coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तमोर नदीमा चरम दोहन

कुम्मायक गाउँपालिकाको सिम्राघाट नजिकै तमोर नदीनजिकै राखिएको क्रसर।    तस्बिरः गिरिराज/नागरिक

पाँचथर– वातावरणलाई नै प्रभाव पार्ने गरी तमोर नदीमा प्राकृतिक स्रोतमा चरम दोहन भइरहेको छ। खोलाबाट जथाभावी बालुवा तथा ढुंगा उत्खन्न भइरहेको छ। पाँचथर र तेह्रथुमको सीमाना दुवैतर्फ चरम रुपमा दोहन भइरहेको छ।

कतै निर्माण कम्पनीले अनाधिकृत रुपमा क्रसर राखेका छन् भने कतै वातावरण प्रभाव मूल्यांकनले निर्धारण  गरेको सीमा मिच्दै उत्खननका काम भइरहेका हुन्। एक्स्काभेटर लगाएर जथाभावी उत्खनन हुने गरेको छ। खोलाको बहव नै फर्काउने गरी तथा खोलाको सतहभन्दा गहिरो हुने गरी बालुवा, ढुंगा उत्खनन गरेर निरन्तर दोहन भइरहेको छ। यहाँको माझीटार र सिम्राघाटमा दर्ता नै नगरी निर्माण कम्पनीले क्रसर राखेका छन्। 

पाँचथरको हिलिहाङ गाउँपालिका, फिदिम नगरपालिका, कुम्मायक गाउँपालिका र तुम्मेवा गाउँपालिकामा पर्ने विभिन्न ठाउँमा जथाभावी उत्खनन भइरहेको  पाइएको छ। तेह्रथुमको आठराई गाउँपालिका, छथर गाउँपालिका र म्याङलुङ् नगरपालिकामा पर्ने विभिन्न ठाउँमा तमोरको दोहन भइरहेको छ। तमोर नदीमा एक्स्काभेटर लगाएर उत्खनन गर्न पाइँदैन। फिदिम नगरपालिकाबाहेकका क्षेत्रमा खोलाजन्य समाग्री उत्खन्नका लागि ठेक्का लगाइएको छैन। मानिसले नै निकाल्न मात्र मिल्ने भए पनि जथाभावी उत्खनन भएको हो।

तमोरको दोहन भइरहेको भन्ने सुन्नामा आएपछि कुम्मायकको सिम्राघाटमा जिल्ला समन्वय समितिको अगुवाइमा अनुगमन भएको छ। अनुगमनका क्रममा एक्स्काभेटरले बालुवा निकालेको तथा क्रसर निर्माण गरिएको पाइएको छ। यो ठाउँको वातावरण प्रभाव मूल्यांकन नै भएको छैन्। निर्माण कम्पनीले मेसिले उत्खनन गरका छन्। यहाँ नयाँ क्रसर राखिएको छ। 

अनुगमनपछि अनाधिकृत काम भएका ठाउँमा काम रोक्न लगाइएको निमित्त जिल्ला समन्वय अधिकारी प्रेम काफ्लेले बताए। ‘एक्स्काभेटर लगाएर बालुवा, गिटी, ढुंगा निकाल्न पाइँदैन। कति गहिरो निकाल्ने भन्ने पनि छ। तर, नियम पालना गरेको देखिँदैन’, काफ्लेले भने।

एक्स्काभेटर नदीमै भेटिने गरेको छ। आसपासमा निर्माणको काम गरिरहेका निर्माण कम्पनीलेहरूले दोहन गरिरहेको पाइन्छ। तमोरमा ३५ सेन्टिमिटरमात्र उत्खनन गर्न पाइने भए पनि ठूला–ठूला खाल्डा मात्र बनाइएको छैन खोलाकै धार बद्लिने अवस्थामा पुगेको छ। 

माझीटारमा एक महिनाअघि जिल्ला समन्वय समिति पाँचथरले अनुगमन  गरेर जथाभावी गिटी, बालुवा उत्खनन गरेको प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनमा वातावरणय प्ररीक्षण प्रतिवेदन उलेख्ख भए विपरीत मेसिन औजारको प्रयोग गरिएको,  ०.३५ मिटर मात्र गहिराइमा उत्खनन गर्न मिल्ने भए पनि त्यसको दश गुणाभन्दा बढि गहिरो हुने गरी उत्खनन गरिएको, खोलाको बहाव नै परिवर्तन हुने गरी नहरको रुपमा परिणत गरेको, नदीको सतहभन्दा गहिरो बनाएर उत्खनन भएको प्रतिवेदन तयार गरेको छ। प्राविधिकसहितको उपसमितिले जथाभावी उत्खनन भएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा नदिको धार बद्लिन सक्ने, बालुवाखानी पश्चिम (तेह्रथुम जिल्ला) तर्फ सर्न सक्ने र पूर्वमा कटान हुने खतरा औंल्याएको छ।

प्रतिवेदन आएपछि एक्स्काभेटर लगाउन रोक लगाइएको थियो। फेरि कोसी करिडोरको ठेकेदार कम्पनीले एक्स्काभेटर लगाएको थियो। जिससमा बैठक बसी निर्माण कम्पनीलाई माथिल्लो निकायले अनुमति दिएमात्र एक्स्काभेटर लगाउन निर्देशन दिएको छ। तर, वातावरण प्रभाव मूल्यांकनमा तमोर नदीमा एक्स्काभेटर लगाउन नमिल्ने उल्लेख छ।

दैनिक रुपमा ठूलो परिमाणमा यहाँबाट ढुंगा, गिटी उत्खनन भएको प्रत्यक्षदर्शीको भनाई छ। मध्यपहाडी लोकमार्ग, कोसी करिडोरलगायतका ठूला निर्माण काम सो क्षेत्रमा भइरहेको छ। यस्तै फिदिम फालोट, मायालुमोड–नवमीडाँडा सडकलगायतका पूर्वाधारको निर्माण भइरहेको छ। आफू अनुकूल जताततै उत्खनन भइरहेको पाइएको छ। फिदिम नगरपालिकाबाहेकमा ठेक्का लागेको छैन। हिलिहाङ गाउँपालिमा ठेक्का लगाउन पटक पटक सूचना निकाल्दा पनि लागेको थिएन।  

 

प्रकाशित: ७ चैत्र २०७५ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App