coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुने भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको पहलमा निकुञ्जसँगको सहकार्यमा चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। निकुञ्जमा पर्यटक बढाउनका लागि पर्यटन महोत्सव आयोजना हुन लागेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए। 

शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण रहेको चर्चा गर्दै उनले जैविक विविधताले भरिपूर्ण निकुञ्ज खुला विश्वविद्यालयजस्तो भएको बताए। नगरप्रमुख विष्टले निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा पर्यटनमार्ग निर्माण, झोलुंगे पुल नजिक उद्यान र पार्क निर्माण, राना थारू होम प्रवर्द्धनका लागि सहयोग गरिएको जानकारी दिए। 

भीमदत्त नगरपालिकामा झोलुंगे पुल आउने पर्यटकलाई बाल उद्यान र वनभोजस्थल भएर हात्तीसार हुँदै राना थारू घरबास (होमस्टे) पुर्याउने लक्ष्यसहित पुल नजिक बाल उद्यान र पार्क बनाउन बजेट विनियोजन गरिएको छ। भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरेको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएका भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकासहित सरोकारवालाले संयुक्तरूपमा महोत्सव आयोजना गर्न लागेका हुन्।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगेको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ। निकुञ्जमा जम्मा दुई हजार ३४० बाह्रसिंगे छन। भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्नका लागि मूल तयारी समिति गठन गरिएको छ।    (रासस)

प्रकाशित: ७ चैत्र २०७५ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App