coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

धनी दाइले आफ्नो भाइलाई जेल जानबाट बचाए

मुकेश अम्बानी (बायाँ), उनकी पत्नी निता अम्बानी र भाइ अनिल अम्बानी । फाइल तस्बिर : एजेन्सी

नयाँ दिल्ली – भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो भाइलाई जेल जानबाट बचाएका छन्। आफ्नो भाइले लिएको ऋण तिरिदिएर अम्बानीले उनलाई जेल जानबाट बचाएको बिबिसीले उल्लेख गरेको छ। अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन (आरकम) र इरिक्सनबीचको सम्झौता खारेज भएपछि उनलाई जेल सजाय तोकिएको थियो।

सम्झौता खारेज भएपछि अनिल अम्बानीले इरिक्सनलाई ५५ अर्ब भारतीय रुपैयाँ तिनुपर्ने थियो। अदालतले सो रकम तिर्न दिएको समयसीमा भित्र पनि उनले पैसा तिर्न नसकेपछि उनलाई जेल सजाय तोकिएको थियो। भारतीय सर्वोच्च अदालतले इरिक्सनलाई पैसा तिर्नका लागि गत वर्षको डिसेम्बर १५ सम्मको समय दिएको थियो। तर आरकमले त्यो पैसा तिर्न नसकेपछि त्यसको मालिक अनिल अम्बानीलाई जेल सजाय तोकिएको थियो। अदालतले अनिल अम्बानीले अदालतको मानहानी गरेर नटेरको भन्दै अर्को चार साताभित्र पैसा तिर्न वा जेल जान विकल्प दिएको थियो।
अम्बानी दाजुभाइबीच लामो समयदेखि रहेको कटु सम्बन्धले यो अवस्थामा आइपुग्दा भने नयाँ मोड लियो। मुकेश अम्बानीले भाइ अनिलले तिर्नुपर्ने पैसा तिरिदिए। सोमबार आरकमले ऋण तिरिएको पुष्टि गरेको छ।

‘मेरो कष्टको समयमा मँसगै उभिएकोमा र पारिवारिक एकताको महत्व प्रदर्शन गरेकोमा मेरा दाई मुकेश र भाउजु नीताप्रति मेरो हार्दिक धन्यवाद छ,’ अनिल अम्बानीले बताएका छन्। दुई दाजुभाईबीच बाबुको सम्पत्तिलाई लिएर लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको थियो। कुनै वारेसनामाबिनै उनीहरुको पिताको सन् २००२ मा मृत्यु भएको थियो।

तिक्ततापूर्ण सात महिने लामो संघर्षपछि रिलायन्स साम्राज्य सन् २००५ मा दुई दाजुभाइबीच बाँडिएको थियो। प्राकृतिक ग्यासको स्वार्थलाई लिएर पनि दुई दाजुभाइबीच अदालती चक्कर भएको थियो। ब्लुमबर्गका अनुसार मुकेश अम्बानीको कुल ५४ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति रहेको छ। तेलदेखि दूरसञ्चारसम्म साम्राज्य फैलिएको उनको रिलायन्स कम्पनी भारतको सबैभन्दा महँगो कम्पनीमध्येको हो। दाजु मुकेशको तुलनामा भाइ अनिलको भने मात्र ३० करोड अमेरिकी डलरबराबरको सम्पत्ति रहेको ब्लुमबर्गलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अमेरिकी गायक बेओन्सले प्रस्तुति दिएको मुकेश अम्बानीको छोरी इसाको सान्दार विवाहबारे गत वर्ष विभिन्न सञ्चारमाध्यमको प्रमुख समाचार बनेको थियो।

प्रकाशित: ७ चैत्र २०७५ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App