coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढीबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक

रसुवा – रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक लगाइएको छ। बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) बिना ल्याइएका सामग्री आयातमा रोक लगाइएको हो। चार वर्षदेखि प्रमाणपत्र बिना कृषि तथा वनजन्य सामग्री आयात हुँदै आएको छ। यो महिनादेखि यी वस्तु आयातमा रोक लगाइएको प्लान्ट क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ। 

बिरुवा तथा बिरुवाजन्य उत्पादनको आयात तथा निर्यातमा बिरुवा स्वस्थताको प्रमाणपत्र अनिवार्य हुने वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदिप घिमिरेले बताए। २०७१ देखि नियमित रूपमा सामग्री आयात तथा निर्यात हुँदै आएको छ। यसअघि बिउ आयातमा रोक लगाइएको कार्यालयले जनाएको छ। 

बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र ओसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र पैmलावट रोक्न, तिनीहरुको प्रभावकारी नियन्त्रण गर्नुका साथै उपयुक्त तरिका अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजको व्यापार प्रवद्र्धनका लागि प्रमाणपत्र अनिवार्य गरिएको छ।

बिरुवा संरक्षण ऐन २०६४, बिरुवा संरक्षण नियमावली २०६६ र प्लान्ट क्वारेन्टाइन प्रक्रियागत कार्यविधि २०६७ ले कुनै पनि देशबाट बिरुवाजन्य उत्पादन आयात इजाजतका लागि प्रमाण पत्र अनिवार्य भएको प्रस्ट पारेको छ। तर रसुवागढी नाका सञ्चालनमा आएदेखि हालसम्म आयातकर्ताले प्रमाणपत्र बिनै सामग्री आयात गरिरहेका छन्। ‘नेपालबाट निर्यात गर्दा प्रमाणपत्र दिने गरिएको छ,’ उनले भने, ‘अब उताबाट ल्याउँदा पनि अनिवार्य गरेका छौं।’

चीनबाट स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राइ मसरुम, प्याज, बोडी, धानको बिउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर आयात हुने गरेको छ।  पछिल्लो समय यो नाकाबाट विभिन्न सामग्री आयात तथा निर्यात बढेको कार्यालय प्रमुख घिमिरेले बताए। रसुवागढी नाकाबाट बाँसको मुडा, बाँसको बकेट, अम्रिसोको कुचो, काठको टेबल, ह्यान्डिक्राफ्ट, बुद्धचित्तलगायत सामग्री चीन निर्यात हुने गरेको छ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको प्लान्ट क्वारेन्टाइनको स्थापना २०६३ मा भएको थियो। भूकम्पपछि रसुवागढी नाका हुँदै चीनबाट आउने बिरुवाजन्य कृषि उत्पादन नियमन गर्नुपर्ने र चीन निकासीका लागि यो नाकाको भूमिका बढेपछि २०७५ साउनदेखि यसलाई क्वारेन्टाइन कार्यालयको स्वरूप दिइएको हो। 

नेपालमा अहिले १५ वटा प्लान्ट क्वारेन्टिन कार्यालय रहेका छन्। नेपाल भारत सीमा क्षेत्रमा ११ वटा, नेपाल चीन सीमा क्षेत्रमा तीन वटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालनमा छन्।

प्रकाशित: ७ चैत्र २०७५ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App