coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परम्परा हरायो, फेसन मौलायो

भक्तपुर - होली भन्ने बित्तिकै सबैको मनमा सप्तरंगी कल्पना दौडन्छ। काठमाडौं उपत्यकाको होलीमा पानी, लोला, पिचकारी पनि मिसिन्छ। ती बाहेक अचेल नयाँ चलन पनि प्रचलनमा छ त्यो हो, होली फेसनको।

होलीमा विभिन्न प्रिन्ट भएको सेतो टिसर्ट लगाउने प्रचलन बढ्दो छ। काठमाडौं बस्दै आएका कपडा व्यापारी केदार उप्रेतीले होलीका लागि छ सय वटा टिर्सट प्रिन्ट गरेको बताए। विभिन्न ठाउँको फुटपाटमा पसल थाप्ने उप्रेतीले भने, ‘हिजो अस्ती दिनको एक सय २० जति बिके। होलीसम्ममा सकिन्छ होला।’

भक्तपुरकी अम्रिता अर्यालले गत वर्ष होली प्रिन्ट भएको लुगा लगाएर होली मनाएको सुनाइन्। भन्छिन्, ‘होली लेखेको लुगा नलगाउँदा त होली जस्तो नै लाग्दैन।’ होलीको टिर्सटले अनलाइनमा पनि राम्रो व्यापार गरिरहेको छ। अनलाइनमा आप्mनो इच्छा अनुसारको प्रिन्ट गरेको टिसर्ट पाइन्छ। होलीको लुगा किन्नेमा युवा पुस्ता अग्रपंक्तिमा छन्। कपडा बिक्रेता रश्मिला प्रजापतिका अनुसार युवा र बच्चाहरुका लागि होलीको टिर्सट भएको बताइन्। होली टिर्सटको मूल्य एक सय ५० देखि छ सम्म पर्छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरमा होली भने विशेष ढङ्गले मनाउने चलन छ। यहाँ भीमसेनको लिंगलाई प्रदर्शन र परिक्रमा गरी होली मनाउने गरिन्छ। उनका अनुसार, ‘पूर्णिमाको दिन युवाहरू आफूले मनपराएको केटीको आँगनमा गई यही होली भाकाको गीत गाउने र प्रेम प्रस्ताव राख्ने पुरानो प्रचलन हो। त्यस्तो प्रस्ताव स्वीकार्य भए केटीले अबिर दल्न दिने र यदी प्रस्ताव अस्वीकार्य भएमा टाढाबाटै अबिर छर्केर युवाहरू फर्कनुपर्ने परम्परा थियो।’ अचेल धेरैलाई होलीको ऐतिहासिक महत्व थाहा नभएको उनी बताउँछन्।

प्रकाशित: ७ चैत्र २०७५ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App