसैले लगानी सम्मेलन गर्ने सरकारको चाहना ठीक छ। यो सकारात्मक हो। तर, यसको लागि मुलुकको सुशासन सुधार गर्नुपर्छ। भ्रष्टाचारलाई समाप्त पार्नुपर्छ।’

त्यस्तै, उनले स्वदेशी लगानीकर्तालाई पनि चित्त बुझाउनुपर्ने र भएका लगानीकर्ताहरुको जायज गुनासाहरु सरकारले सुन्नुपर्ने सुझाव दिए। 

प्रकाशित: ७ चैत्र २०७५ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App