coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ग्यालरीमा जिउँदा उत्तम कला

काठमाडौं – कलाकार उत्तम खरेल हाल जीवित छैनन्। तर उनले सिर्जना गरेका कला आम दर्शकका लागि जिउँदो छ। कलामा फरक प्रयोग गर्न रुचाउने उत्तमका कलाहरू दर्शक र कलाकर्मीका लागि ‘यूनिक’ लाग्छन्। वर्षदिन अघि दिवङ्गत भएका उत्तमको सम्झनामा उनले सिर्जना गरेका कलाहरूको प्रदर्शनी आइतबारबाट राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा सुरु भएको छ। उनले जीवनका अन्तिम क्षणसम्म सिर्जना गरेका कलाहरूमा दर्शकले विविधता पाउँछन्।

सिर्जना कलेज अफ फाइन आर्टस् र सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरीले संयुक्त रूपमा आयोजना गरेको ‘सम्झनामा उत्तम खरेल’ शीर्षकको प्रदर्शनीको शुभारम्भ गर्दै कलाकारद्वय उत्तम नेपाली र शशीविक्रम शाहले खरेलको सिर्जनाको चर्चा गरे। ‘मलाई उत्तमका पुराना सिर्जनाहरू राम्रा लाग्छन्। खास गरी उनले कोरेको गणेश भगवानको पेन्टिङ अझ राम्रो लाग्छ’, शशीले उत्तम सम्झिए, ‘उनी हरेक किसिमका चित्र बनाउँथे। समयको परिवर्तनसँगै आफुलाई पनि त्यही समयमा परिवर्तन गर्दैथिए। उनले आधुनिक कलामा गणेशलाई बिम्बको रूपमा प्रयोग गरेर अझ सुन्दर कला बनाएका थिए।’

उत्तमका सुरुवाती चित्रमा एउटा मुभमेन्ट थियो । जो आफैमा उनको नाम झैं उत्तम थियो । उनका पछिल्ला कला मेसिनले बनाएका झैं दह«ो देखिन्थे ।

कलेजका प्रिन्सिपल मदन चित्रकारले उत्तमका कृतिलाई उत्तमलाई सम्झिने माध्यमका रूपमा ग्यालरीमा प्रदर्शनीका लागि राखिएको बताए। ‘उहाँ कला सिर्जना र कला साधनालाई गम्भीरतापूर्वक लिने कलाकार हुनुहुन्थ्यो। उहाँ आफ्नो समयको इमान्दार कलाकार पनि हो’, चित्रकारले भने, ‘समयको परिवर्तनसँगै आफूलाई अपडेट राख्नुपर्छ भन्ने सन्देश उहाँले कलामार्फत युवापुस्तालाई दिनुभएको छ। उहाँ कलाकारसँगै कला शिक्षक र युवापुस्ताका लागि प्रेरणाका पात्र पनि हुनुहुन्थ्यो।’

ग्यालरीमा उत्तमले सिर्जना गरेका ८० कला प्रदर्शनका लागि राखिएका छन्। उनका कलामा भगवान गणेश, जनावरको क्रियाकलाप, सहरी मानवजीवनसँगै चलायमान सिर्जना देखिन्छन्। उनले जीवनको अन्तिम क्षणमा पोतेका कलाका सिर्जना दर्शकका लागि पनि उत्तिकै चाखलाग्दो छ। उनले आफ्नो कला यात्रामा कुचीबाहेकका माध्यमबाट कोरेका चित्रहरू पनि प्रदर्शनीमा राखिएका छन्।

ग्यालरीमा उत्तमका कला नियालिरहेका कलाकार तथा कला समिक्षक रमेश खनाल उत्तमका कलामा विविध स्वाद दर्शकले पाउने दाबी गर्छन्। ‘उत्तमका सुरुवाती चित्रमा एउटा मुभमेन्ट थियो। जो आफैमा उनको नाम झैं उत्तम थियो। उनका पछिल्ला कला मेसिनले बनाएका झैं दह«ो देखिन्थे’, खनालले भने, ‘उनको स्वास्थ्य अवस्थाको कारणले पनि कलामा नयाँ बिम्ब आएको हो कि भन्ने लागेको छ। उनी महंगो रंग खेलाएर सुन्दरता निकाल्न रुचाउँथे। मानव जीवन, जनावरलाई पनि सुन्दर ढंगले कलामा उतार्थे।’

खनाल कलासँग सरोकार राख्ने संस्थाहरूले उत्तमको कलाको संरक्षण गर्नुपर्नेमा जोड दिन्छन्। ‘उनले सिर्जना गरेका कलाको संरक्षणका लागि संग्रहालय स्थापनाको पहल गरिदिए राम्रो हुने थियो। उनको बारेमा एक कलाको ग्रन्थ प्रकाशन गर्न सके नयाँपुस्तालाई प्रेरणा पनि बन्थ्यो’, खनालले भने। प्रदर्शनी शुभारम्भ कार्यक्रममा कलाकार उत्तमकी पत्नी अर्चना खरेलले आर्टस्का प्रिन्सिपल चित्रकारसँग ‘उत्तम खरेल स्मृति कोष’को स्थापनार्थ अक्षयकोषका लागि चार लाख ५० हजार रुपैंयाँ प्रदान गर्ने सम्झौता गरेकी थिइन्। आर्टस्का अध्यक्ष वत्सगोपाल वैद्यले प्रदर्शनीमा राखिएका कलाकृतिहरूको बिक्रीबाट आउने रकम तथा अन्य व्यक्तिगत सहयोगबाट प्राप्त हुने रकम कोषमा राखिने जनाए। ‘कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष मूर्तिकलाका विद्यार्थीलाई छात्रृवत्ति प्रदान गरिनेछ’, वैद्यले भने। प्रदर्शनी आगामी बिहीबारसम्म चल्नेछ।

प्रकाशित: ७ चैत्र २०७५ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App